banner
banner

हामी गणतन्त्र कि गुलामतन्त्रतिर ?

राजन कार्की -
पञ्चायतपछिको बहुदल र बहुदलको अत्याधुनिक संस्करण अर्थात लोकतन्त्र बिधि र पद्धतिले चल्ने हाइब्रिड होला भनेको त उही ब्वाइलर पो निस्क्यो । अमत्र्यसेनले डेभेलपमेन्ट एक फ्रिडम पुस्तकमा लेखेका थिए– गुलाफमा सुगन्ध हुनैपर्छ, रङ होइन । नेपालको लोकतन्त्र गुलाफ त हो, यो कागजको गुलाफ हो कि भन्ने शंका उठिसकेको छ ।
जनआन्दोलनपछिको परिवर्तनको १२ वर्ष लगाएर संविधानसम्म जारी गर्‍यो । २३ महिनासम्म संविधान कार्यान्वयन हुनसकेन र संविधान जारी गर्ने संविधानसभाले आफैलाई परिवर्तित संसद भन्यो र त्यो संसद पनि असोज २८ बाट स्थगित भएर नयाा निर्वाचनमा लागेको छ । संविधान कार्यान्वयन हुनसकेन । ठूला पार्टीहरु भनिरहेका छन्– स्थानीय चुनाव सम्पन्न भयो, प्रदेश र संसदको निर्वाचनपछि संविधान कार्यान्वयन हुन्छ । यति लामो समयसम्म आमनागरिकले संविधानलाई अपनत्व स्वीकार गर्न किन सकेनन् ? यसबारेमा विश्लेषण गर्न कुनै पार्टीहरु तैयार देखिदैनन् । उनीहरुलाई छिटो चुनाव गरेर प्रदेशसभा, केन्द्रीय संसद कव्जा गर्नु र दुबै सभाबाट सत्ता कब्जा गर्ने हतारो जो छ ।
२०६३ सालको जनआन्दोलनको सफलतापछिका १२ वर्षमा राजनीतिक नैतिकता, कर्तव्य पूरा गर्न र नेतृत्वले आफू योग्य र आफ्नो योग्यता शिद्ध गर्न सकियो कि सकिएन ? यसबारेमा आत्ममिमांसा समेत गर्न भ्याएनन् । लोकतन्त्र भोगिरहेका नागरिकहरुको तीतो अनुभव र प्रतिक्रिया छ– ठूला दलहरुले संविधानलाई पालना गरेनन्, संवैधानिक अंग र राज्यसञ्जालमा भागबण्डा गर्ने संस्कार बसाले । यहाासम्म कि सुरक्षा निकायदेखि अदालतमा समेत राजनीतिकरण गरिदिए । राजनीतिक खिया नलागेको कुनै क्षेत्र नै रहेन । अव त पार्टीमा माफिया पाल्ने र चुनावमा डन उतार्नेसम्मका घटनाक्रम पनि देखिन थालेका छन् ।
राजनीतिक दलहरुले समानुपातिक र समानताको, बिधियुक्त व्यवस्थाको संस्थागत गर्ने मौका गुमाए ।
नेपालको राजनीतिक र जीवनचक्रमा तीन म को ठूलै महत्व छ । दैनिकी जीवनमा मान्छे, माउन्टेन र मनसुनले नै नेपाली जीवनको सहजतालाई प्रभाव पारिरहेको छ किनकि भौगोलिक बनावट र प्रगतिका माध्यम यिनै हुन् । राजनीतिमा नेताले नागरिकलाई मान्छे देख्नै छाडे । खाली कार्यकर्ता अथवा लाभ हुने तस्कर, माफिया, भ्रष्टाचारीमात्र हेर्न थाले । माउन्टेन अर्थात पर्यटनबाट देश र देशवासीको विकास र सम्पन्नतामात्र हुने थियो तर राजनीतिकरण र अस्थिरताले पर्यटनलाई बिस्तारित हुनै दिएन । मनसुन मौसम परिवर्तनको मारमा पर्‍यो र राजनीतिक भनसुनले शासन व्यवस्थामा जग हाल्यो । के बााकी रह्यो र ?
आशा नभए आकाश खस्छ । नागरिक समाजमा यसरी आशा र भरोशा मार्ने काम राजनीतिक पार्टीहरुबाटै भइरहेको छ । यो लोकतन्त्रको सबैभन्दा गलत नजीर, आफ्नै घुँडामा बन्चरो हान्ने उद्यम बनिरहेको छ ।
स्मरणीय छ, कालीगण्डकी जलविद्युत आयोजनाको केही स्वार्थीहरुले विरोध गर्दा तिनलाई च्याकुन्च्याई पारेर घाास खुवाइयो । र निकास निकालियो । २०५२ को आधीरातमा महाकाली सन्धि पारित गरियो र नेताहरुले अव नेपालको सूर्य पश्चिमबाट उदाउँछ भनेर झ्यााई झ्याइा पारे । स्याटेलाइटबाट विजुली निकासी गरिन्छ र आर्थिक उन्नति हुन्छ भन्ने नेताहरु अहिले राजनीतिक निर्णायक तहमा छन् । वार्षिक ५३ अर्व नगद लाभ पनि हुन्छ भनियो । २२ वर्षमा डीपीआर फाइनल हुनसकेन । यो कछुवाताल किन ? कसैले सोधेको सुनिएन, यस्ता हावादारी गफ गर्नेहरु अव हावाबाट बिजुली निकाल्ने, घर घरका भान्छासम्म ग्यास पाइप जोडिदिने, पानी जहाज चलाउने सपना देखाउन थालेका छन् ।
यी हाम्रा नेता पढ्दैनन्, जनतालाई गवाार सम्झन्छन् । अनुसन्धान गरिरहेका संस्थाहरुको द्वन्द्व सम्मेलनको निष्कर्षले नेपाललाई पनि जातिवादका कारण नेपाल पूर्वी टिमोर, बुरुण्डी, फिजी, सोमालिया, लेवनन, ताजकिस्तान, कोसोभो, म्यानमारजस्तै समस्याग्रस्त नाजुक राष्ट्र भनिसक्यो ।
जनआन्दोलनताका घरघरबाट सलहजसरी निस्केका जनताले परिवर्तन र सुखानुभूति तिनका आाखामा आज किन देखिदैन ? तिनले पाउनैपर्ने योग्यताको कदर अवसरको किन अपमान भइरहेछ ? परिवर्तनका गीत खाएर हिमाल, पहाड, तराई घन्काउने गायकहरु, संगीतकारहरु, लेखकहरु किन पार्टीका कित्ता कित्ताका कोठाहरुमा कैद भइरहेका छन् ? किसान सडकमा दुध घोप्ट्याएर रगतको आासु रोइरहेको छ, युवाहरु ४६ डिग्रीको मरुभूमि र खाडीमा रगतको आासुले मनका पीडा धोइरहेको छ, जनताको स्वास्थ्यसुरक्षा कहाा छ, १३ पटक एउटा डाक्टर अनसन बस्दा पनि स्वास्थ्यशिक्षाको कानुन बन्न सक्दैन, विकास, समृद्धि र समाजवादको डंका पिट्नेहरु किन लोकतान्त्तिक गठबन्धन र वाममोर्चा बनाएर स्वार्थको बिस्कुन सुकाइरहेका छन् ? सुन्दर र सुखद जीवन कता हो कता, नाना, खाना र छानाको लागि समेत आमनागरिक कुइनोले पहाडसाग ठोक्किनुपर्ने स्थिति किन आयो ?
सबैभन्दा ठूलो कुरा इमान, नैतिकता र लोकलज्जा हो । हाम्रा नेतृत्व बर्गले मान्छे र मान्छेको नेतृत्व बर्गमा हुनैपर्ने यी गुणहरु पोलेर खाए । राज्य ढुकुटीमा लुट चलिरहेको छ र यसैलाई ठूला पार्टीहरु लोकतन्त्र भनिरहेका छन् । तिनले बिर्सेको सत्य के हो भने राज्य ढुकुटीभर्न कर तिर्ने आमनागरिक हुन् । तिनै नागरिक सार्वभौम छन् र पार्टी नेताहरु त सार्वभौम नागरिकका प्रतिनिधिपात्र मात्र । प्रतिनिधि पात्रले मालिक सार्वभौम जनतामा शासनका नाममा शासना दिने ? योभन्दा अतिवाद र अलोकतान्त्रिकता अरु के हुनसक्छ ?
२०६३ साल वैशाख ११ गतेदेखि २०७४ साल असोज २८ गतेसम्मको क्यालेण्डर पल्टाएर हेरुन्– कति दिन हुन्छ र ती दिनहरुमा जनताले नेताका नाममा, सरकारका नाममा, संसद र सांसदका नाममा, प्राकृतिक प्रकोप, भूकम्प र बाढीपहिरोका नाममा कति पीडा भोगे, छटपटिए ? त्यसको अनुभूति हुनु संवेदना हो, सिमान्तकृत समुदायको हेक्का नराख्ने नेतृत्वकर्ताहरुले संवेदनहीनतामात्र देखाए । विवेकहीन भएपछि कसको के लाग्छ ? त्यसै समाजले भन्ने गरेको होइन– बेइमानीको ओखती हुन्न ।
जनता सार्वभौम भएको भए, जनताको यस्तै कन्तबिजोग हुन्थ्यो ? जनताको आवाजको सुनवाई नहुने यति बिकराल स्थिति रहन्थ्यो ?
यसकारण पूर्वराजाले सबैको चाहना हुन्छ भने म नेतृत्व लिन तैयार छु भनेर घोषणा गरिदिए । पूर्वराजाले नबुझेको कुरो के थियो भने जनआन्दोलनका सात दलमा दिल्लीमा भएको १२ बुादे सम्झौता र आतंककारीको जत्था मिसिएको थियो । त्यो जत्था र आन्दोलनको आगो फुक्न भारुको र क्रिश्चियन धर्म प्रचारकहरुको डलरको धुनी जगाइएको थियो । त्यसपछि आन्दोलन र जनयुद्धको रसायन बम बन्यो र पड्क्यो । त्यसले राजतन्त्र उडायो, हिन्दुधर्म लडायो । धर्मनिरपेक्षताको महल बनायो । त्यही महलमा राजा फाल्यौं भन्नेहरु महाराजा बनेर बिराजमान भए । पहिले त एउटा राजा थिए, त्यसपछि ठूला पार्टी, जाति, भेग, भाषाका अनेकन महाराजाहरु जन्मिए । जसले देशको अस्तित्व र देशवासीको सतित्वमाथि हरेक दिन बलात्कार गरिरहेका छन् । ०५२ सालपछि जनयुद्धले तर्सायो, ०६३ सालपछि राजनीतिक दुर्भाग्यको ऐठनले । यो ऐठन झन झन कस्सिदै गएको छ, कारण व्यवस्था फेरियो संस्कार फेरिएन, व्यक्ति फेरिए, व्यवहार फेरिएन ।
यसकारण लोकतन्त्र पद्धति बन्नैसकेन, संस्कृति, शैली र देश तथा जनताको अवस्था फेर्नै सकिएन । लुटतन्त्र चलिरहेको छ, लुटतन्त्रको लोकतन्त्रको गरिमा र महिमा गलिरहेको छ ।
लोकमानलाई कसले पदमा पुर्‍यायो, किन महाभियोग लगाइयो र महाभियोग तुहाइयो ? गोपाल खड्कालाई आयल निगममा थपना गर्ने को ? संसदको ५ थान समिति र आमनागरिकले समेत तेलमा खेल र जग्गा खरिद प्रकरणमा भ्रष्टाचार नै हो भन्दा पनि अदालतले नमान्नुको रहस्य के ? आमलेखक र शिक्षा मन्त्रालयको अध्ययनले भ्रष्टाचार भन्यो तर अदालतले मानेन र साझा प्रकाशनमा उही डोलेन्द्रलाई पुनस्र्थापना गरायो ? आन्तरिक राजस्वको ३३ अर्व मिनाहा काण्डका नायकलाई अदालतले बिना धरौटी छाडिदियो, एनसेलले राज्यलाई बुझाउनै पर्ने लाभकर फासफुस हुनगयो, यसअघिका शेयर बिक्रेतालाई पनि अदालतले नछुनु भनिदियो । किन ? यसैगरी बुढी गण्डकीको घोटालाकाण्ड के थियो, कसले छुने ? यस्ता अनगिन्ती काण्डहरु छन्, जसमा कानुनले पाता फर्काउनै सकेन ? कानुन फितलो भयो, कानुन प्रभावकारी हुनसकेन भन्ने आम गुनासो छ । यसकारण प्रश्न उठेको छ– लोकतन्त्रमा सुशासन नभएर किन कुशासन भइरहेको छ ? १२ वर्षमा १० सरकार, के सरकार फेरबदल हुनुमात्र लोकतन्त्र हो ? चुनाव हुँदैमा कसरी संविधान कार्यान्वयन हुन्छ, संविधानले जनताको सपना साकार पार्छ, सुशासनयुक्त इतिहास लेखिन्छ ?
सानो तर महत्वपूर्ण निवेदन छ– लोकतन्त्रलाई लोकतन्त्र बनाउा, यसरी गुलामतन्त्रतिर नडोर्‍याउ । इजिप्टमा नासिरले १९५२ मा भ्रष्टाचारविरुद्धको नेतृत्व गरेका थिए, त्यस्तै भ्रष्टाचारविरोधी नेतृत्व निस्कनु पर्‍यो ।
चुतेह दर्शनका अनुयायी चारु मजुमदार सिलगडीको प्रधाननगरमा झुण्डिएर मरे, कारण पछि प्रकाशमा आयो । उनी एक्लै परेछन् दर्शन मान्ने, उनका कार्यकर्ताहरुले महल बनाइसकेछन् । सामन्त बनिसकेछन् । हुन त ओली र प्रचण्ड आफै महलमा बस्छन्, उनी र उनले मान्ने दर्शन मान्ने प्रभावशाली अनुयायीहरु उनीहरुजस्तै बनिसके । जबज र माओवादले चुतेहको अनुशरण गरिसक्यो भन्दा फरक पर्दैन । फेरि किन यिनीहरु माओ र लेनिनको नाम भजाइरहेका छन् ? बिउाझ, भष्मासुर बनेर भष्म हुनुपूर्व सपनाबाट बिउाझ ।
महत्वपूर्ण कुरा राजनीतिक पार्टीहरुले आमनागरिकको मन जित्ने काम गर्नसक्नुपर्छ, व्यवहार देखाउनु पर्छ । अन्यथा हिजो कान चिरिएका जोगी थिए, आज कान चिरिएका जोगी छन् र यी जोगीहरुले आतुर भोज खाने दिन नजिकिने छ ।
बर्नाड शा भन्थे– राजनीति फटाहहरुको खेल हो । नेपालको राजनीति फटाहरुकै खेल बनेको हो त ?
होइन भने युद्ध जितिसकेपछि रामले लक्ष्मणलाई रावणको खुट्टा ढोक्न लगाए, उपदेश दिन अह्राए । हाम्रा नेताहरुले सहमति र सहकार्यको राजनीति गर्न र सुशासनयुक्त लोकतन्त्रको विकासका लागि पूर्वराजासँग कुरै गर्न नहुने हो र ? अझै निषेध ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper