banner
banner

प्रधान न्यायाधीशमाथि प्रहरीको छानबिन

काठमाडौं । कति दुर्भाग्यपूर्ण समाचार हो यो– प्रधान न्यायाधीशले बरिष्ठ अधिवक्तालाई आफूविरुद्ध नलाग्न धम्क्याए, ज्यानमार्ने धम्की दिए ।
यस्तो आरोप लगाएका छन्– बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले । उनले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएर सुरक्षाको माँग गरेपछि कानुन र सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएको छ र आइजीपी प्रकाश अर्यालले नै यस मामिलामा छानबिन भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । अधिवक्ता भण्डारीले आफूलाई धम्क्याएको फोन नम्बरसमेत जाहेरीमा उल्लेख गरेकाले प्रहरीले तत्काल पत्ता लगाउन सक्नेमा आलटाल गरेर अनुसन्धान भइरहेको बताउनु पनि रहस्यमय मानिएको छ ।
एसपी रवीन्द्र धानुकका अनुसार बानेश्वर प्रहरीले छानबिन गरिरहेको र दूरसञ्चारसँग कल डिटेल माँग गरेको जानकारी दिएका छन् ।
प्रधानन्यायाधीशमाथि आरोप गम्भीर, माग भने सामान्य डा. गोविन्द केसीको अदालतको मानहानी मुद्दामा प्रधानन्यायाधीश तानिएका छन् र उनको शैक्षिक प्रमाणपत्रदेखि नागरिकता र न्याय परिषदको निर्णयसम्म माँग गरिएको छ ।
यसमाथि बरिष्ठ अधिवक्तालाई ज्यानमार्ने धम्की दिएको विषयले प्रधानन्यायाधीश नराम्ररी फस्न पुगेका छन् । कांग्रेसी राजनीतिक दबाबमा उनी पानी माथिको ओभानो हुनसके पनि न्यायक्षेत्रमा जुन प्रकारको धब्बा लागेको छ, त्यो मेटाउन लामो समय लाग्ने निश्चित छ ।
मूलकुरो न्यायालयप्रति जनताको आस्था र विश्वासको प्रश्न छ, त्यसमा न भूतो न भविष्यतिका रुपमा गोपाल पराजुली मुछिन आइपुगेका छन् र उनको एउटै तर्क संसदीय समितिले निर्णय गरिसकेका विषयमा प्रश्न उठाउनु जरुरी छैन भन्ने छ, जुन आम मानिसका लागि पाच्य भइरहेको देखिदैन ।
त्यसमाथि डा.गोविन्द केसीले न्याय बेच्नेलाई छाड्दिन भनेको विषयले समेत न्यायलयमा स्वच्छता छैन, भ्रष्टाचार छ भन्ने सवाल उठाएको छ, जसको सफाइ जरुरी देखिएको छ । एकजना अधिवक्ता शान्तिसुरक्षाका लागि माग गर्ने स्थितिमा पुग्छन् भने अन्य सर्वसाधारणको अवस्था के होला भन्ने प्रश्नले पनि अदालतलाई तोनेको छ, अदालतले आफूलाई सुधार गर्न नितान्त जरुरी ठानिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper