banner
banner

लोकादेशको अपेक्षा : स्थिरता र सुशासन

राजन कार्की -
लोकादेशको अपेक्षा : स्थिरता र सुशासन हो । वामामोर्चाले जनतासँग समृद्धि र सुशासन दिन्छौं भनेर भोट मागेको थियो र त्यो पत्याएर जनताले मतदान गरेका हुन् । वामोर्चा अव सरकार बनाउनेवाला छ, जनादेशअनुसारको काम होला कि नहोला ? यतिबेला देशव्यापी रुपमा बहस सुरु भएको छ । लोकतन्त्रमा अन्तिम सत्य लोक मानिन्छ, नेपालमा लोकतन्त्र त छ, लोकतन्त्रको अपरिहार्य तत्व लोक राजनीतिक गरिमा र महिमामा छन् कि छैनन् ? यो प्रश्नमा बुद्धिजीवीहरु मौन छन् । परिवर्तनपछिका दिनहरुमा शासन प्रशासन राजनीतिक भ्रष्टाचारको चपेटामा पर्‍यो, अव त सुध्रेला कि भन्ने आम अपेक्षा रहेको छ ।
लोकको सहभागितामा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा कुनै चमत्कार भयो भने त्यो लोकले मतदान गरेर देखाइदिए । आफूविरुद्धको कुनै पनि आतंक, अव्यवस्था र अपमानलाई चिर्दै लोक निर्वाचन केन्द्रमा गए, मतदान गरे र मतादेश दिए । योभन्दा ठूलो चमत्कार अरु के हुन्छ ? तर, लोक राज्यबाट प्रताडित छ, भूकम्प, बाढीपहिरो र शीतलहरबाट मरिरहेको छ । त्यो लोकलाई न्यानो कपडा दिनेसम्म चुनाव बिजेता कसैले आफ्नो कर्तव्य ठानेनन् ? बिजयोत्सवमा करोडौं उडाउने र भुइको धुलो उडाएर नाचगान गर्ने काम भइरहेको छ, लोकको पीडामा मलमपट्टी बन्न कुनै जनप्रतिनिधि, जनताको पार्टी तैयार देखिदैन । यो दुर्भाग्य लोकको, लोकतन्त्रको कि लोकनेताको ?
चुनाव जित्नेहरुले बुझुन्– यो जनादेशको अर्थ देश बनाउन खलासी चालक नबनुन्, तस्कर–कालाबजारिया उद्योगी व्यापारी नहुन्, नीतिहीन, नैतिकहीन र लोकलज्जाहीनहरु नेता नहुन् भन्ने हो । र, दलका दलाल बुद्धिजीवी र नागरिक समाज, डलर कुम्ल्याएर समाज र संष्कृतिमा धावा बोल्ने मानवाधिकारवादी, घूस नखाई काम नगर्नेलाई राष्ट्रसेवक कर्मचारी, स्कूल कलेज खोलेर लुट मच्चाउने माफियालाई शिक्षासेवी, पढाउन छाडेर पार्टी कार्यकर्ता बनेर हिड्नेलाई प्रा.डा. भन्न नपरोस् भन्ने पनि मतादेशमा अन्तर्निहित मर्म हो । लोकतन्त्रका मुखियाहरु यस्ता कूतत्वको मालिक, संरक्षक नबनुन्, लोकादेशको पालना गरुन् । तव न लोकतन्त्र र समाजवाद संस्थागत होला, नयााँ नेपालको निर्माण सुरु होला ? त्यस्तो अपेक्षा छ, आशा छ, तर ती आशा र अपेक्षा पूरा हुने सम्भाबना अहिलेसम्म न्यून नै देखिन्छ । किनकि जनमत र जनबल बिजयीहरुले आफ्नो नेतृत्वको शासनमा न्यायविधान र समानता हुन्छ भन्ने प्रत्याभूतिको अभिव्यक्ति अहिलेसम्म दिन सकेनन् ।
राजनीतिको यो नाङ्गो चालाप्रति स्वतन्त्र नागरिक समाज र बुद्धिजीवी बोल्नुपर्छ कि पर्दैन ? ओपिनियन क्रियटरहरु ठूला दलमा टाास्सिएर र गाास्सिएर भोलिका दिनमा पाउनसक्ने लाभमा र्‍याल काढेर बस्नु भनेको देशको अधोगति नै हो । प्रभावहीन लोक किचिदै, मिचिदै र मर्दैछन्, प्रभावशालीहरु लोकावाज बोल्दैनन्, लोकप्रतिको दायित्व निर्वाह गर्दैनन् भने जनप्रतिनिधि बनेका र तिनले चलाउने राज्यले कर्तव्य पालना कसरी गर्न
सक्छ ? देखाउनेले ऐना नदेखाइदिएपछि राज्य च्यूत हुन्छ, त्यही अवस्थामा वर्तमान कालखण्ड छ ।
लोकतन्त्रलाई राजनीतिक सिद्धान्त र जीवनपद्धति मान्नेहरु लोक अन्तिम सत्य र लोकादेशलाई अन्तिम फैसला मान्छन् । कुनै पनि सिध्दान्त बोकेका दलहरुले लोक अपबेक्षालाई मुख्य आदर्श र राष्ट्रियतालाई उच्च नैतिक मान्यता बनाएका हुन्छन् । यही कारण लोकतन्त्रमा दलहरुको अर्थ, औचित्य, अस्तित्व र महत्व कायम रहेको हुन्छ । बेलायतको २ सय वर्ष पुरानो लेबर पार्टी आदर्श, नैतिक मान्यता र सिध्दान्तमा आज पनि कायम रहेको छ भने आफ्नो युगमा माओ, च्यांगकाईसेकले पनि राष्ट्र र जनतालाई सबैभन्दा बढी महत्व दिए । महात्मा गान्धी बिकेको भए अंग्रेजले कति पैसा दिन्थ्यो होला, उनलाई वापू भनेर पूजा गरिन्नथ्यो । गान्धीले भौतिक सुखका लागि शिर झुकाएनन् । इतिहासका पन्नामा असल भनेर लेखिएका लोकप्रति जिम्मेवार र राष्ट्रप्रति कर्तव्य निर्वाह गर्ने व्यक्तिहरु जुनसुकै युगमा पुजित छन्, ती महान छन् ।
नेपालमा त्यस्ता युगपुरुष, युगनेता को छन् ? किन कुनै नेतालाई सम्मानित दृष्टिले, हार्दिकताका साथ हेरिन्न ? किनकि नेताको खानी बन्यो नेपाली राजनीति तर राजनेताको अभाव खट्किरहेको छ । राजनेता बन्ने इच्छाशक्ति कुनै नेतामा देखिएन । 
हाम्रा नेताहरु किन जनबिरोधी र राष्ट्रघाती रुपमा चिनिन्छन् ? किन जनताले नेताहरुलाई निन्दा गर्छन् ? यसको एउटै जवाफ छ– यी नेताहरु बिदेशीको दलाली गर्छन् र स–साना स्वार्थको नर्ककुण्डमा मौका पायो कि चुर्लुम्मै डुब्न सक्छन् । यिनीहरु अवसरवादको बुख्याँचाभन्दा माथि उठ्न सकेका छैनन् । त्यसैले कुनै नेताको आवाजलाई सिंगो मुलुकले सुन्दैन, सिंगो पार्टीले पनि सुन्दैन, किनकि यिनीहरु गुटभन्दा माथि उठ्नै सकेका छैनन् । टोले सान्चा पहलमान र हाम्रा नेतामा भिन्नता कम छ । हो, यिनैले चुनाव जितेका छन्, राजनीतिमा पकड यिनकै छ तर जनविश्वासको कसीमा यिनीहरु पित्तल हुन्, सुन साबित हुनसकेका छैनन् । मौका पाएका छन्, चाहे भने राम्रो काम गर्न सक्छन् । असल नेताको इतिहास बनाउने, इतिहासमा नाम लेखाउने तिर्खा लाग्ला यिनलाई ?
चुनाव सम्पन्न हुनु प्रस्थान विन्दुमात्र हो । चुनाव जितेका कुनै पनि नेताले अथवा पार्टीले अव सुशासन हुन्छ, भ्रष्टाचार हुन्न भनेर बोलेका छैनन् । भ्रष्टाचार र अनैतिकता नेपालको लागि असाध्यै रोग हो । यो रोगको बिनास नभएसम्म देशको विकास सम्भव नै छैन । यसकारण देश आज नभूतो नभविष्यतिको संकटको दोभानमा खडा छ । मृत्युको चिहान बन्ने कि जीवनको चिराग, नेताहरुले बाटो चुन्ने क्षण यही हो । प्रत्येक नेपालीको मन आतंकित छ, चिन्तित र निरास छ । यसका कारण केके हुन् ? कारक कोको हुन् ? किन लोक खुकुरीको धारमा र राष्ट्र कहालीलाग्दो भीरमा पुग्यो ? यी यस्ता प्रश्नहरु हुन्, जसको सवाल जवाफ लोकलाई नेतृत्व गर्ने बर्गले खोज्नुपर्ने हो । खोज्न बाध्य पार्ने बुद्धिजीवी, नागरिक समाजले हो । राजनीतिक नेतृत्व बर्ग गैरजिम्मेवार भएर, अनैतिक भएर, सिध्दान्तहीन बनेर आजको यो असामान्य स्थिति सृजना भएको हो । लोकादेशलाई शक्ति र सामर्थ, लोकलाई आदर्श बनाउनु पर्ने र राष्ट्रप्रति नैतिक जिम्मेवारी लिनुपर्ने दल र दलीय नेताहरुले बिदेशलाई आदर्श बनाउन पुगेपछि पार्टीहरु गनाएका छन् । नेता अडेस लागेको विदेशीले देश बलियो हुन्न, लोक बलियो भए देश बलियो हुने हो । लोकतन्त्रका सारथीहरुको इमान र लोकप्रतिको जमान दुबै बिचलित अवस्थामा छन् । राष्ट्रियता र नेपालीत्व, अखण्डता र स्वाधीनता सबै ब्रम्हनाल निकट पुगिसकेको छ । 
इथियोपिया, ग्वाटेमाला, सुडान, अफगानिस्तान, होन्डुरस, निकारागुवाजस्ता राष्ट्रका नेताहरु स्वार्थमा चुर्लुम्मै डुबे, बिदेशीका कठपुतली बने र त्यसको नतिजा ती राष्ट्रहरु बिदेशी हस्तक्षेप र आतंकको भयानक परिणाम भोगिरहेका छन् ।  बिदेशीलाई बिश्वास गरेर लोकको अपमान गर्दा राष्ट्र नर्कमय बन्छ । मूल प्रदूषित भए पानी अस्वस्थकर हुन्छ, नेता बिग्रे राष्ट्र बिग्रन्छ भन्ने यो ज्वलन्त उदाहरण हो । नेपाल इथिओपियाको नयाँ संस्करण बन्न लागेको छ । काठमाडौं काबुलजस्तो बन्न थालिसक्यो । हाम्रा लोक नेताहरु खुलेआम विदेशीका औजार बनिरहेका छन् । एउटा नेताले अर्कोमाथि यस्तै आरोप लगाइरहेको सुनिन्छ । लोकनेता जनमुखी हुने कि विदेशमुखी ? बुद्धिजीवीहरुले किन मुख खोल्दैनन् ? स्वतन्त्र समाज किन बोल्दैनन् ?
संसारका धेरै मुलुक विदेशीको मौजा बन्दा नेपाल स्वतन्त्र थियो र आज पनि स्वतन्त्र हैसियतमा छ । यो हैसियत जोगाउन कमैया अथवा हली नेताले सक्दैनन् । नेता र नेतृत्व नै विदेशमुखी भएपछि पार्टी र पार्टी सरकार कसरी राष्ट्रमुखी हुनसक्छ ? जुन देशमा बुध्दिजीवी र नागरिक समाजका अगुवाहरु जिब्रो तालुमा टाँसेर अनैतिक कृयाकलापको तमासा हेरेर बस्छन्, स्वतन्त्र र निस्वार्थ बन्न सक्दैनन्, यो दासता प्रवृत्ति राष्ट्रमा लागेको ऐंजेरु हो । बुध्दिजीवी र नागरिक अगुवाले नैतिकता र नीतिलाई पुठ दिने हो । नेपालको यथार्थ के हो भने लोकतन्त्रको गर्भबाट नयाँ नयाँ व्यक्ति र बर्ग दिनदिनै लखनौ लूट गरेर अभिजात्य जन्मिरहेको छ,  अर्को ठूलो समुदाय र बर्ग बिपन्नताको कहालीलाग्दो तस्वीर बनिरहेको छ । मध्यम बर्ग समाप्त हुादै गएको छ र समाजको समन्वय भत्कन थालेको छ । यो डरलाग्दो सत्य हो ।
ठूलो कुरा कानुनको शासन, सुशासन हो । त्यो सुशासन बलौटे पहरोमा पहिरो गएझैं दिनदिनै खस्कदै छ । अहिले पनि सुशासन कायम गर्ने र विकासको गतिलाई तीब्रता नदिने हो भने नेपालको शासन र सम्पन्नता झन झन पछाडि धकेलिनेछ । लोकले स्थिर सरकारको लोकादेश दिएका छन् । त्यो लोकादेशको बलमा भ्रष्टाचारमुक्त शासन र प्रशासन चल्न सकेन भने नेपाल असफल मुलुक बन्न जानेछ र संविधानको कार्यान्वयन पनि शोम शर्माको सपना नै हुनेछ ।
१९७५ को सिक्किममा देखिएको राजनीतिक बिचलन अहिले नेपालको राजनीतिमा व्याप्त छ । यो बाढी रोकिनुपर्छ, किनकि राष्ट्रिय पहिचान नै मेटिनेजस्तो, योभन्दा डरलाग्दो दलीय बिचलन अरु हुनसक्दैन । जनमुखी राजनीति र राष्ट्रमुखी प्रजातन्त्र नेपालको वर्तमान आवश्यकता हो । राजनीतिमा संस्कार, सैध्दान्तिक अडान र नैतिकताको अनिकाले कालखण्ड अव समाप्त हुनुपर्छ । त्यो एजेण्डामा अब बन्ने स्थिर सरकार खरो उत्रन सक्ला ? अन्यथा दुर्घटनालाई टार्न अर्को परिवर्तनको शंखघोष हुनजाने छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper