banner
banner

मुसहरका अभिभावक धुर्मुस सुन्तली

अधिवक्ता शिवप्रसाद सिग्देल -
प्रधानमन्त्रीले २, मुख्यमन्त्रीले २ बालबालिकाहरुको अभिभावकत्व स्वीकार गरेपछि बिस्तारै अन्य राजनीतिक नेताहरुले पनि सिमान्तकृत, गरीवहरुका बालबालिकाहरुलाई संरक्षक बन्ने सिलसिला सुरु भएको छ ।
यही क्रममा धुर्मुस सुन्तलीले अचम्मको निर्णय गरिदिए । यो जोडीले मधेशका १२५ मुसहर बालबालिकाको अभिभावकत्व लिएका छन् । यति महत्वपूर्ण काम त मधेसका मसिहा ठान्ने र मधेशको हक र हितमा संविधान संशोधन गरेर अघि बढ्नुपर्छ भनने मधेशी दल वा मधेशका नेताहरुले पनि गर्न सकेका छैनन् ।
यो त्यही जोडी हो, जसले पहाडदेखि मधेशका मुसहर बस्तीसम्मका सामुदायिक घरहरु निर्माण गरेर सरकारभन्दा बढी जनख्याति कमाएका छन् । यो त्यही जोडी हो, जसले रङ्गमञ्चमा हास्यकलाकारका रुपमा हँसाउने गरेका थिए, भूकम्पपीडितहरुका आँखामा खुशीको आँसु ल्याउने माानवीय काम गर्न सफल भए । शायद यही सब देखेर होला, एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले खुला रुपमा भनेका छन्– राष्ट्रिय पुनर्निर्माणको जिम्मा धुर्मुस सुन्दलीलाई दिनुपर्छ । यति भन्दा पन सरकारले कानमा तेल हालेन । ६ खर्ब बजेट भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ वर्षमा ६ थान घर बनाउन सकेन, एनजीओ आइएनजीओलाई पोस्नु पोस्यो र प्राधिकरण राजनीतिक भ्रष्टाचारको थलो बन्यो । कहिले एमाले त कहिले कांग्रेसका सम्धि, ज्वाइँ, बुद्धिजीवी नामधारी नागलाई पोसाउने काम भइरह्यो । धुर्मुस सुन्तली ती व्यक्ति हुन्, जसले देश विदेशबाट चन्दा उठाएर लडेका गरीवका छाप्रामा छानो हाल्ने अभियान चलाए ।
अहिले प्रधानमन्त्रीलाई समेत चुनौति दिने गरी महोत्तरी गौशाला ७, मनहर्वा गाउँका १ सय २५ जना े उमेर पुगेका बाल बालिकाको जिम्मा धुुर्मुस–सुन्तली फाउन्डेसनले लिएको छ । ती बालबालिका नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना गरिएका छन् ।
अव रोग र गरिबीको कारण विद्यालय जानबाट वञ्चित रहेका सो बस्तीका बालबालिकाहरु विद्यालय जान थालेका छन् । बस्तीकी वयोवृद्ध दु:खी सदाले मुसा मार्ने बच्चा विद्यालय गएको देख्न पाउँदा खुसी लागेको बताइन् । यसरी खुशी बाँडेका छन् यी कलाकारले ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper