banner
banner

हेक्का राखौं, ख्रुस्चेव त लखेटिएका थिए

राजन कार्की- 
जनता सहन्छ, अति सहन्छ तर अतिसार भएपछि जनता उठ्छ र जनताले आफ्नो प्रतिक्रिया जनाउँछ । विश्व परिवर्तनका घटनाक्रम अथाव नेपालकै सन्दर्भका परिवर्तनका घटनाक्रम पनि यस्तै यस्तै देखिन्छ ।
अति गर्नु अतिसार नगर्नु । यो उखान र राजनीतिक अतिवाद उस्तै हुनपुगेको छ । सुशासनविरुद्ध कूशासनको चक्र चलाउनेहरुले देश र जनताविरुद्ध अतिमात्र होइन, अतिसार नै गर्न थालेका छन् । यो सह्य विषय हुनसक्दैन ।
हामी संग्रामसित त्यति डराउँदैनौं, जति अधीनतासित डराउँछौं, यसै भनेका थिए नाट्यकार वालकृष्ण समले । अधिक अधीनता हुँदा जनताले निडर संग्राम गरेकै हुन् र पद्धति परिवर्तन गरेकै हुन् । नीति परिवर्तन हुनसकेन, नियति जस्ताको तस्तै रह्यो । भाग र भागबण्डा खोज्ने गल्ती गर्न तम्सिने सबै भए, बिधिको भार बोक्न कोही तैयार भएनन् । देशलाई आत्मनिर्भर, स्वाभिमानी र सम्पन्न बनाएर म अमर हुन्छु भन्ने धारणा नै राजनीतिमा नभएपछि कसरी देश बन्छ ?
लोकलज्जा मात्र छैन, बाँकी साधन र स्रोतमात्र होइन, हर दृष्टिले सम्पन्न मुलुक हो । लोकलज्जा नहुँदा नेता नगरबधुजस्ता लाभमात्र लिने भए, जनता गरीव हुँदै गएका छन् । शासन र प्रशासनमा बस्नेको पुँजी भनेको नैतिकपन हो भन्ने भावनाको विकास नै भएन । नेता र प्रशासक तथा तिनका आफन्तजन सम्भ्रान्तपन देखाएर चम्किने, गम्किने, आमनागरिक सधैं हाहाकार र अभावमा बााच्नुपर्ने ? जुन देशमा यस प्रकारको थिति बस्छ, थिति मौलाउँदा, प्रशासन र राजनीति व्यवसाय बनिरहन्छ । त्यो देश नेपाल हुनसक्छ र नेपालजस्तै कंगाल । हामीसँग एउटा देशमा चाहिने सबै गुणहरु छन्, नेतृत्वमा हुनुपर्ने गुणबिहीनताले देश खोक्रो बन्यो, दिनदिनै बोक्रो बनिरहेछ ।
हो, हरेक परिवर्तनमा जनताको उवालले निर्णायकत्व भूमिका खेल्यो । ०६३ सालको जनआन्दोलन जननिर्णायक बनेको पछिल्लो उदाहरण हो । यो उवालको ज्वारभाटाले त व्यवस्था, धर्म, पद्धति नै परिवर्तन गरिदियो । आन्दोलनभन्दा पनि जनसुनामी थियो त्यो । सलह जसरी जनता उठ्न समय लाग्छ, जब जनसुनामी यसरी उठ्छ, त्यसले सोत्राम पारेर परिवर्तन ल्याउँछ । अन्तरकारण जेसुकै भए पनि नेपालको सन्दर्भमा  लोकतन्त्र जनसुनामीको देन हो । जनताले जनताको सर्वाधिकार खोजे, खासेर लिए । के त्यो जनताको स्वराज, सर्वाधिकार जनताको हातमा छ त ? जनताको हातमा त्यो स्वराज भएको भए लोकतन्त्र यसैगरी गनाउने झारपात भएर रहन्थ्यो ? यो लाखको प्रश्नको बृहद मिमांसा गर्ने कि नगर्ने ? समयले राजनीति, समाज दुबैलाई झकझक्याएको हुनुपर्छ ।
किन पनि यो प्रश्न यक्ष प्रश्न हो भने नेता र जनतावीच, सरकार र जनतावीच, संसद र जनतावीच विश्वासको संकट बढ्दै गएको छ । अन्तरविश्वासको अभावले राष्ट्र कमजोर, झन झन कमजोर बनिरहेको छ । राष्ट्रभित्रै विश्वास भएन भने अन्तरराष्ट्रले विश्वासको दृष्टिले कसरी हेर्छ र ?
जनआन्दोलनमा घरघरबाट जनउवाल उम्लिएको थियो । परिवर्तन आएको १२ वर्षमा परिवर्तनले एउटा आकार, गति र प्रगतिको पाइलो सार्न नसकेपछि निराश बनेको त्यो उवाल जिम्लिसक्यो, चिस्सिएको छ । यसरी जनउवाल चिस्सिनु, जिम्लिनु भनेको अधिनायकत्वलाई प्रोत्साहन दिनु हो । जनताको मौनतामा समर्थन देखिरहेका नेतृत्व तह झन झन हौसिएर लोकतन्त्रको आवरणमा अधिनायकत्वको साम्राज्य फैलाइरहेका छन् ।
छ, जनतामा नेतृत्वप्रति, शासन–प्रशासनप्रति घृणाभाव, दयाभाव पालेर उकुसमुकुसिएका छन्, उदास र निरास छन् । यो नैराश्य बिस्फोट नहोस्, बिस्फोट भयो भने अर्को जनसुनामी आउनेसक्छ ।
जनसुनामी आयो भने हिजोको नेतृत्व र पद्धति जसरी लतारियो, आजको पद्धति र नेतृत्व ख्रुश्चेव लखेटिएझैं लखेटिन सक्छ ।
सिंहदरवार र शितल निवास बिधिले चल्न सकेको देखिदैन । संसद बिधिमा बाँधिएको छैन । प्रशासन बिधि मिच्दै गइरहेको छ । यी सबै बिधिलाई राजनीतिक प्रविधि बनाउने ठूला दलहरु नै हुन् । यिनको राजनीतिक प्रविधिका कारण परिवर्तन पातलिदै गएको छ, विदेशी प्रभावशाली बन्दै गएका छन्, जसका कारण हाम्रा नेतृत्वपंक्ति कठमूल्ला हुन् कि कठपुतली छुट्याउनै नसकिने भइसकेको छ ।
लोकतन्त्र भनेको स्वाभिमान हो । कठमूल्ला अथवा कठपुतलीसाग स्वाभिमान हुन्न । परिवर्तनकारी र परिवर्तनका सञ्चालक भनेका प्रचण्ड, देउवा, ओली हुन्, अरु ससाना सहयोग नेताहरु छन् । जम्माजम्मी १२ जना निर्णायक नेतृत्व छन्, यी बाह्रैजनासाग स्वाधीनता, स्वाभिमानको मात्रा कति छ, मापन गर्नैपर्दैन । किनभने यिनीहरुलाई कार्यकर्ताको जय जयकार सुनेर आत्माभिमानी बन्दा स्वाभिमानको सुराल फुस्केको पत्तै हुँदैन ।
इतिहास साक्षी छ– जनताको समर्थन र लोकप्रियताको गलत प्रयोग गर्ने खु्रश्चेव अन्तत: नूनखानीमा लखेटिएका थिए ।
हाम्रा नेताहरुले जनताको विश्वासको गलत प्रयोग गरिरहेका छन् । यिनीहरुले गलत मार्ग छाडेनन्, आफूले आफैलाई सुधारेनन्, जनताप्रतिको जिम्मेवारी, जनादेशको पालना गर्न चुके भने यिनलाई जनताले ख्रुश्चेवलाई लखेटेजसरी नूनखानीमा नभए पनि भारततिर अवश्य लखेट्ने छन् । त्यसैले हाम्रा नेताहरुले पराईको निर्देशनमा होइन, नेपाली जनताको जनादेशमा आफ्नो भूमिका खोज्नु उपयुक्त हुनेछ ।
भनिन्छ, सहाराको मरुभूमिमा बेडोइन्स जातिका फिरन्ते मानिसहरु बस्छन् । उनीहरु घर बनाउादैनन् । त्यो जाति र हाम्रा नेताहरु उस्तै उस्तै काँटका अथवा एउटै बर्गका प्राणी हुन्जस्तो लाग्छ । किनकि यिनकै कारण राष्ट्र बिचल्लीमा परिसकेको छ । के छ सुरक्षित ? जब स्वार्वभौमिकताको द्रौपदीको चीर हरण भएझैं दिनदिनै बलात्कार भइरहेको छ र पनि संसद र सरकार मौन छ । जनता छटपटी र हुटहुटीमा छन्, तिनीहरुप्रतिको कर्तव्य निर्वाह गरिरहेका छैनन् । यिनलाई आफ्नै खुशी, आफ्नै सुखको चिन्ता बढी देखिन्छ । यिनीहरु र सहाराको मरुभूमिको घुमन्ते बेडोइन्स जातिमा के भिन्नता रह्यो त ? न तिनको पहिचान थियो, न यिनको पहिचान छ ।
लोकतन्त्रभन्दा राम्रो व्यवस्था अरु छैन भनिन्छ, हाम्रो लोकतन्त्रमा कहाा देखियो चाँदीको घेरा ?
कुनै बेला अमेरिकाले पनामामा नोरियगालाई उठायो । नोरियगालाई नचाउनु नचाएर फाल्ने पनि अमेरिका नै थियो । आज त्यही उदाहरण नेतामा देखिदैछ । कोही दिल्ली, कोही बेइजिङ, कोही वाशिङ्टन, कोही युरोपियन र स्क्याण्डेनेभियन मुलुकहरुबाट परिचालित छ । अव त धर्मका नाममा भेटिकन नेपाल पसिसक्यो । बेलायतको गार्जियन पत्रिकाले लेखेको छ– नेपालमा विद्यमान गरिव र सिमान्तकृत जातिहरुलाई पैसा दिएर किश्चियन बनाइादैछ । र, कुनै दिन शक्तिशाली गोर्भाचोभका एस म्यान नबनेर शेभरद्नाज्देले धर्मयुध्द सुरु गरेका थिए । नेपाललाई शेभरनाज्दे अथवा मलेसियालाई सम्पन्न बनाउने ली क्वान युको खाँचो छ । त्यो छवि र छटा कुन नेतामा देखिन्छ र ? जे देखिन्छ, सबै त राजनीतिक भोरजूवामा मदमस्त भएर झुलिरहेका देखिन्छन् ।
यो बेहालत भएका बेलामा सिंगापुरलाई एसियाली युरोप बनाउने ली क्वान यु भए हुन्थ्यो भनेर कल्पिनुको विकल्प के छ र हामीसँग ?
एउटा अर्को उदाहरण चीनबाट पनि सिक्न सकिन्छ । चीनमा माओ र च्याङकाईसेकवीच डरलाग्दो बैचारिक द्वन्द्व थियो । जापानले चीनविरुद्ध धावा बोल्नासाथ दुबै एक भएर राष्ट्रिय संकटको सामना गरे । नेपालका सामु त पाइला पाइलामा राष्ट्रिय संकट खडा छ । हाम्रा नेताहरु आ–आफ्नै निरो धून बजाइरहेका छन् । यिनले स्वाधीनतालाई कति महत्व दिएका छन्, अव पनि हेर्न बाँकी छ र ?
सुतुरमुर्ग शत्रुबाट बच्न टाउको बालुवामा घुसारेर आत्मरती गर्छ । ठ्याक्कै त्यही शैलीमा हाम्रा राष्ट्रका सबैखाले सञ्जाल, सञ्चालकहरु भाषणका माध्यमबाट आफूलाई पानीमाथिको ओभानो बनाएर राष्ट्रलाई संकटबाट घोर संकटमा धकेलिरहेका छन् । संकटमोचक बन्नुपर्नेको यो सुतुरमुर्गे चालाले मुलुक सहज बन्नसकेन । नेता जब देशलाई बेश्या बनाउन तैयार हुन्छ, त्यो देशको भविष्यको चिन्ता देशवासीले गर्नुपर्छ । जनशैलाव बनेर ख्रुश्चेव लखेट्नसक्ने जनता हुन् भन्ने मनोभावको सााचोमा ढालिनुपर्छ । नेता दिशाभ्रम भएका बेलामा देशको भरोशा भनेको जनता नै हो ।
नीतिशास्त्रमा चाणक्य नीतिकारका रुपमा चर्चित छन् । जसरी बिलासी, अनाचारी, दुराचारी, आलसी महानन्दले आचार्य चाणक्यको बेइजत गरे, त्यसपछि चाणक्यले जबसम्म महानन्दको रगतमा जनै चोप्दिन, तवसम्म जनै लाउदिन भनेर किरिया खाए । चाणक्यले दासी मुरापुत्र चन्द्रगुप्तलाई जनदायित्वको चास्नीमा यसरी घोले कि चन्द्रगुप्त चाणक्यको शिक्षादीक्षामा पारङ्गत भए । अन्तमा चन्द्रगुप्तले महानन्दको बध गरेपछि उसको रगतमा चाणक्यले जनै चोपलेर प्रतिज्ञा पूरा गरी आफ्नो ब्राम्हणधर्मलाई निरन्तरता दिएका थिए । यसरी घोर पापाचारको अन्त भएको थियो । के नेपालमा फैलिएको अव्यवस्था, अराजकता, अनीतिको पापाचारका लागि एक चाणक्य र एकजना चन्द्रगुप्तको आवश्यकता खड्किएन ?
नाट्यसम्राट वालकृष्ण समले भनेजस्तो अधीनताको साङ्लो तोड्न जनताले कम्मर कस्नुपर्ने बेला भएन र ? जनता जागे भने बिग्रेका नेताहरुले सच्चिने अवशर पनि त पाउने थिए ।
जनता जगाउने कुनै नागरिक समाज बोलिरहेको छैन, न त बुद्धिजीवीहरु नै । सबै थाहा छैन, कुन प्रकारको मोहनीमन्त्रको पासोमा परेर मौन रहेका हुन् कुन्नी, राष्ट्रको बित्रिव्यवस्था बिग्रदै गएको छ, खबरदारसम्म नभन्नु दु:खद छ । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper