banner
banner

नेपाल भारतीय सैनिक घेरामा

काठमाडौं । भारतीय गोर्खा सैनिकलाई पेन्सन बितरण गर्न र तिनको कल्याणकारी कार्य गर्नका लागि भनेर भारतले नेपालका २६ स्थानमा पेन्सन क्याम्प खडा गर्न सुरु गरेको छ । सैनिक पेन्सन सैनिकले बितरण गर्ने भएकाले पेन्सनका नाममा भारत नेपालमा सैनिक क्याम्प खडा गर्दैछ भन्दा फरक पर्दैन ।
पहिले नेपालमा भारतले सैनिक क्याम्प खडा गरेको थियो र क्याविनेटमा समेत भारतीय प्रतिनिधि बस्थे । राजा महेन्द्रले २०२६ सालमा सबै उन्मूलन गरिदिए । भारतीय दूतावासमा मात्र भारतीय सैनिक दूतावासको सुरक्षामा खटिने गरेको थियो । तर अहिले एयरपोर्टमा भारतीय जहाजको सुरक्षा भनेर भारतीय सेना तैनाथ छ भने अव नेपालभरि भारतीय सेना फैलिन लागेको छ ।
यतिमात्र होइन, नेशनल ट्ेरडिङ लिमिटेडको जग्गामा भारतीय आयल निगमले पम्प खोल्ने तैयारी थालेको छ । यो पम्प पनि भारतीय सेनाले सञ्चालन गर्ने र यो अत्याधुनिक पम्पमा ५ सय भारतीय सेना सिभिल ड्ेरसमा खटिने बताइन्छ । यसो भयो भने काठमाडौंसमेत खतराको रेडजोनमा पर्‍यो कि परेन ?
समाचारअनुसार भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रमसँग पेन्सन क्याम्प थप्न माग गरेका थिए र तत्कालीन प्रम पुष्पकमल दाहालले हुन्छ भनेका थिए । २ नोभेम्बर २०१६ मा नेपाल भ्रमणमा आएका भारतीय प्रम प्रणव मुखर्जीले आफ्ना नेपाली समकक्षी दाहालसँग त्यही माग दोहोर्‍याए । १३ वर्षअघि भारतले लगातार ताकेता गरेको र नेपालले आलटाल गर्दै आएको बुटवल पेन्सन वितरण कार्यालयको लागि देउवा सरकारले जग्गा दियो । अब २६ स्थानमा भारतीय पेन्सन क्याम्प रहन गएका छन् । नेपाल भारतीय सेनाबाट घेरिदैछ ।
बुझ्नुपर्ने कुरा के छ भने नेपालमा बैङ्किङ विकास तीब्र रुपमा भएको छ । भारतले एसवीआई र एभरेष्ट बैंकमार्फत लगानी पनि गरेको छ । पेन्सनवालाको खाता खोलिदियो भने मिनटभरमै भारतमा हालिदिएको पेन्सन खातावालाको खातामा जम्मा हुनसक्छ । रेमिटान्स जसरी आउँछ, पेन्सन त्यसरी नै आउनसक्छ । भारतमा काम गर्न गएका नेपालीले समेत बैंकमार्फत पैसा पठाउन थालेका छन् । तर भारत पेन्सन क्याम्प नै खोल्न आतुर छ । यसको अर्थ सिधा कान नसमातेर घुमाएर कान समात्ने भनेजस्तो भारत नेपाललाई सैनिक घेराबन्दीमा राख्न आतूर देखिन्छ र भारतीय जालमा नेपाल पर्दै र फस्दै गइरहेको छ ।
नेपालमा १ लाख २६ हजार अजकाशप्राप्त गोर्खा सैनिक र ३२ हजार नेपाली भाडाका सिपाही कार्यरत छन् । भारतले हालसम्म कञ्चनपुर, कैलाली, बैतडी, सुर्खेत, बााके, अर्घाखाँची, रूपन्देही, गुल्मी, पाल्पा, कास्की, चितवन, दाङ, बाग्लुङ, तनहुँ, ओखलढुंगा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, इलाम, दोलखा, लम्जुङ, सुनसरी, खोटाङ, म्याग्दी, स्याङ्जामा जिल्ला सोल्जर बोर्ड कार्यालय खोलिसकेको छ ।  यसले गोर्खा फौज र उनका परिवारको रेखदेख र नयाँ भर्ती सहजीकरण गर्ने भनिए पनि नेपालको गुप्तचरी गर्नु, सुरक्षा रणनीति बनाउनु त्यसको मुख्य काम हो । नेपालको सुरक्षा व्यवस्थाको पूर्ण जानकारी भारतले लिइरहेको छ ।
नेपालले भारतलाई पेन्सन क्याम्प बन्द गरेर बैंकमार्फत पेन्सन वितरण गर्न भन्न सकेन । यतिमात्र होइन, बाढीका समयमा मोरङमा भारतले खोलेको रेखदेख गर्ने एउटा कार्यालय काम विहिन भए पनि भारतीय झण्डा फहराइरहेको छ । त्यो समेत नेपाली राजनीतिक र शासक बर्गले हटाउन सकेको छैन । आखिर नेपाली राजनीतिले गर्छ के ? खाली सत्तामा जाने र भारतलाई रिझाएर नेपालको स्वाधीनता कसरी सुरक्षित भइरहन सक्छ ? अव यतातिर सोचिहाल्न जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper