banner
banner

डीपीआर नभए पनि द्रुतमार्ग बन्छ

रोशन कार्की - 
सुरुमा ४० करोडमा बेच्छु भनेको डीपीआर कमिशनको चक्कर चल्दा चल्दा सरकारले एक अर्व दिन तैयार हुँदा पनि यो बिबाद कायमै रहेपछि नेपाली सेनाले भनेको छ– भारतीय डीपीआरबिनै पनि दु्रतमार्ग बन्छ ।
भारतले जिम्मेवारी पाउने भो भनेर भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आईएलएन्डएफएस)ले तराई जोड्ने फास्ट ट्य्राकको डीपीआर तैयार पारेको थियो । राजनीतिक खिचलो र राष्ट्रिय महत्वको यो आयोजना सेनालाई निर्माणको जिम्मेवारी दिने निर्णय भएपछि डीपीआर सरकारले किनेर सेनालाई दिने भनियो । तर त्यो डीपीआरमा अनेकन त्रुटी रहेको खुलासा भएपछि सेनाले डीपीआरका केही प्रावधानमात्रै खरिद गर्न सकिने प्रस्ताव गरेको छ । भित्रभित्रै प्रम देउवाका सालासमेत लागेर कमिशनको मिलोमतोमा झण्डै १ अर्ब पूरै डीपीआर खरिद गर्न दबाब दिएको हल्लीखल्ली छ । सेनाले पुरै प्रस्ताव स्वीकार गर्न सकिन्न भनिसकेको छ ।
भारतीय कम्पनी र कमिशन एजेण्टको मिलोमतो दबाबलाई सेनाले नकारी दिएपछि फास्ट ट्य्राक नयाँ ढंगले बन्ने सम्भाबना छ । सेनाले फास्ट ट्य्राक निर्माणको सुरुआती काम थालनी गरिसकेको छ । एक भेटमा सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले टनेल (सुरुङ) र हाइब्रिज बाहेकको द्रुतमार्ग निर्माण कार्य सेनाकै खाकाअनुसार बनाउन सकिने, टनेल (सुरुङ) र हाइब्रिज निर्माणमा मात्रै आउटसोर्सिङ आवश्यक पर्ने निष्कर्ष छ भनेर बताएका छन् । प्रवक्ता प्राविधिक ज्ञाता पनि हुन्, उनले भारतीय डीपीआरबिनै द्रुतमार्ग निर्माण गर्न सकिने र आर्थिक रूपमा व्यवहारिक हुने उनको ठहर रहेको छ ।
भारतीय कम्पनीले नेपालको आंशिक डीपीआर किन्ने पत्राचारको जवाफ दिएको छैन । नेपाललाई आलटाल गरेर झुलाईरहेको छ भन्ने स्रोतको दावी रहेको छ । भारतीय कम्पनीले डीपीआर नदिए आफ्नै डिजाइनमा काम अघि बढाइने भन्दै कामको थालनीसमेत गरिसकेको छ । समयमै काम सम्पन्न गर्न नेपाली सेना सक्रियताका साथ लाग्ने सेनाको प्रतिवद्धता प्रशंसनीय देखिन्छ ।
फास्ट ट्य्राक ४ लेनको बन्ने, पहाडमा २३ र तराई छिचोलेपछि २५ मिटर चौंडा हुने, फास्ट ट्य्राकमा ९९ पुल र १.३५ किलोमिटर सुरुङमार्ग रहने सेनाले जानकारी दिएको छ । नेपाली सेनाले ७६.२ किलोमिटर लामो द्रुत मार्गको ट्य्राकको ट्य्राक ६ वर्ष अघि नै खोलिदिएको थियो । सेनाले ४ वर्षभित्र यो द्रुतमार्ग खोलिसक्नुपर्ने छ र खोल्न सकिने प्रत्याभूति सेनाले दिएको छ ।
भारतीय कम्पनीलाई ठेक्का दिनलाग्दा आमनागरिकले विरोध जनाएका थिए र मुद्दा परेपछि सर्वोच्चको आदेशानुसार सरकारले आफै द्रुत मार्ग बनाउने भन्दै नेपाली सेनालाई जिम्मेवारी सुम्पेको थियो । सेनाका अनुसार दु्रतमार्गको सम्पूर्ण जिम्मा पाएपछि सैनिक मुख्यालयले खोकनादेखि निजगढसम्म करिब १ हजार ५ सय फौजसहित १० स्थानमा क्याम्प स्थापना गरी निर्माण कार्य अघि बढाइसकेको छ । डीपीआर वा अरु कुनै झमेला आए पनि निर्माण कार्य रोकिदैन भन्ने सेनाको जवाफ छ । अव नेपाली सेना निर्माणमा जुट्यो ।
नेपाली सेनाले यो बाहेक पनि थुप्रै सडक निर्माण गरेको छ । राम्रो अनुभवका कारण र आफूले पाएको जिम्मेवारी पूरा गरिछाड्ने नेपाली सेनाको ख्याति विश्वमै चर्चित रहेकाले पनि सेनाले यो राष्ट्रिय महत्व र आमनागरिकले नै चाहेको काठमाडौं निजगड जोड्ने द्रुतमार्ग निर्माण गरेरै देखाउने छ ।
यसकारण त नेपाली सेनाको इज्जत दिनदिनै बढेर गएको हो । विश्वका ख्यातिप्राप्त नेताको सुरक्षाको जिम्मेवारीमा समेत नेपाली गोर्खा खटिएका छन्, नेपाली सेना विश्व शान्तिका लागि राष्ट्रसंघीय मिसनमा समेत इज्जत कमाइरहेको छ । राजनीतिको जानकारी लिने तर राजनीतिप्रति कुनै चस्का नपालेको नेपाली सेना कर्तव्यमा सधैं अब्बल रहदै आएको छ, सफल हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper