banner
banner

चिनियाँ राष्ट्रपतिको भ्रमण तैयारी सुरु

गोविन्दप्रसाद पौडेल -
आगामी मार्च अर्थात ३ महिनाको अन्तरालमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने संकेतहरु देखिएका छन् । परराष्ट्र मन्त्रालयले यो भ्रमणबारे होमवर्क सुरु गरेको छ भने १५ दिनभित्रै बन्ने नयाँ सरकारले चीनका राष्ट्रपतिको भ्रमण सफल पार्न विशेष तैयारी गर्ने निश्चित छ । नेपालमा वाममोर्चाले चुनाव जिते लगत्तै चीनका राष्ट्रपति नेपाल आउने खबर सार्वजनिक भयो र यसको संकेत पाउनासाथ भावी प्रधानमन्त्री केपी ओली रसुवाको केरुङ नाका पुगेर चीनको रेल यहीँबाट चल्छ मात्र भनेनन्, रसुवा काठमाडौं, जोड्ने सडक ४ लेनको बन्छ भनेर पूर्व घोषणा समेत गरिदिएका छन् । यसैबाट थाहा हुन्छ अव बन्ने वाम मोर्चाको सरकार कुन सीमासम्म उत्साही भएको रहेछ ।
त्यसो त भारतका सञ्चार माध्यमहरुले सगरमाथाको तल तल सुरुङ खनेर चिनियाँ रेलले नेपाललाई जोड्ने भयो भनेर हल्ला मच्चाइरहेका छन् । यता चीनले भने नेपाललाई उच्च महत्व दिएको छ र नेपालमा ह्वात्तै लगानी बढाएको छ ।
परराष्ट्र स्रोत भन्छ– चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने संकेत पाएरै तैयारी सुरु गरिएको हो । अन्तिम तैयारी भने नयाँ सरकार गठन भएपछि हुनेछ । यद्यपि चीनको वान बेल्ट वान रोड र नेपालको समर्थनकै परिधिमा नेपालले विकासका एजेण्डाहरु राष्ट्रपति समक्ष राख्ने छ र सहयोग माँग्ने छ । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने भनेको नेपाललाई विकासशील राष्ट्र बनाउने स्रोत र सामल लिएर आउने पनि हो । यो भ्रमणले नयाँ सरकारको समद्धि, स्थिरता र सुशासनमा ठूलो फड्को मार्न सक्छ । आउने चुनावमा समेत प्रभाव पार्नसक्ने गरी वाममोर्चाको बन्ने सरकारले तैयारी गर्ने छ भन्नेमा शंका नगर्दा हुन्छ ।
चीनका राष्ट्रपति सी २०१६ को सेप्टेम्बरमै आउन चाहेका थिए तर नेपालमा बढेको अस्थिरताले गर्दा भुटान, बंगलादेश, पाकिस्तान, भारत, श्रीलंकाको भ्रमण गरेका सीको भ्रमण नेपालमा हुनसकेन । यतिबेला चुनावपछि स्थिरताको वातावरण बनेको छ, स्थिर सरकार बन्नेवाला छ, भ्रमण हुनसक्ने आधार बनेको छ ।
सी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भएपछि माओपछिका शक्तिशाली नेता बनेका छन् । नाकावन्दीका बेलामा तेल दिने चीनले तेलको पाइपलाइन जोड्ने र बैकल्पिक व्यापार र पारवहनका लागि चीनले नेपाललाई एक्सेस दिने सम्झौतासमेत हुनेछ । यसबाट नेपालले अव भारतको कहिले पनि नाकावन्दी बेहोर्नुपर्ने छैन । यसकारण सीको भ्रमण ऐतिहासिक हुनेछ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper