banner
banner

आइजीपी चोखै सईलाई फसाइयो

काठमाडौं । सशस्त्रको मुख्यालयको स्टोर र लेखामा आगो झोसेको भनेर लेखा शाखाका सई हुमबहादुर थापालाई पक्राउ गरिएको छ । यद्यपि लेखाका धेरैजना यो कृतिम आगलागीमा फसेका छन् ।
अख्तियारले सशस्त्र बलभित्र व्यापक भ्रष्टाचार र अनियमितता भएको प्रमाणिक उजुरीका आधारमा कागजात मगाएपछि प्रमाण नष्ट गर्न नियोजित रुपमा लेखा र स्टोरमा आगो लगाइएको थियो । एसएसपी दिवेश लोहनीका अनुसार अनुसन्धान भइरहेको छ, दोषीमाथि कारवाही हुन्छ । गृहको एक टोलीले यस आगलागीमा छानबिन गरिरहेको छ । पक्राउ पर्ने हवल्दारदेखि असईसम्मले माथिको आदेशमा काम गर्दा अनियमितता हुनपुगेको र प्रमाण नष्ट गर्न आगो लगाएको सकारेका छन् । गृहको आदेशमा सशस्त्रकै एआईजी प्रेम शाहीको छानबिन समितिले समेत लेखा शाखाका ५ जनाले आगो लगाएको ठहर गरेको थियो । विद्युत सट भएर आगो लागेको प्रमाणित गर्न योजनाकारहरु असफल भएका छन् । सशस्त्रकै
 पम्पबाट पेट्रोल झिकेर छर्केको र आगो लगाएको सकारेपछि गृहमन्त्रालयसमेत हर्कतमा आएको छ । यो आगो निभाउन दुईथान दमकललाई ३ घण्टा लागेको थियो । यस घटनामा गृह मन्त्रालयले गरेको छानबिन र अख्तियारले गरिरहेको अनुसन्धानले सई र हवल्दारलाई मात्र दोषी ठान्छ कि यी सबै घटनाक्रमका मुख्य आदेशकर्ता सशस्त्र आइजीपी सिंहबहादुर श्रेष्ठलाई पनि दोषी देखाउँछ, त्यो भने हेर्न बाँकी छ ।
स्मरणीय सवाल के पनि छ भने चेन अफ कमाण्डमा बस्नुपर्ने सकल दर्जाका सुरक्षाकर्मीलाई अनियमित भुक्तानी गर्न आदेश दिने मुख्य आदेशकर्ता त आइजीपी नै हुन् । यस मामिलामा आइजीपी सिंहबहादुर श्रेष्ठले मुख खोलेका छैनन् ।
हेडक्वार्टरमा आइजीपीको कार्यालय, त्यही कार्यालयको सामु यति ठूलो आगलागी र आगलागीको कारण भ्रष्टाचार लुकाउने, दबाउने साजिस । आइजीपीले चुप लाग्न मिल्दै मिल्दैन । तर यस मामिलामा आइजीपीले चुप्पी साधेर घटनालाई झन रहस्यमय बनाइदिएका छन् ।
यद्यपि ठूलालाई चैन र सानालाई ऐन लाग्ने देश हो यो । सइ, हवल्दारहरुलाई फसाएर ठूला कमिशन र भ्रष्टाचारीहरु छुट्ने प्रपञ्च हुन थालेको त होइन । सानालाई पक्राउ गरेर थुन्ने र केरकार गर्न थालिएकाले पनि यो घटनामा आदेश दिनेले छुट पाउने सम्भाबना रहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper