banner
banner

बैदेशिक लगानी प्रतिवन्ध हटाउन दबाब

गोविन्दप्रसाद पौडेल -
सिएनआईले विदेशीमा लगानी गर्न प्रतिबन्ध लगाउन बनेको ऐन खारेज गर्न माग गरेको छ । धनाध्ये उद्योगी/व्यवसायीहरुले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन खारेज गरी वैदेशिक क्षेत्रमा लगानी गर्न पाउनुपर्ने भनेका हुन् । नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन नै गरेर उद्योगीरव्यवसायीहरुले विदेशमा लगानी गर्न बनेको ऐन खारेज गर्न र अन्त:शुल्क ऐन व्यवसायीहरुको हितमा नरहेकोले तत्काल परिमार्जन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । परसंघका अध्यक्ष छन् हरिभक्र शर्मा । यिनी औषधि व्यवसायी हुन् । अन्तशुल्कले औषधि र मदिरा उत्पादकहरुलाई घाँडो बनेको छ । त्यसो त विगत समयदेखि नक्कली स्टिकर टाँसेर अन्तशुल्कको छली व्यापक भएको छ र यसमा राजस्वका कर्मचारीको मिलोमतो समेत हुने गरेको छ ।
सिएनआईको निष्कर्ष छ– कानुनमा समय सापेक्ष सुधार नभएकै कारण मुलुकको उद्योग/ व्यवसाय फष्टाउन सकेन । कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगीहरुलाई समस्या पार्ने सबै खालको कानुन संशोधन र खारेज गर्न माग गर्नु परेको जनाए । मुरारकाले उद्योग संचालनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया सम्बन्धि कानुनमा हुने जटिलता तत्काल हटाउन पनि सरकारसँग जोडदार आग्रह गरे । कार्यक्रममा उद्योगी व्यवसायीहरुले जग्गा प्राप्ती ऐन, निकासी पैठारी नियन्त्रण ऐन, बोनस ऐन, वातावरण संरक्षण नियमावली समय सापेक्ष परिवर्तन गर्न नसके नेपालको उद्योग, व्यवसाय झनै जटिलतामा फस्नेतर्फ बताएका छन् ।
एकातिर देशमा उद्यमभन्दा पनि तैयारी सामान झिकाएर बेच्ने उद्यम, व्यापार फस्टाएको छ । जसका कारण रोजगारी बढ्ने सवालै छैन । अर्कोतिर नक्कली काम गरेर पैसा कमाएका उद्यमी व्यापारीहरु विदेशमा लगानी गर्न पाउनुपर्छ भनिरहेका छन् । पैसा छैन, जनता कंगाल भएका छन् । पैसा व्यापारी, उद्यमी, शिक्षा क्षेत्रमा लाग्ने, नेता र कर्मचारीसँग व्यापक धन थुप्रिएका छन् । सामान्य कर्मचारीले जागीर खाएको केही वर्षमै करोडौंको सम्पत्ति जोड्छ, घर बनाउँछ कसरी ? स्वदेशमा उद्योग छैन, विदेशमा लगानीको सुविधा चाहियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper