banner
banner

एनआरएनए किन काम कम कुरा बढी गर्छ

राजन कार्की -
एनआरएनहरुको विशेष जमघट भयो र अधिवेशन पनि सम्पन्न भयो । यो अधिवेशनमा पनि नेपालमा ठूलै लगानी भित्र्याउने र ठूला परियोजनाहरुमा काम गर्ने धक्कु लगाइयो । अहिलेसम्मको बिगतले ठूलो लगानी गर्ने एनआरएनको कुरा कुरैमा सिमित छ । अव नयाँ नेतृत्वको चयन भएको छ, यो नेतृत्वले पनि ठूलो काम गर्ने भनेर फूलबुट्टा त भरेको छ, काम गर्ला भन्ने विश्वासचाहिं धेरै कम देखिन्छ । किनकि एनआरएनको चन्दातिर दलहरुको ध्यान बढी छ भने तिनै दलले चलाउने सरकारले एनआरएनलाई ठूलो लगानी भित्र्याउन दबाब कसरी दिनसक्ला र ?
एनआरएनको अधिवेशन ठूलै धमाकाका रुपमा सुरु भयो र धमाका गरेरै सम्पन्न पनि भएको छ ।
गोरखाको लाप्राकमा हजार घर बनाउने नेतृत्व एनआरएन अध्यक्ष शेष घलेले लिइरहेका थिए, यति नै बेला अधिवेशन भयो र अध्यक्ष बनेका छन् भवन भट्ट, उनले त्यो योजना मेरै सोच थियो भनिदिए । उनको सोच थियो भने झन छिटो पूरा हुनुपर्ने हो, लाप्राकको एनआरएन योजना पूरा होला कि नहोला ? नयाा अध्यक्ष भवन भट्टले त्यसमा शेषको भन्दा बढी विशेष ध्यान देलान् कि नदेलान् ? प्रश्न उठेको छ ।
महाभूकम्पपछि धुर्मुस सुन्तलीले फाउण्डेशन खोलेर धमाधम बस्ती बनाइरहेका छन्, बनाएर हस्तान्तरण पनि गरिरहेका छन् । हात फैलाएर कलाकारले यति ठूला ठूला काम गरिरहेका छन्, डलरको भण्डार नै छ भनेर धमास लगाउने एनआरएनले अहिलेसम्म के गर्‍यो, पीडितको कति घर बनाइदियो, बोली फुट्दैन । भूकम्पको केन्द्रविन्दु लाप्राकमा हात हालेको एनआरएनको योजना बिचैमा रोकिने खतरा पो देख्न थालियो भन्ने आवाज सुनिएका छन् ।
एनआरएनहरुमा राष्ट्रियता प्रचूर छ । यसमा शंका छैन किनकि रगत त नेपाली नै हो । तर त्यो राष्ट्रियता उनीहरुले गर्ने भनिएको व्यापक लगानीमा रुपान्तरण हुनसकेको छैन । उनीहरुले नेपालबाट जे मागेका थिए, त्यो संविधानले दियो, नेपालले गरेको ठूलो लगानीको विश्वास एनआरएनबाट अझैसम्म आउन सकेन । यो चाहिं दु:खदायी पक्ष हो ।
नवनिर्वाचित अध्यक्ष भवन भट्टले म केही गर्छु भनेर फुइाकी हानेका छन् । उनले गर्नु पनि पर्छ । उनले नगरे एनआरएनको चमक धुमिल हुनसक्छ । यसकारण पनि भवन भट्टले गर्नुपर्छ कि उनले सम्हालेको एनआरएनको अध्यक्ष पद वी एण्ड वी एयरलाइन्सजस्तो असफल हुनुहुन्न । यो प्रमाणित गर्न पनि भवन भट्टले ठूलो लगानी नेपालमा जुटाएर देखाउनु पर्छ । हुन त उनी सामेल भएको थानकोट–हेटौंडा सुरुङमार्ग गरीवको पैसा उडाएर खारेज भइसक्यो, कुशकुमार जोशी र भवन भट्ट त्यहाँ पनि फेल भएकै हुन् । तथापि भाँडा माझेर उठेको र जापानमा ९ सय जापानीलाई रोजगारी दिएको छु भन्ने भवन भट्टले सके ९ लाख नसके कम्तिमा ९० हजार नेपालीले रोजगारी पाउने लगानी भित्र्याउन सके भने त्यो उनको जीवनकै सबैभन्दा राम्रो सुरुआत हुनेछ । नेपालआमाप्रतिको भार बोकेको पनि ठहर्नेछ । एनआरएनको इज्जत बच्ने प्रमाणिक काम पनि हुनेछ ।
फर नेपाली, बाई नेपाली – यही पवित्र मन्त्रका साथ अक्टोबर ११, २००३ मा स्थापना भएको हो एनआरएन । गैरआवाशीय नेपाली संघको ताजा अधिवेशनले शेष घलेको ठाउँमा भवन भट्टलाई अध्यक्ष चुन्यो । हरेक २ वर्षमा यसैगरी अध्यक्ष फेरिन्छन, गैरआवाशीय नेपाली संघको कार्यशैली फेरिएन ।
एनआरएन भनेको अर्को संसारका मान्छे होइनन्, रोजगारीकै खोजीमा विदेशीकाहरु हुन् । कतिपयले राम्रै कमाएका होलान्, तर अधिकांश मध्यमस्तरमा कमाइ गर्छन् र जहानबच्चा पालिरहेका बर्ग हुन् । तिनीहरु डलर उब्जाउने खेती गर्दैनन्, श्रम बेचेर पारिश्रमिक लिने बर्ग नै हुन् । हो, कतिपयले दिमाग बेचेर र लगानी बढाएर धनाध्ये बनेका पनि छन् । सबै एनआरएन डलरका खात बोक्ने जात छैनन् । एनआरएन भनेपछि नेपाल आउने र नेपाल बिग्रियो, यसो गर उस गर भनेर धक्कु लगाउनेहरु धेरै देखिन्छन्, ती गुलेली र मट्याङग्रा खेलाउने काँचा खेलाडीमात्र हुन् ।
नेपालबाट विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरुको संख्या ६० लाख पुगिसकेको अनुमान छ । यकिन तथ्याङ्क न सरकारसँग छ, न एनआरएनसाग । एनआरएनसँग त कति नेपाली बिपतमा परे, कति जेलमा छन्, कति मृत्यु कुरेर बसेका छन्, कति अस्पतालमा छन्, कतिले किन दूतावासको सेवा पाउन पनि दलालको भर पर्नुपरेको छ भन्ने जानकारीसम्म पनि राख्दैन । आफूलाई एनआरएनए भनेर नाक फुलाउने तर तिनीहरुजस्तै गरी विदेश पुगेका तर दु:ख पाएकाहरुलाई उद्धार गर्नुपर्ने दायित्व पनि आफ्नो हो भन्ने एनआरएनले अहिलेसम्म आत्मसात गरेको छैन ।
एनआरएनको ५ लक्ष्य छन्– नेपालको आर्थिक सामाजिक विकासमा एनआरएनहरुको सिधा लगानी, नेपाली कला, संस्कृति र पुरातत्वहरुको जगेर्ना, नेपालीहरुको विश्वसम्पर्क नेटवर्कका माध्यमबाट साझा मञ्च निर्माण, नेपाल र नेपालीलाई प्रोत्साहन र संरक्षण तथा विदेशमा आर्जन गरेको ज्ञान, शीप, धन र अन्य स्रोतहरु विकास निर्माणमा परिचालन गर्ने । र, यस लक्ष्यसँग मिल्नेगरी १४ उद्देश्य पनि किटान गरिएको छ । तर, १५ वर्षमा एनआरएनले भन्न लायक, हेर्न, देख्न लायक एउटा पनि संगठनको लक्ष्य र उद्देश्य परिपूर्ति गरेको दृष्टान्त भेट्न सकिन्न । झाराटारा काम चाहिं एनआरएनले गरेको छ । आगामी दिनमा एनआरएनबाट केही आशा गरिएको छ ।
एनआरएनले स्थापनाकालदेखि नै दोहोरो नागरिकताको माग गरेको हो । र, अचल सम्पत्तिमा सन्ततीको हक पनि खोजेको हो । ठूलो राजनीतिक कसरतका कारण नेपालको संविधान २०७२ ले एनआरएनको मागअनुसार नै संवैधानिक व्यवस्था गरिदिएको छ । एनआरएनको माग पूरा भयो, एनआरएनले गरेको प्रतिवद्धता पूरा गर्न अझै तातो लागेजस्तो देखिदैन ।
संविधानले एनआरएनको माग पूरा गरिदियो, एनआरएनले नेपालका सम्बन्धमा ठूलो लगानी, रोजगारमूलक उद्योगहरुको स्थापना किन गरिरहेको छैन ? नेपालको नागरिकता परित्याग गरेर विदेशीको नागरिकता लिने अनि हामी पनि नेपाली हौं भनेर दोहोरो नागरिकता र सम्पत्तिको अधिकार खोजिसकेपछि आफूले कबुल गरेका, प्रतिवद्धता जनाएका विषयमा पर हट्नु नैतिक सीमा त नाघियो त ? निश्चय नै, गैरआवाशीय नेपालीहरु सबै धनाध्ये छैनन् । यसकारण सामुहिक लगानीको आवश्यकता ठानिएको हो । तर, गैरआवाशीयहरुले लगानी कम, राजनीति धेरै पो गर्न थालेको देखियो नेपालमा ।
भर्खर सम्पन्न अधिवेशनकै कुरा गरौं, एनआरएनएको नेतृत्व लिन चाहने व्यक्तिहरुले प्रत्येक दलका फेर समाएको देखियो । भवन भट्टले ठूला चारै दलको समर्थन प्राप्त गरेकाले चुनाव जिते, एनआरएनको अध्यक्ष भए । एनआरएनलाई नेपालमा राजनीति गर्ने छुट संविधानले दिएको छैन । तर राजनीतिक दलहरुले चन्दाका भरमा तिनलाई समर्थन र सहयोग गरे, राजनीतिक साँचोमा ढाले । माँग्ने र दिने दुबै गलत छन् । किनभने गैरआवाशीयलाई उनीहरु बसोबास गर्ने मुलुकमा हाम्रा राजनीतिक पार्टीहरुले भातृसंगठनको रुपमा संगठित गरेका छन् र चुनावमा तिनीहरुसँग चन्दा अशूल गर्छन् । अरु बेलामा पनि लेवी उठाउने गरेका छन् । यसकारण एनआरएनहरुले जे बोलेका थिए, लगानीको ओइरो लगाइदिने बचन दिएका थिए, त्यो केही पनि हुन नसकेको हो ।
विदेशमा रहेका नेपालीहरु एनआरएनको छातामुनी संगठित हुनु साह्रै राम्रो कुरा हो । तर त्यो संगठनले नेपालको राजनीतिमा भाँडभैलो मच्चाउने, आफ्नै संगठनको चुनावमा दशौं करोडको खर्च गर्नुले त्यसको दुस्प्रभाव नेपाली राजनीतिमाथि नै परेको छ । एनआरएनले नेपालको राजनीतिमा प्रत्यक्ष परोक्ष संलग्न हुनुहुन्न । नेपालका राजनीतिक दलहरुको समर्थन खोज्ने र दलहरुकै लेबल छातीमा टाासेर हिड्नु पनि गलत हो । नेपालका पार्टीहरुले यिनलाई स्वतन्त्र छाडिदिनुपर्छ, यिनले पनि दलीय छहारी खोज्नुहुन्न । आफ्नो पवित्र मन्त्र के हो, लक्ष्य र उद्देश्य मिल्नेगरी अघि बढ्नु, क्रियाकलापलाई बढावा दिनुले मात्र एनआरएनको भविष्य उज्यालो हुनेछ ।
एनआरएनको अधिवेशनमा पैसाको जुन चलखेल देखियो, नेपाली पार्टीहरुले चुनावका बेलामा जे गर्छन्, तिनले पनि त्यही गरे । एनआरएन राजनीतिकरण हुादै नेपालमा राजनीतिक निर्णायक बन्न खोजेकै हो त ? यसैका लागि उनीहरुले विदेशीका नेपालीले विदेशमै मतदान गर्न पाउनुपर्छ भनेर उठाएको माग पनि राजनीति होइन र ?
एनआरएनले बुझ्नुपर्छ– विदेशमा नेपालीहरु श्रममात्र बेच्दैनन्, यौन बेच्न पनि बाध्य भइरहेका छन् । हरेक दिन ११ देखि २० हजार मानिस खाडीदेखि सहाराको मरुभूमिसम्म रोजगारीको खोजीमा दौडिरहेका छन् र ९ देखि २५ लाशका वाकसहरु नेपाल भित्रिरहेका छन् । अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, चीन जहाा जहाा अवसर पाइन्छ, उतै उतै कति विद्यार्थीका रुपमा, कति रोजागारीका लागि र कति बौद्धिक पलायन भइरहेका छन् । यसरी विदेशीनेहरु जो स्थापित हुन्छन्, तिनीहरु नेपालमा परिवर्तनको आकांक्षा राखेर आफू नफर्कने, यहाा दुखम सुखम बसेकालाई उपदेशको घोल पिलाइरहेका पनि देखिन्छन् । जो नेपालमा अवसर नदेखेर गएका छन्, तिनले नेपालीलाई शिक्षा होइन, भिक्षा होइन, फर्केर मेहनत गर्न सिकाउनुपर्छ । नेपाल बिग्रियो भनेर चिन्ता गर्नेहरुले बिगार्नेमा स्वयं ऊ पनि त साझेदार हो भन्ने बिर्सनु हुन्न ।
एनआरएनले विदेशमा दूतावासले भन्दा पनि दह्रो र प्रभावकारी रुपमा विदेशीएर अभरमा परेका नेपालीहरुलाई जिम्मेवार र इमान्दार सहयोग गर्न जरुरी छ । जो विदेशीएका छन्, यथार्थमा तिनीहरु नै एनआरएन हुन् र ती प्रत्येक सफल असफल सबैले हाम्रो पनि एनआरएन संस्था छ भन्ने अनुभूति हुनसक्ने वातावरण बनाउनै पर्छ । एनआरएनले कम्तिमा पनि नेपालको बेरोजगारी र विदेशमा मात्र रोजगारी पाइन्छ भन्ने भावनालाई घटाउनका लागि सामुहिक लगानीमा ठूला उद्योगहरु स्थापना गर्न सकेमात्र एनआरएनको महत्व कायम रहला ? अन्यथा २७ मेगावाटको दोदी खोला अथवा सानिमा बैंक, अस्पताल वा एकदुई होटल खोलेरमात्र एनआरएनको उद्देश्य र लक्ष्य पूरा हुनसक्दैन ।
चेतना रहोस्– नेपाली नागरिकता त्यागेर विदेशी भएका गैरआवाशीय नेपालीहरुले नेपालको ग्रिनकार्ड खोज्नमात्र एनआरएन खोलेका रहेछन् भन्ने बात नलागोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper