banner
banner

वीपी, मदन भण्डारी, प्रचण्डपछि ओली युग

डा.बिनिता -
वीपी र मदन भण्डारी बितेको धेरै वर्ष भइसक्यो । जिवित नेतामा चर्चित छन् प्रचण्ड । अहिले प्रचण्डलाई पनि चर्चामा उछिने केपी ओलीले । प्रचण्डको साख गिर्दै गएको, लोकप्रियता कमजोर बन्दै गएको, उनले जनमत गुमाउँदै गएका स्थितिमा वाममोर्चाको मञ्च बनाएर केपी ओली वीपीजत्तिकै चर्चामा त आए, वीपीजस्तै अमर होलान् किन होलान्, आगामी दिन उनका लागि अग्नि परीक्षा हो । प्रचण्डलाई जनयुद्ध अथवा जनआन्दोलनको समयको जस्तो शिखरमा पुग्न उनले आफूलाई जनताका सामु नतमस्तक गर्नुपर्नेछ । उनले राम्रो काम गरेर व्यक्तित्वमा लागेको नरसंहारको रगत पखाल्नुपर्नेछ ।
वीपीको फोटो संग्रहालयमा सिमित हुनपुग्यो । वीपीका सिद्धान्तलाई कांग्रेस हाँक्ने कुनै नेताले अंगीकार गरेको देखिदैन । वीपीको प्रजातन्त्र र राष्ट्रवाद कांग्रेसका लागि कहिले कहिले सम्झना गर्ने इतिहासभन्दा बढी महत्वको रहेन । यही गल्तीका कारण नेपाली कांग्रेस मटियामेटको स्थितिमा पुग्यो, ओलीको व्यक्तित्व राताम्मे भएको छ ।
मदन भण्डारीको सालिक दासढुंगामा छ । उनको सालिकमा वर्षको एकपटक फूल चढाउनेभन्दा बढी महत्व एमालेका लागि छ भनेर मान्न सकिन्न । हुन त टाइवाला अध्यक्ष झलनाथ खनाल र मै हुँ मदनको उत्तराधिकारी भन्ने माधवकुमार नेपालको हिजो आजका बोलीबचन हेर्नेहरुले उनलाई मदन भण्डारीको जुत्तामा राख्न पनि सुहाउँछ भन्न सक्दैनन् । मदनकी श्रीमती विद्या भण्डारी राष्ट्रपति बनिन्, उनलेसमेत मदन भण्डारीको मृत्युको कारणबारे अनुसन्धान गराउने चासो राखिनन् । कहाँ राजा भोज, कहाँ गंगु तेली । अलिकति छायाँ छाप केपी ओलीमा देखिन्छ भण्डारीको । उनी चर्चा र सत्ताको शिखरमा पुगेका छन् ।  पार्टी उनकै कमाण्डमा छ । अव माओवादीसमेत मिलेको ठूलो जनवादी पार्टी समेत हाँक्नेवाला छन् ।
माओलाई आदर्श मान्ने एमाओवादी चीरा चिरा भएको छ । बैद्य फुटिसके, विप्लव फुटे र प्रचण्ड र बाबुराम अलग धारमा छन् । भन्न सकिन्न माओको रातो कितावको कुन कुन पन्ना कुन कुन नेताको भागमा परेको छ । १० वर्ष जनयुद्ध हाँकेको प्रचण्डको नेतृत्व यतिखेर एमालेको छायाँमा छ । विश्व थर्काउने प्रचण्डको नेतृत्व राजधानीमै हार खायो, बल्ल चितवन पुगेर कांग्रेसले जिताइदिएको छ । नेपालमा कम्युनिष्ट उत्पादकत्व देख्ने रिम र कम्पोसासमेत यतिखेर चकित छ होला । नेपालमा कम्युनिष्ट भविष्य छैन, राजनीतिक प्रतिस्पर्धा कांग्रेस एमालेवीच नै छ भन्नेहरु वामपन्थीको आगामी पाइला गन्न थालेका छन् ।
् लोकतान्त्रिक पद्धति भन्नु नै सामूहिक कल्याणको उद्देश्य प्राप्तिका निम्ति अपनाइने वा प्रयोगमा ल्याइने वैधानिक र नैतिक प्रक्रिया हो । बैधानिक र नैतिक धरातल गुमाएपछि राजनीति गर्नेका लागि केही बाँकी रहदैन । प्रचण्ड यही टाट राजनीतिलाई एमालेको बुई चढेर फेरि बगैंचा निर्माण गर्ने चुनौतिसँग लडिरहेका छन् । कांग्रेस पछारिएको ठाउँबाट उठ्ने प्रयत्नमा छ । अन्य भुरेटाकुरे दलभित्रका के कुरा गर्नु ? पाए खान्छन्, नपाए रुन्छन् र अस्तित्व रक्षामा जुट्छन् । ठूला मामाको त यो गति, कान्छा मामाहरुको कुन 
गति ? नेपालमा वामपन्थी राजनीतिको बागद्वारबाट प्रदूषण बग्ला कि पानी ?
ओली र प्रचण्ड जिवित नेता हुन्, उनले चाहे भने उज्यालो इतिहास बनाउन सक्छन् । देश बनाउने ताकत पनि छ । दुबैले देशका सन्तानलाई आफ्ना सन्तान भनेका पनि छन् । मात्र तिनले व्यक्तिगत र संकुचित स्वार्थ त्याग्नुपर्छ । प्रचण्डले देश बोक्न नसक्दा र नेतृत्वको लालचको दलदलमा फस्दा उनले ख्याति गुमाए, केपी ओली त्यही ड्याङका मूला नहुन् । पहिलो संविधानसभाले संविधान लेख्न सकेन, दोस्रो संविधानसभाले संविधान त लेख्यो कार्यान्वयन हुनै सकेन । आमचुनाव भएको छ, लोकतन्त्रको सफलता असफलता अव बन्ने सरकारको मुख्य जिम्मेवारीमा पर्छ । हिरो हुने कि किरो ? ओली र प्रचण्ड मुख्य पात्र बनेका छन् । सवाल के पनि छ भने यी दुबै नेताले गरीवी र जातीयताको राजनीति गर्छन् कि समानताको ? भागबण्डामा अल्झिनछन् कि बिधिमा चल्छन् ?
संघीयता ठूलो चुनौति हो, यो चुनौतिसँग पार पाउन यी दुबै नेताले आफूलाई स्वार्थभन्दा माथि र राजनेताका रुपमा स्थापित गर्नुपर्नेछ । यद्यपि यी दुवै नेताभित्रको अनेकन लोभीपापीपनको विगत र चरित्र कायमै देखिन्छ ।
पहिले प्रचण्डले जातीयकरण गरेको संघीयताको नामांकन बाँकी नै छ । यिनका रजौटाहरु संघ संघमा चलखेल त गर्लान्, हाकिम त बन्लान्, नयाँ राणाशाही त चलाउलान्, देश त्यसरी सुशासन र सम्पन्नतिर अग्रसर हुनसक्दैन । विधि मिच्ने आवाज अहिले नै एमालेले उठाइसकेको छ, प्रचण्डले पर्ख र हेरको नीतिमा रहेका देखिन्छन्, यसरी हाँस न कुखुराको चालले संघीयता, सुशासन र समन्नताको सूर्य उदाउन सक्दैन । प्रश्न यत्ति छ, पेरिस डाँडामा प्रचण्डको फोटो झुण्ड्याइएको छ । एमाले हाउसमा ओलीको । सिंहदरवारमा फेरि ओलीको फोटो टांगिने दिन नजिकिदैछ । फोटो टांग्नु एउटा कुरा, देशले पत्याउने अर्को कुरा । चुनाव जित्दैमा जनताको विश्वास जित्न सकिन्न । ओली र प्रचण्डले आफ्नो फोटो प्रत्येक घरको भित्तामा टांग्न प्रेरित हुने काम गर्लान् कि नगर्लान् ? केही कार्यकर्ताको जयजयकारमा रमाउने हो भने के अर्थ रह्यो र ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper