banner
banner

२ नम्बर प्रदेश किन खतरा निम्त्याउँदैछ

बरिष्ठ अधिवक्ता शिव सिग्देल-
देश पहिला कि प्रदेश ? यो बिबाद यसकारण सुरु भएको छ कि २ नम्बर प्रदेशले राष्ट्रियतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । यो प्रदेशको हालिमुहाली राजपा र संघीय समाजवादी फोरमको हातमा पुगेको छ र यसका हिन्दीवादी थोरै तर मधेसमा प्रभावशाली भनिएका नेताहरुले यो प्रदेशलाई नेपालीको मूलधारभन्दा अलग तरिकाले सञ्चालन गर्न खोजेको देखिन्छ ।
चिन्ता मान्छे मर्‍यो भन्ने होइन, काल पस्यो भन्नेमा हुनुपर्छ । नेपाल एक राष्ट्र हो र एकताका साथ नेपालको अस्तित्व मजबुत हुनुपर्छ । यही मजबुती र सबैको समानुपातिक विकासका लागि हो संविधान र संघीय प्रणालीमा जानुको कारण पनि । समानुपातिक विकास भनेर देश टुक्रा पार्ने, टुक्रा पारिउको अनुभूति दिलाउने खालको कुनै पनि कार्य, साजिसलाई चिरफार गर्नैपर्छ, त्यस्ता साजिसको अन्त्य गरिनैपर्छ । किनकि नेपाल नेपालीको हो, रहिरहनुपर्छ ।
हामी संघीयता र सात प्रदेशको अभ्यास देखिरहेका छौं । प्रदेशसभाको निर्वाचन, प्रदेश सरकारको गठन, प्रदेश प्रमुखको नियुक्ति र उनले गराएको र निर्वाचित प्रतिनिधिले गरेको सपथ ग्रहण पनि देखिरहेका छौं । २ नम्बर प्रदेशमा मुख्यमन्त्रीले हिन्दी बोल्नु, हिन्दीलाई कामकाजी भाषा बनाउनु र राष्ट्रिय पोसाकलाई निषेध गर्नुले ठूलै रडाको मच्चिसकेको छ । बिदेशी भाषा हिन्दीलाई राष्ट्रिय भाषा बनाउनु र राष्ट्रिय पोसाकलाई अमान्य गर्नुले बिबादको सिर्जना गरेको छ भने अव नामाकरण र प्रदेशको कामकाजी भाषाले द्वन्द्व निम्त्याइसक्यो भन्दा हुन्छ ।
२ नम्बर प्रदेशमा मैथीली र हिन्दीमा अभिव्यक्तिको मामिलालाई लिएर बिबाद हुनु र पुतला दहनसम्मको स्थिति आइसक्यो । राजधानी यहाँ कि त्यहाँको झगडा त कायमै छ । यो प्रदेशमा आधा हिन्दीको पक्षमा छन् भने आधा मैथिलीको । हिन्दीविरुद्ध जनकपुरमा मैथिलीले पुतला जलाएका हुन् । राजपाका नेताले हिन्दी मनपराए, ठूला पार्टीका सभासदले मैथिली ।
मधेस प्रदेश हुनुपर्छ भन्नेहरु नै हिन्दी कि मैथिली भनिरहेका छन् भने संघीय ढाँचा चल्न चलाउन नसकिने विशेषज्ञीय चिन्ता पनि देखिन्छ ।
मुख्य विवाद हिन्दीको छ । १०७ मध्येका ११ जना राजपाका सभासदले हिन्दीलाई कामकाजी भाषा बनाउन खोजिरहेका छन् । हिन्दी नै हुनुपर्छ भन्ने राजपामात्र हो र जसरी पनि हिन्दी घुसाउने उनीहरु जोरजबरजस्ती गरिरहेका देखिन्छन् । जनता मौन छन्, मौनता समर्थन होइन ।
राष्ट्रिय तथ्यांकअनुसार हिन्दी भाषा बोल्नेको संख्या बिसौं स्थानमा छ । अनि किन हिन्दीलाई प्रदेश भाषाका रुपमा स्थापित गर्न खोजिदैछ । यो गम्भीर प्रश्न हो, खतराको आहटको विश्लेषण जरुरी छ ।
पहिले एक मधेस एक प्रदेश भनियो । २१ जिल्लामध्ये २ नम्बर प्रदेशमा ८ जिल्ला परे । अव यही ८ जिल्लामा राष्ट्रिय पोसाक बाइकट गरेर हिन्दी भाषा छिराइदैछ । राजपाका नेताहरुलाई हिन्दी मोह र राष्ट्रिय पोसाकको बिरोध किन ? उनीहरु नेपाली भाषा र राष्ट्रिय पोसाकलाई खस आर्यको भनेर आरोपित गरिरहेका छन् भने बहुल राष्ट्रवादको नयाँ नारा पनि दिइरहेका छन् । यसको अर्थ उनीहरुभित्र अहिले पनि विखण्डन र विभाजनको भूत सवार छ ।
स्मरणीय छ, जब कि २ नम्बर प्रदेशमा ७९ प्रतिशतले नेपाली बुझ्छन् र मैथिली भाषी बसोबास गर्छन् ।
हिन्दी भाषाले कामकाजी भाषाको स्थान पायो भने यो प्रदेशमा बहुसंख्यकले बोल्ने भाषासमेत प्रतिस्थापित हुने खतरा रहने छ भने नेपाली भाषा जो अधिकांशले बुझ्छन्, यसको महत्व घट्नेछ । उठाउनु पर्ने विषय भनेको विभेद र निषेदको अन्त्य, सबै भाषाको महत्व बढाउने तर नेपाली भाषा कामकाजी भाषाकै रुपमा कायम गर्ने र सबै जाति र तिनको भेषभुषालाई बढावा दिने तर राष्ट्रिय पोसाक अर्थात पहिचानलाई कम हुन नदिनुपथ्र्यो ।
मधेसी र पहाडीयाको जुन बिभाजनकारी सोचलाई २ नम्बर प्रदेशका मधेसवादी पार्टीहरुले बढावा दिएका छन्, यथार्थमा यो कसैको इसारामा उठाइएको अनावश्यक बिबाद हो । यसले नेपाली नेपालीवीच बैमनुष्यता बढाउने बिषको काममात्र गर्ने निश्चित छ । यस्तो काम संघीय शासनमा हुनु झन खतरा हो ।
के नेपाल टुक्य्राउने योजना छ र त्यही योजनाकारहरु मधेसमा यसरी भाषा, भेष, जातिलाई द्वन्द्वको विषय बनाउन उद्दत भएको हो ? हो भने यो खतराका सम्बन्धमा सबैले चनाखो हुनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper