banner
banner

सेना र नागरिक बोल्ने रेडियो युनिभर्सिटी

राजन कार्की -
काठमाडौं–निजगड फास्टट्रय्राकबारे यति धेरै विवाद भयो कि त्यो विवादको अन्त्य गर्न जिम्मेवारी नै नेपाली सेनालाई दिने निर्णयबाट हुनपुग्यो । सेना पनि राष्ट्रसेवक संस्था नै हो । तर यो संस्थाप्रति यति ठूलो जनविश्वास छ कि उसको नाम आउनासाथ सबै बिबादको हल भइहाल्छ । यसकारण नेपाली सेनाको महत्व छ । महत्व रहदै आएको छ ।
सरकारले जिम्मेवारी दियो, ७६.२ किलोमिटर लामो काठमाडौं निजगड फास्ट ट्रयाक बनाउन सेना तत्परताका साथ जुटेको छ । सेनालाई यसअघि ओखलढुंगा–कटारी, सुर्खेत–जुम्ला, बोसीशहर–चामेलगायतका २८ वटा एक हजार एक सय किलोमिटर लामो सडक निर्माणको जिम्मेवारी सरकारले दिएको थियो, जुन पूरा गरेर बुझाइसकेको छ । अहिले पनि सेनाले ५ सय २५ किलोमिटर लामो ५ सडक आयोजना निर्माण गरिरहेको छ । फास्ट ट्रयाक निर्माण गर्न सेनाले पाएको यो चुनौती सामना गरेर सम्पन्न गर्नेमा संसददेखि सडकसम्म, जनतादेखि सरकारसम्म कसैलाई पनि शंका छैन । किनकि राष्ट्रिय महत्वको आयोजना, राष्ट्रिय शक्तिले निर्माण गर्दैछ भन्ने आश्वस्तता जो देखिएको छ । यो फास्ट ट्रयाक चीन भारत जोड्ने रणनीतिक राजमार्ग पनि हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्– सत्यका लागि त्याग गर्नसक्नेहरु वीर हुन् । जनताको नमक खाएको नेपाली सेना जहिले पनि सत्यका लागि, संविधानका लागि आफूलाई जस्तोसुकै जोखिममा राख्न तत्पर संस्था हो । भनिन्छ, विश्राम आलस्यले भरिएको मादक पदार्थको कचौरा हो । राज्यका सबै सञ्जाल, व्यक्ति अथवा संस्थाहरु विश्राम गर्छन्, गरेको देखिन्छ तर नेपाली सेनामात्र यस्तो प्रोफेसनल संस्था हो, जो चौबिसै घण्टा घडीजसरी चलायमान हुन्छ, अविश्राम उसको यात्रा जारी रहन्छ । र, उसमा जनविश्वास छ ।
जुनसुकै तन्त्र होस्, बलबती भनेको जनता नै हुन् । तिनै जनताका लागि सजग संस्थाको रुपमा नेपाली सेना खडा रहेको छ । पद्धति चलाउनेहरु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र चौथो अंगका रुपमा सञ्चारमाध्यम पनि छन् ।  नेपालको सैनिक इतिहासको नालीबेली जे छ, गौरवमय छ । माटोप्रतिको इमान्दारिता नै नेपाली सेनाको गहना हो । १६१६ मा लिगलिगे शासनबाट सुरु भएको नेपाली सेनाको इतिहास चारसय अन्ठाउन्न बर्षको मानिन्छ । कुनै पनि कालखण्डमा सेनाले राष्ट्रघात गरेको कुनै कलंक भेटिदैन ।
हो, सेनाले व्यापार गर्ने होइन, ठेक्कापट्टा गर्ने पनि होइन । तर नेपाली सेना विश्वमै अलग इस्पाते धारले बनेको छ शायद । विश्वशान्तिमा खटिएको छ, राष्ट्रिय शान्ति र निर्माणमा पनि लागेको छ । राष्ट्रिय विपत्तिमा सेनाको भूमिका अचम्मको देखियो । चाहे भूकम्प होस् कि बाढी पहिरो, ज्यानको बाजी लगाएर जनताको नमकको सोझो गरेको छ सेनाले । कसले त्यस्तो चमत्कारिक काम गर्न सकेको छ ? स्कूल कलेजमात्र होइन, पेट्रोल बेच्ने काम पनि सेनाले गरिरहेको देखिन्छ । कुन काम सैनिक परिधिको हो र कुन होइन ? यसमा विवाद र बाध्यता छ तर नेपालका सन्दर्भमा कसरी छुट्याउने ?
हो, सेनाले राजनीति चाहिं गरेको छैन । सेनालाई राजनीतिमा कहिल्यै चस्का पसेन । जहिले पनि सेना राजनीतिबाहिरै बस्यो । जब जब सेनाभित्र राजनीतिकरण गर्ने दुस्प्रयासहरु भए, त्यसलाई सेनाले नै निस्फल पारिदिएको छ । पहिले र अहिले पनि र पार्टीगत नेताहरुकै मुखबाट राजनीति सेनातिर गएको, सेनाले सत्ता लिनुपर्छ भन्नेजस्ता अभिव्यक्तिहरु दिने गर्छन् । भर्खरै पनि राजनीतिक केन्द्रविन्दुमा रहेका प्रचण्डले राजनीति सेनातिर जान थाल्यो, राजतन्त्र आउनसक्ने खतरा देखियो भनेका छन् । जसले जे भने पनि नेपाली सेना संविधान हेर्छ, संविधानको सीमालाई उसले आफ्नो लक्ष्मण रेखा मानेको छ र त्यो लक्ष्मणरेखा लाघ्ने सेनाभित्र कसैको अभिष्ट पन्पिएको देखिदैन ।
हो, मधेसमा घन्काइएका बिखण्डनका आवाजहरु जंगीअड्डाले पनि सुन्यो । एकदेशलाई अनेक देश बनाउने, एक नेपालको एकतालाई विभाजित गर्ने, बहुराष्ट्रियताका अलाप जंगीअड्डालाई पनि थाहा भयो र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना हर्कतमा आउन नपरोस् भन्नुपर्‍यो । त्यसपछि ती आवाजहरु मधेसबाट पहाडमा ठोक्किएर मधुरो बन्दै गएका छन् । मधेसमा चुनाव भयो र बाँकी मधेसमा चुनाव हुादैछ । राजनीतिक स्थिरता भए सेना आफ्नो संवैधानिक दायित्व निर्वाहको परिधिमा आयो । ७ प्रदेशमा राजनीतिक सहमति भयो, सातै प्रदेशमा नेपाली सेनाको संरचना मिलाउने काम नेपाली सेनाले गरिसकेको छ ।
नेपाली सेना सदैव नेपाली जनताको सेना रहेको छ । तर जनतामा अझै भिजिसकेको छैन । सेनाको इतिहास र बर्तमान जनतालाई बुझाउने काम जारी छ । सेना समानुपातिक भइरहेको छ, सेना सरकारको हतियार होइन, देशको संरक्षक शक्ति हो भन्ने बुझाउन बाँकी नै छ । सेनालाई शक्तिलाई सलाम ठोक्ने, गुलाम बन्ने र तिनको मलामी जाने रुपमा बदनाम गरिएको छ । सेना न सलामी हो, न गुलामी, न त मलामी नै हो । संविधानले तोकेको दायरामा बााधिएर माटोको रक्षा र जनताको सुरक्षा गर्ने अन्तिम दायित्व बोकेको संस्था हो । यो यथार्थ जनतालाई बुझाउनै पर्ने भएको छ । यो बुझाउने काम हामी सबैको हो । सकल दर्जासहितको सैनिक संगठनले त यसतिर बढी ध्यान दिनैपर्ने भएको छ ।
सेना व्यापारमा छ, सेना शिक्षा र संस्कृतिमा छ, सेना निर्माण र सुरक्षामा छ, सेना वातावरण र वन्यजन्तुको संरक्षण र आन्तरिक तथा विश्व शान्तिमा पनि खटिएको छ । सेना के हो, सेना कसरी परिचालित छ, सेनाका दायित्वहरु के हुन्, सरकार र सेनाको सम्बन्ध, जनतामैत्री सेनाको परिकल्पना यी सब कुरालाई चेतना जगाउनैका लागि शायद सेनाले रेडियो सञ्चालन गर्ने निधो गरेको हुनसक्छ । तर सेनालाई बाध्य पारेर अनेकन जिम्मेवारी दिने र आफ्नो जिम्मेवारीका बारेमा सुसूचित गराउनका लागि रेडियो चलाउन खोज्दा कू देख्ने लोकतान्त्रिकहरुको अलोकतान्त्रिक फूलो परेका दृष्टिकोणहरु पनि सार्वजनिक भएका छन् । जुन अस्वीकार्य छन् ।
जव कि जहाा कुनै सुरक्षा निकाय, सरकार, राजनीतिक दलहरुले स्थिति असामान्य ठान्छन्, त्यस्ता क्षेत्रमा जब एउटा सैनिक जवान उभिन्छ, सबै सामान्य रुपमा चल्ने गरेका छन् । भर्खर सम्पन्न ६ क्षेत्रको स्थानीय तहको निर्वाचनमा सेनाले परैबाट निगरानी गरेको थियो, जसका कारणले सहज रुपमा निर्वाचन सम्पन्न हुनसक्यो । असाध्यै बिबादित २ नम्बर क्षेत्रको स्थानीय तहको निर्वाचन असोज २ गते हुादैछ । त्यसमा पनि सेनाले परैबाट निगरानी गर्ने तैयारी गरेको सूचना प्राप्त भएको छ । यो निर्वाचन पनि सहज ढंगले सम्पन्न हुनेछ । निर्वाचन अघि उठेका अराष्ट्रिय, बिखण्डनका श्वरहरु सुकेर गएका छन्, कारण नेपाली सेनाले यस्ता आवाजहरु उठे समन गर्न सक्षम रहेको चेतावनी जो दिएको थियो । १ सय २६ जातिको नेपाल, आफैमा विविधतामा एकता, नेपालको विशेषता हो । यही विशेषता जोगाउन नेपाली सेना कृत संकल्पित छ । सक्रिय र उद्देश्यप्रेरित छ ।
सेनाले सञ्चालन गर्ने रेडियो, घर छाडेर परपरसम्म काममा खटिएका सैनिक जवानको आवाज घरसम्म पुर्‍याउने माध्यम पनि बन्छ । संस्कृति, इतिहास, राष्ट्रिय गौरवगाथा विकसित गर्ने साधन पनि हुनसक्छ । सैनिक आवाजले जनता र सेनावीचको सम्बन्धलाई र जनताको दायित्व तथा जनआवाजले सेनालाई प्रेरित पनि गर्न सक्नेछ । यसकारण पनि सेनाले चलाउने भनिएको रेडियो आफैमा स्कूल, कलेज, विश्वविद्यालय बन्नसक्छ । आजसम्म राजनीति नगरेको सेनाले रेडियो सञ्चालन गर्दैमा राजनीति हुन्छ भन्नु गलत मानसिकता मान्नसकिन्छ ।
सैनिक आवाज जब रेडियोमा घन्किने छ, तव बालकदेखि बृद्धसम्म, युवादेखि प्रौढसम्म राष्ट्रिय भावनाले ओतप्रोत पार्न सकिने छ । राष्ट्रियता रहे न राजनीति गर्ने हो । १९७५ मा सिक्किम भारतमा मिलाइयो, अव सिक्किमको राजनीति भारतीय राजनीति बनिसकेको छ । नेपालको राजनीति नेपाली राष्ट्रियतामा आधारित हुनुपर्छ, यसका लागि सैनिक रेडियोले सकारात्मक र प्रभावकारी भूमिका खेल्नसक्छ । यो विश्वास पनि हो ।
नेपाली सेनाले जहिले पनि संविधानले निर्धारित गरेका मार्गमा चलेको छ । यो परम्पराले पनि सेनालाई राजनीतितिर डोर्‍याउन सक्दैन । जब सेनाप्रति जनविश्वास जब्बर छ भने राजनीतिक व्यक्तिहरु सेनामाथि किन अविश्वास गरिरहेका छन् ? यो आशंका जनआकांक्षा विपरित छ । रेडियो भयो भने सेनाले आफ्ना आवाज जनतासम्म पुर्‍याउन सक्छ, जनताले यही रेडियोमार्फत सेना र सरकारसम्म जनमत प्रशारण गर्न पनि सक्छ । सेनालाई जत्ति पनि देशको भरिया बनाउन सकिन्छ, तर कुनै दलविशेषको सम्पत्तिका रुपमा साँघुर्‍याउन खोज्नुचाहिं अलोकतान्त्रिक राजनीति मात्र हुनेछ ।
सेना भनेको बन्दुकमात्र हो भन्ने मानसिकताबाट राजनीतिक प्राणीहरु मुक्त हुनुपर्छ । सेना भनेको कलम पनि हो, आवाज पनि हो, भावना पनि हो, तरवार पनि हो । लिडे भएर बसेको राजनीतिजस्तो होइन सेना, ढिडे भन्ने गाली खाएर पनि बाँच्न सक्दैन सेना । सेना बाँच्ने र उसको महत्व कायम रहने भनेको जनताको विश्वासले हो, राष्ट्रको आवश्यकताले हो । स्कूल, कलेज चलाएको, प्राकृतिक विपतको साथी बनेको, बाटो खनेको सेनाले अव रेडियोजस्तो अर्को एउटा विश्वविद्यालय खोल्ने तैयारीमा जुटेको छ । हाम्रो साधुवाद छ । सेना बन्दुकमात्र होइन, कलम पनि हो । सेना आदेश मान्नेमात्र होइन, आवाज पनि हो । जुन आवाज रेडियोमा सुन्न पाइनेछ । नेपाली जनताको आवाज रेडियोमा घन्किने छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper