banner
banner

कहीँ नभएको जात्रा हाँडिगाउँमा

नेपाली समाजमा उखान छ– काहीँ नभएको जात्रा हाँडी गाउँमा । यो जात्रा हाँडीगाउँमा मनाइएको छ । यो जात्रा आफैमा अनौठो खालको जात्रा हो ।
यो जात्रामा खटमा देउता राखे पनि खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ । देवताको खटलाई डोरीले घुमाएर जात्रा देखाइन्छ । यस्तो प्रचलन कुनै पनि जात्रामा नहुने भएकाले यो जात्रालाई काहीँ नभएको जात्रा हाँडिगाउँमा भनिएको हो ।
किम्बदन्तीअनुसार ९ महिनामा सुत्केरी हुनु पर्नेमा एक महिला १२ वर्षसम्म सुत्केरी भइनन्, बच्चा जन्माइनन् । सत्य युगको त्यो घटनाले रिसाएका भगवान नारायणलाई खुसी पार्न कहीँ नभएको जात्रा चलाउने वचन वद्धता पछि सुत्केरी गराइएको थियो । त्यही बचनअनुसार यो जात्राको चलन चलेको बताइन्छ । यसकारण यो जात्रामा उल्टो रथ घुमाउने चलन रहेको हो ।
यो जात्रा र हाम्रो राजनीति उस्तै उस्तै छ भन्दा हुन्छ । परिवर्तनको १२ वर्ष भयो, लोकतन्त्र संस्थागत हुनसकेको छैन । लोकलाई सुख, देशलाई सम्पन्नता, विधिको शासन र समानता दिने कबुलका साथ आएको लोकतन्त्रका सञ्चालक नेताहरुले आफ्नो वचन पूरा गरेनन् । जसरी पनि आफ्नो सुखसयल, आफ्नो शक्ति र आफूलाई सत्तामा बिराजमान गराइराख्न हाम्रा नेताहरु लागिपरेका छन् । ठूला दलहरु आफू आफूमै प्रतिस्पर्धा गरिरहेका छन् र कसरी दोस्रोभन्दा आफू पहिलो हुने भन्ने धुनमा रहेका छन् । यी नेताहरुले कहिल्यै लोकको सुख र लोकले न्याय पाउन् भनेर सोचेनन् । लोकतन्त्र आफैमा अलोकतान्त्रिक भइरहेको छ । तैपनि नेताहरु इम्परर न्यूक्लोथको कथाको नाङ्गो बादशाह चरित्र देखाइरहेका छन् । भगवान जनता अव रिसाउने कि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper