banner
banner

समाज आफ्नोपनबाट परदेशीपनतिर

शेखर ढुंगेल -
समाज शास्त्री भन्छन्– सबै सफल मानिस असल हुदैनन्, सबै असल मानिस सफल हुदैनन् । यो तथ्यता भित्र व्यक्तिको नैतिकता, शिक्षा अनि व्यवहारले भूमिका खेलेको हुन्छ । दु:खको कुरो के भने यो मापन मानिसको अन्तिम अवस्थामा मात्र हुन्छ । जुन बेला ढिला भइसकेको हुन्छ किनकी बाँचुन्जेल त उसले समाजमा खेल खेली नै राखेको हुन्छ । हामी देख्दछौ एकातिर प्रत्येक दिन कियौ भौतिक सुविधा र जीवनलाई सरल र सहज बनाउने यन्त्रहरूको विकास भै राखेको छ । अर्कोतिर बिकराल रूपमा अभाव र मानसिक चिन्ता पनि बढाई राखेको छ । जीवनको अंतहीन दौडमा आफू अनुकूल उपलब्धि प्राप्त गर्न मानिस मेसिन झैं कुदिरहेको छ ।
‘शारीरिक सुख, सुविधा र मानसिक खुसी’ दुई यस्ता बस्तु हुन जो विरलै सँगै हिडने गर्छन् । सुखको आधार सम्पत्ति हो भने खुसिको आधार शान्ति र आनन्द हो । सम्पत्तिलाई निश्चित र सिमित दायरामा राखी खुसी हुनेहरू संसारमा भेट्न गाह्रो छ । आजको हाम्रो समाजले बिध्यमान पर्तिस्पर्धात्मक जीवनलाई सफल पार्ने आधार शिक्षालाई मानेको छ । जुन स्वभाबिक हो । अनि नानीहरूलाई बढी प्रचारमुखी र वैदेशिकमुखी प्रतिस्पर्धामा रहेका स्कूल कलेजमा भर्ना गरी दिएर उनीहरूको भविष्य सुखी होस भन्ने कामना अनि आशा गर्दछन् । तर बहुत कम मानिसले सोचेको तर कसैले न सुनी दिएको विषय के भने ‘अंग्रेजीमा पोख्त र उच्च प्रमाणपत्र नै मानिसको बौद्धिक खुराकको प्रमाण होइन ।’
मैले आज उठाउन लागेको प्रसङ्ग गुम्दै गएको आफ्नोपनको कुरो हो । शिक्षालाई ब्यबसायिकरण र आत्मनिर्भरको लागि मात्र प्रयोग गर्दा समाज र राष्ट्रप्रतिको दायित्व महसुस गर्ने नागरिकको अभाव हुन गई भविष्यमा राज्य संचालनमा समेत योग्य व्यक्तित्वको खडेरी पर्ने अवस्था आउनेछ ।
हुन त नेपालीहरूको मुग्लान पस्ने र पारिवारिक पीडा भोग्ने मार्मिक कथाको सिलसिलालाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो अमर कृति मुना मदन  मार्फत प्रस्तुत गरी सकेका छन । त्यों श्रंखलाले झन भयाबह रूप लिएको अवस्था छ अहिले । दुई दशक अगाडीसम्म उच्च शिक्षा हासिल गर्ने अनि सरकारी नोकरी गरेर देश सेवा गर्ने वा आफ्नो आवश्यकतालाई परिपूर्ति गर्नेहरूको बहुमतीय पर्तिस्पर्धा हुन्थ्यो । आज पनि अन्य देशमा सरकारी नोकरी गर्नुलाई गर्व कै रूपमा हेरिन्छ । विदेशमा सरकारी नोकरी पाउँदा प्रतिष्ठित भएको महसुस गर्नेहरू धेरै छन् । तर नेपालमा युवा पिढीले सरकारी नोकरीलाई तुच्छ ठान्ने पबृ्रति बढेको छ । सेना प्रहरी जस्ता नोकरी प्राथमिकतामा पर्न छोडेका छन् । आज शतप्रतिशत युवाहरूको लक्ष उच्च अंकमा उत्तीर्ण हुने र विदेश जाने मात्र देखिन्छ । गरिब, धनी, साधारण देखि वरिष्ठ नागरिकहरू आफ्ना सन्तानलाई शिक्षा होस की रोजगारीमा विदेश धकेल्न नै संघर्षरत् छन् । जहाँ सुखको भ्रमपूर्ण कथाहरू रचिएका छन् त्यही पारिवारिक बिच्छेद , पीडा, अनि नेपालीपनमा ह्रास र चिन्ताका भबसागर सिर्जना भै राखेका छन् ।
समाजमा आज संयुक्त परिवार, स्नेहयुक्त पारिवारिक वातावरण, साथीसंगति बिचको हातेमालो टाढा भएको छ । अझ कतिपय अभिभाबकको बाध्यात्मक परिस्थितिले छोराछोरीलाई सानो उमेर देखि नै बोर्डस गर्नु पर्दा प्रिय अबिभाबक र सन्तानबिच हुनुपर्ने पारस्परिक बात्सल्यपूर्ण वातावरणको अभाव बढेको छ । जसको कारण सन्तानहरू अबिभाबकको हातबाट अनि अपनत्वबाट टाढा हुँदैछन । आमा बाबुको सामिप्यता र माया अनि गुरुको नैतिक मूल्यको शिक्षाले मात्र एउटा असल विद्यार्थी वा नागरिक उत्पादन हुनसक्छ । शिक्षाको अर्थ ब्याबसयिक क्षमता निर्धारण गर्ने, डाक्टर, प्राध्यापक वा इन्जिनियरको प्रमाणपत्र थाप्नु मात्र होइन, एउटा जिम्मेवार असल नागरिक बन्नु पनि हो । जुन सत्कार्यमा हाम्रो समाज पछाडी पर्दै गएको छ ।
आज को शिक्षाले मनको भावना र पबित्रताको कुनै स्थान दिएको छैन, मानवीय मूल्य र मान्यताको वातावरण बनाएको छैन, आयातित शिक्षा र संस्कृतिको प्रभाव बढेको हुँदा आफ्नोपनबाट बिस्तारै परदेशीपनमा झाँगी राखेका छौं ।  औपचारिकताको सीमिततामा हामी पुग्दै छौ । नेपाली परिवेश एउटा छ, शिक्षा अर्काको, भाषा अर्काको, रहनसहन अर्काको थोपरी दिए पछि हाम्रो समाजको संरचना र सबै प्रकारको आफ्नोपनबाट युवापीढी टाढा टाढा हुँदै गएको छ ।
उच्च शिक्षा, अनि रोजगारीको अवसर को बहानामा बिदेशिने यो क्रमले अब त देशको रक्षाको लागि कोही पनि चिन्तित र जिम्मेवार नै छैन की क्या हो भन्नु पर्ने अवस्था आई लाग्दैछ । ‘एक सम्पन्न नागरिक को साथ साथै एक असल समाज सेवी नागरिकको देशलाई खाँचो छ ।’ देशले के दियो भन्ने होइन मैले के दिए भनी सोच्ने नागरिकको खाँचो छ । हामीले दिने शिक्षा ले जिम्मेवारी र उत्तरदायित्व प्रति सचेत नागरिक उत्पादन गर्नु पर्ने हो, यसतिर बौद्धिक समुदायसमते चिन्ता र चासोमा देखिदैन । यस्तै हो भने सन्ततिहरू पारिवारिक र जन्मभूमिको, संस्कृति र संस्कारको, ऐतिहासिक गौरवको आफ्नो पनबाट अपहरित हुँदै जानेछन् । भाषा र संस्कृतिबाट टाढिदै जानेछन् ।
यहाँ एउटा प्रसङ्ग जोड्नु प्रासंगिक होला । मानिसलाई शिक्षा र सम्पत्तिको उचाइमा समाजले नाप्दैन । जस्तो खजूरको बोट अग्लो त हुन्छ त्यसले गर्मीमा मानिसलाई शीतल दिंदैन । त्यसै गरी मानिस को शिक्षा पद र सम्पत्तिलाई होइन उसले समाजलाई पुर्‍याएको योगदान को मात्र समाजले नापेको इतिहास साक्षी छ । प्रत्येक व्यक्ति देशको सम्मानित नागरिक हुन सेवा गर्न चाहन्छ तर त्यस्तो वातावरण सिर्जना गरी आफ्नो परिवेश र अपनत्वमा गर्व गर्ने बनाउन सोच्ने दायित्व कसको ? राज्य सञ्चालक को की व्यक्ति स्वयम् को ?
यस सम्बन्धमा नागरिक समाज र समाजशास्त्री र बुद्धिजीवीहरुको चिन्तन मनन पटक्कै देखिदैन । के जिम्मेवारी बोध गर्नुपर्छ कि पर्दैन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper