banner
banner

उही पुरानालाई नै मतदान गर्ने बाध्यता

सहदेव सिग्देल -
चुनाव नजिकिदैछ, मतदाता आमनागरिकका लागि विकल्प साह्रै थोरै छ । उही पुराना दागी नेताहरुलाई मतदान गर्न जानता बाध्य पारिएका छन् ।
जनता सार्वभौम अधिकार सम्पन्न छन् र तिनले नै देशको प्रतिनिधित्व रोज्ने हो तर त्यो प्रतिनिधित्व रोज्ने जनता छन् कति ? अधिकांश व्यक्तिहरु पार्टीका सदस्य भएका छन् र  तिनले आफू संलग्न पार्टीकै वकालत गरिरहेका छन् । यथार्थमा जनता भनेका तिनै हुन् ।
जो झोपडीमा बस्छन्, भत्केको घरब बनाउन नसकेर च्यातिएको पालमा बसछन्, तिनलाई जनतामा मान्न सकिन्न, किनभने तिनीहरुले चाहेर पनि पार्टीका कार्यकर्ताको आदेशविपरित मतदान गर्नसक्ने अवस्था देशमा छैन ।
सामान्य नगारिक जो, पीडामा छन्, तिनीहरुलाई लोकतान्त्रिक समाजवादसहितको समृद्धि भनेको कौवालाई बेल पाकेजस्तो हो । तिनले लोकतन्त्र भनकेो नेताले भ्रष्टाचार गर्ने तन्त्र सम्झेका छन् । हुन पनि नेताहरुले लोकतन्त्रलाई बपौति, मौजा बनाएका छन् र आजसम्म पनि लोकतन्त्रको सपना देखाएर लुटिरहेका छन् ।
कुनै नेता यस्ता छैनन्, जो महलमा बस्न नरुचाउने हुन् ? जो आमनागरिकको झेपडीसम्म पुग्न लालायित हुन् । जो आमनागरिकको पीडा र अप्ठेरो बुझेर तिनका आवश्यकता पूर्तिका लागि अहोरात्र खटिन चाहने खालका हुन् । त्याग र बलिदान भन्ने कुरा त राजनीतिमा हराउँदै गयो, राजनीति भनेको व्यवसाय भयो, नाफाको व्यवसाय ।
साँचो अर्थमा पार्टीहरु पसलजस्ता भएका छन् । जसरी आयल निगम दुब्लाउँदै र पम्पवालाहरु कमाउँदै जान्छन्, त्यस्तैगरी लोकतन्त्र दुब्लाउँदै र नेताहरु मोटाउँदै गएका छन् ।
०४६ साल अघिका चप्पलछापे नेताहरु पजेरो चढेर हिड्ने भए, ०६३ साल अघिका भोका जंगलवासीहरु, अहिले महलवासी बनेका छन् । लोकतन्त्र लोकका लागि कहिले पनि आएन, लोकतन्त्र त नेता र तिनका परिवार, तिनका कार्यकर्ताका लागि आयो ।
लोकतन्त्र लोकका लागि आएको भए आज लोक यसरी छटपटिएर बस्नुपर्ने थिएन । पार्टीका कार्यकर्ता र नेतासम्म पहुँच भएकाहरुले हरेक दिन कमाइरहेका छन् । जो आमनागरिक हो, उसका लागि न्याय महगो हुँदैछ, बजारदेखि जीवनचक्र झन झन कठिन बन्दै गएको छ । लोकतन्त्रमा लोक खुशी हुनुपर्ने हो, कम्तिमा आशा पालेर र हौसलाका साथ बाँच्न पाउनुपर्ने हो । नेपालीहरुका लागि लोकतन्त्र निराशा र आक्रोसको विषय बन्दै गएको छ ।
पञ्चायतप्रति वितृष्णा हुँदा पञ्चायत गयो, लोकतन्त्रप्रति वितृष्णा बढेर गएको देख्दा लोकतन्त्र पनि जोखिममा पर्न थालिसकेको छ । नयाँ राजाहरुले लोकको आक्रोस देखेका छन्, किन चेत नफिरेको होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper