banner
banner

पुस्तकालय र अभिलेखालय नष्ट हुँदै

देशका महत्वपूर्ण दस्तावेजहरु रहेका छन् राष्ट्रिय अभिलेखालयमा । महत्वपूर्ण पुस्तकहरुको संकलन छ राष्ट्रिय पुस्तकालयमा । त्यसै पनि अव्यवस्थाले सड्दै गएका यी दुबै निकायका संकलनहरु भूकम्पपछि अस्तव्यस्त हुनपुगेका छन् । संरक्षण गर्ने र बचाउने दायित्व सरकारको हो, सरकार यता ध्यान दिइरहेको छैन ।
समाचारअनुसार महत्वपूर्ण पुरातात्विक ऐतिहासिक अत्यन्त दुर्लभ ग्रन्थ र अभिलेखहरू सुरक्षित छन् । पहिलेको वीर पुस्तकालयले पछि राष्ट्रिय अभिलेखालयको रूप लिएको हो । यस अभिलेखालयमा सातौं शताब्दीदेखि एक्काइसौं शताब्दीसम्मका लगभग पचास हजार हस्तलिखित ग्रन्थ छन् । संस्कृति, धर्म र इतिहाससम्बन्धी प्राचीन लिपिमा लेखिएका ताउपत्र लगायतका अभिलेख यहाँ रहेका छन् । संस्कृत, मैथिली, तिब्बती लगायतका भाषामा लेखिएका प्राचीन कतिपय धार्मिक ग्रन्थहरू त नेपालको यही अभिलेखालयमा मात्र पाइन्छन् । यही रहेका मूलप्रतिबाट सारेर लगेका ग्रन्थहरू विदेशका प्रकाशकले छापेका छन् । प्राचीन संस्कृति र सभ्यतासँग परिचित हुन चाहने विद्वानहरू अभिलेखालयमा आएर अध्ययन गर्छन् ।
त्यसो त अभिलेखालयमा जर्मन सहयोगबाट माइक्रोफिल्ममा परिणत गरेका अभिलेखहरुको मूलप्रति जर्मन पुगिसकेको आशंका पनि गरिएको हो । तथापि अन्तर्रार्िष्ट्रय महत्व भएको यस्तो ऐतिहासिक सम्पदाको भण्डार अभिलेखालय अहिले संकटग्रस्त अवस्थामा छ । यो साह्रै चिन्ताको विषय हो ।
यस्तै हालत छ राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, त्रिवि पुस्तकालयको पनि । पुस्तक र महत्वपूर्ण ग्रन्थहरु कोराका कपडामा बाँधेर राखिएका छन् । ती कपडा मुसाले च्यातिदिएको, पानी छिरेर नष्ट हुनथालेको अवस्थामा छन् । तिनको सुरक्षा छैन । नष्ट भएर विलीन हुँदैछन् । यदि नागरिक समाज, विद्वानहरुले दबाब दिएर अभिलेखालय र पुस्तकालयहरुको बस्तुहरु संरक्षणमा नलाग्ने हो भने साह्रै महत्वपूर्ण दस्तावेजहरु कुहिएर जानेछन् । पछि खोजेर पनि नपाइन सक्छ । यसकारण अहिले नै ती सरकारी संस्थाहरुका पुस्तक तथा पुरातात्विक महत्वका बस्तुहरुको बारेमा सरकारलाई दबाब दिन जरुरी छ । खाली सत्ता, शक्ति र लाभका लागिमात्र राष्ट्रिय दलहरु व्यस्त भइरहेका छन् । राष्ट्रिय सम्पत्तिको बिनष्ट भएको हेरिरहने राष्ट्रिय दलहरु कसरी राष्ट्रवादी हुनसक्छन् कुन्नी ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper