banner
banner

देशको अल्सर बिग्रेर क्यान्सर नहोस्

पदम हमाल -
चुनावी माहोलमा राजनीतिक ध्रविकरण जति देखियो, त्यसले अतिवाद जन्मने खतरा बढाएको छ । खुलेआम कम्युनिष्टहरु ५० वर्षसम्म कांग्रेस सिला खोजे पनि नपाइने हुंकार गरेको सुनियो । चुनावमा आफ्ना नीति, कार्यक्रम, घोषणापत्र र निष्ठामा विश्वासदिलाई जनादेश लिनुपर्ने हो । यहाँ त अर्को पार्टीलाई धुलिसात पारेर निमिट्यान्न पार्ने र आफ्नो सर्वसत्तावाद लाद्ने कुरा पो सुनियो ।
एकातिर दुई ध्रुवीय कम्युनिष्ट मिल्ने र कम्युन्यालिजम फैलाउने, अर्कोतिर त्योभन्दा पनि हार्डलाइनर कम्युनिष्ट बम बिस्फोट गराएर बिद्रोह गर्ने शक्ति हामीसँग पनि छ, संसदीय व्यवस्था फालिदिन्छौं भनेर चुनौती दिने ।
३२ जिल्लाको निर्वाचनमा ६४ हजार सेना, ७८ हजार नेपाल प्रहरी, ४४ हजार सशस्त्र, ७० हजार कर्मचारी र हजारौं हजार राष्ट्रिय अनुसन्धान विभाग लाग्दासमेत सुरक्षाको प्रत्याभूति दिन हम्मे हम्मे परेको दृश्यले के बताउँछ भने द्वन्द्व समाप्त भएको छैन, संविधानले धान्न सक्दैन । संविधान कार्यान्वयन भए पनि विवाद चुलिदै जानेछ र शान्ति झन झन पर पर हुँदै जानेछ ।
यी सबै परिदृश्य देखेर विश्लेषकहरुको विश्लेषणको निथार यस्तो छ–
अतिवादको जन्म हुन्छ वा असफल राष्ट्र घोषणा गरी बाह्य हस्तक्षपे हुने संकेतहरु प्रष्टै देखिन थालेका छन् । यसमा हामी सबै सचेत हुनुपर्छ ।
हामी लामो संक्रमणबाट यहाँसम्म आइपुगेका हौं । लोकतन्त्र घोषणा भएर संविधान पनि आयो तर संविधानलाई कुल्चेर, मिचेर दलीय भागबण्डामा राज्य चलाउने जुन निकृष्ठ काम भइरह्यो, त्यहीँबाट असन्तुष्टि झन बढेर गयो ।
एकातिर हिन्दुवाद, राजावाद, अर्कोतिर जनवाद, यी सबैलाई गोलमेचमा उभ्याएर नेपाली राष्ट्रवादमा थचार्न नसक्नु संविधानको बिफलता हो । यो विफलताको साइड इफेक्टले दूरगामी असर गर्छ र अल्सर बिग्रेर क्यान्सर पनि हुनसक्छ ।
त्यसैले प्रजातन्त्रवादी हुँ भन्ने सबैले देशको शान्ति, कानुनव्यवस्था र स्थिरताका लागि के के गर्नुपर्ने हो, त्यसबारेमा बृहद छलफल गर्नेपर्छ र प्रजातान्त्रिक नेपालका लागि प्रजातान्त्रिक र राष्ट्रवादी तत्वहरु मिल्न मिलाउनै पर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper