banner
banner

३३ किलो सुनले सुनामी ल्यायो

३३ किलो सुन प्रकरणमा दिनदिनै नयाँ मोड, नयाँ पहरो गर्जदैछ । ६३ जनामा ३४ जना फरार छन् र पक्राउ परेकामाथि मुद्दा दायर भएका छन् । पक्राउ पर्नेहरुले दिएको बयानका आधारमा जो पक्राउ परे, जो फरार छन् र जसजसको नाम पोलिएको छ, त्यसमा सिपाहीदेखि पूर्वआइजीपीसम्म परको छन्  योभन्दा पनि रमाइलो किस्सा त के छ भने पक्राउ पर्नेका नामनामेसी समावेशीको अचम्मको नमूना देखिन्छ ।
टनका टन सुन तस्करीमा सिपाहीदेखि डिएसपी, एसपी, एसएसपी, डीआइजीसम्मका छन् भने जातजातिको हिसावमा बाहुन, शेर्पा, चौधरी, श्रेष्ठ, शाक्यलगायतका अनेक जातिको संलग्नता देखिएको छ । यसकारण पनि यो सुन काण्डमा समावेशीताको संलग्नता रहेको छ । यो राजनीतिकर्मीहरुको लागि पनि रमाइलो सूची बन्न पुगेको छ ।
यो सुन प्रकरणमा सानु वन, सनम शाक्य, प्रेमलाल चौधरीको हत्या भइसकेको छ भने चुडामणि उप्रेती गोरे भन्ने मूल तस्करलगायतका ३४ जना फरार रहेका छन् ।
मूल कुरो यति ठूलो प्रकरण र वर्षौंदेखि निरन्तर सुन तस्करी भइरहेकोमा संलग्नहरुको नामनामेसी त धमाधम प्रकाशमा आउन थालेका छन् तर यति ठूलो काण्डमा प्रशासनका को को र राजनीतिक नेताहरु को को संलगन छन् भन्ने कुरा अझै पर्दाफास भइसकेको छैन ।
माघ ९ गतेको यो घटना भागबण्डा नमिलेर प्रकाशमा आएको हो । पक्राउ परेका व्यक्तिहरुले दिएको वयानका आधारमा कसकसले कति कति पैसा पाउने रहेछन् सुन तस्करीमा भन्ने रजिष्टरसमेत अनुसन्धानका क्रममा फेला परिसकेको छ । अव यो घटनाले यू टर्न लिएन भने एयरपोर्टमा खटिने अध्यागमन, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, एयरलाइन्सदेखि एयरपोर्ट भित्रै पसल खोलेर बस्नेहरुसम्म पनि फस्ने स्थिति बनेको छ ।
अनुसन्धानमा संलग्न एक पदाधिकारीका अनुसार यो काण्डको निष्पक्ष छानबिन हुने हो भने सयौं व्यक्ति जेल जानेछन् र नेपालको इतिहासमै यो सबैभन्दा ठूलो माफियाकाण्ड हुनेछ ।
सम्भवत त्यसैले गृहमन्त्रीले जनताको साथ खोजेका छन्, उनले यातायातदेखि तस्करीको सिण्डिकेटसम्म तोड्ने हिम्मत देखाएका छन् ।
तर स्रोत भन्छ, यो सुडान घोटालाभन्दा पनि ठूलो राष्ट्रघाती काण्ड हो, यो काण्डमा धेरै नेताहरुसमेत फस्ने भएकाले यसमा षडयन्त्र हुनेछ र यो सुनामी सामसुम पारिने खतरा छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper