banner
banner

राष्ट्रवादी दलीय घेरामा सिमित हुन्नन्

स्वयम्भुनाथ कार्की -
राष्ट जनता, राजसंस्था अनि पारम्परिक गौरव अनुभूतिले आपसमा जोडिने भावनाको संयुक्त रुप हो । कुनै देश राष्ट्र बन्न यी सबै तत्वको आवश्यकता पर्दछ, मात्र भुगोलले देश बन्छ तर राष्ट्र बन्दैन । त्यसैले राष्ट्रवाद भाषामा, पोशाकमा मात्र सिमित हुँदैन । राष्ट्र बन्ने यी सबै तत्वको आदर गर्ने र यसको निमित्त समर्पण गर्ने भावना राष्ट्रवाद हो ।
नेत्र विहीनहरुले हात्ती छामेको लोक कथा चरितार्थ गर्दै राष्ट्रवादको वडो विद्रुप परिभाषा गरिनु र वर्तमान पुस्ताले त्यही मान्यता बोक्नु राष्ट्रका निमित्त हानीकारक हुन्छ । भारतले नेपालीको स्वाभिमानमा चोट पुर्‍यायो, त्यसले उद्वेलित हुनु स्वभाविक नै हो । तर त्यसो भयो भन्दैमा कुनै वेलाको भारतको शत्रु मानिएको चीनको शरण पर्नुपर्छ, त्यसको प्रशस्ती आउनु पर्छ भन्ने कुरा राष्ट्रवाद हैन ।
महेन्द्र सरकारबाट अत्यन्त कठिन अवस्थामा मुलुकको अस्मिता जोगाउन अन्तराष्ट्रिय सम्वन्धको परिचालन भएको थियो । त्यसैलाई भारतिय अतिवादी विचारकहरुले ‘चीन कार्ड’को नाम दिए । यो शव्द नेपाली दलका महन्त, भारतमा शिक्षित बुद्धिजीविहरुले आयात गरे । यसैको विकृत रुप हो भारतको विरोधको निमित्त चीनसँग लम्पसार पर्नुपर्ने माँग । यस्तो विकृतिपूर्ण सोचको अन्त जरुरी छ ।
त्यसैले राष्ट्रवादी केवल राष्ट्रको प्रतीकको मुनी मात्र संगठित हुनु पर्दछ, कुनै दल र वादको मुनी हैन । त्यसै पनि नीति भन्दा नेता महान हुने नेपाली परिवेशमा दलको उपस्थिति विकृतिको मुहान बन्न लागेको छ । यो संविधानको प्रमुख विषेशता भनिएको कुराहरुसँग नै असहमति राख्ने विचारधाराको प्रतिनिधित्व गरेको दलको मुखिया नै आफ्नै विचारधारा मास्ने कुराको रक्षा गर्ने संविधानको सफलताको निमित्त सरकारमा सामेल हुन्छन् । अनि त्यही विचारधारा मास्ने कुराको संरक्षण गर्न गएको सगौरव भन्छन् भने त्यो भन्दा ठूलो विकृति अरु के हुन्छ ?
राष्ट्रवादीहरु एक लक्षमा सहकार्य गर्न सक्छन् तर एक दलमा संगठित हुन सक्दैनन । किनभने एक सच्चा राष्ट्रवादीले आँखा चिम्लेर नेताको आदेश पालन गर्न सक्दैन । न नेताको चाकरीको निमित्त ‘राष्ट्रवादका महानायक’ जस्ता सम्वोधन नै गर्न सक्छ । चाकरीवाजहरुले गरेको यस्तो सम्बोधनले आनन्द दिने नेता अन्य क्षमता विहिन खोक्रो प्रशंसा प्रेमी व्यक्ति हो । यस्ता व्यक्तिले मौका पाउने वित्तिकै मनोमानी शुरु गरिहाल्छन् ।
राष्ट्रवादी भनिन चाहानेहरुले खोलेका दलहरु असफल हुने कारणहरु निम्न छन् ।
वरिष्ठ कनिष्टको भावना: जसले सबैमा मेरै पछि अरु लाग्नपर्छ, मेरो सोच नै सबैभन्दा उत्तम हो भन्ने भावनाले प्रधानता पाउछ । 
संगठन बनाएर त्यसको नेता बन्ने लोभ : जसले १०, २० जना जुटाएर एक संगठन खोल्न प्रेरित गरेको छ । यस्ता संगठनहरुमा विरोधीसंग संघर्ष गर्ने भन्दा समान प्रकृतिका अरु संगठनहरुको खोईरो खनेर आफु ठूलो हुन खोज्ने प्रवृति हावी हुन्छ ।
लक्ष भन्दा प्रचारमुखी : काम भन्दा कसरी छिटै आफ्नो वा आफ्नो समुह चर्चामा आउँछ भन्नेमा ध्यान जाँदा परिणाममुखी काम हुन सक्दैन ।
जनताले विश्वास गर्न चाहेर पनि नसक्नु : आपसी कलह, सतही कार्यक्रम आदिले गर्दा यीनिहरुबाट पारलाग्छ भन्ने जनतामा विश्वास हुँदैन ।
त्यसैले निरन्तरको एक संगठन बनाउने प्रयत्न असफल भएका छन । विगतका झण्डै दश बर्ष अनवरत प्रयत्न गर्दा पनि एक दल हुन नसकेको अवस्थामा फेरी दलको रुपमा जोड्ने प्रयत्न ‘डोकोमा दुध दुहुने’ सरहको प्रयत्न हुन्छ । अर्को एक दुई शताव्दि नै निरन्तर प्रयत्न गरे पनि एक दलमा समेटिदैनन । त्यसैले धेरै कुरा नसमेटी सबैको साझा लक्षमा मात्र कार्यगत एकता गर्नु पर्दछ । यसले कसैको पनि अहंमा चोट नपुग्दैन । कसैले पनि आफुलाई वेवास्ता गरिएको अनुभुति गर्न  पर्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper