banner
banner

छोरीको साहसलाई सलाम

कांग्रेसका नाम चलेका नेता छन्, जसले एउटै भुँडीबाट निक्लेको भाईको दुबै मिर्गौला फेल हुँदा श्रीमतीले हुन्न भनेपछि आफ्नो एउटा मिर्गौला दिएर भाइलाई बचाएन् । ती नेता समाजवादी रे । उनी समाजवादको व्याख्या गर्छन् । सिद्धान्तको राजनीति बगार्छन् ।
तर, समाजमा सरिता भन्ने एउटी छोरी देखिइन् जसले भर्खर आफ्ना बाबु हिराकाजी महर्जनलाई कलेजो दिइन्, कलेजो प्रत्यारोपणपछि बाबु बाँचे । आफ्नो कलेजो दिएर बाबु बचाउने सरितालाई सलाम छ । छोरीलाई कम आँक्ने, भ्रुणहत्या गर्नेहरुले सरितातिर हेरुन् ।
खबरअनुसारं महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले बाबुलाई कलेजो दिएकी हुन् । गतहप्ताको आइतबार मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले पत्रकार सम्मेलन नै गरेर असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साहिली छोरी सरिताको प्रशंसा गरेको थियो । छोराछोरीलाई कलेजोका टुक्रा भन्ने सामाजिक भनाइ परिवर्तन भएको छ– सन्तानका लागि बाबुआमा पनि कलेजोको टुक्रा नै हुन् ।
बाबु हीराकाजी भन्छन्– मैले जीवनको आशा मारिसकेको थिएँ, अब बाँच्दिन भन्ने लागेको थियो, तर छोरीले आफ्नै कलेजो काटेर दिन तयार भइन्, दिइन्, मैले नयाँ जीवन पाएँ, म छोरीप्रति गर्व गर्छु । भूकम्पको डरले पिउने बानी लगायो, त्यसैले कलेजो सिध्यायो, म कसैलाई रक्सी नपिउन सल्लाह दिन्छु । यो हीराकाजीको स्मरणयोग्य अभिव्यक्ति हो ।
उनले अगाडि भने– मेरो उपचार मनमोहन हृदयरोग केन्द्र, महाराजगञ्जमा भइरहेको थियो । त्यहाँका चिकित्सकहरूले कलेजो प्रत्यारोपणका लागि भारतमा जान सल्लाह दिएका थिए । तर भारतमा एक करोड ५० लाख लाग्ने बताएपछि मेरो अवस्थाले भ्याउने कुरै भएन । पछि कलेजो विशेषज्ञ डा. दीपेश गुरुवाचार्य र डा. पुकारचन्द्र श्रेष्ठसँग भेट भयो । उहाँहरुको सल्लाहमा मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा कलेजो प्रत्यारोपण भयो ।
छोरी सरिता भन्छिन्– बुबालाई बचाउने ठूलो इच्छा थियो, बुबालाई बचाउन मैले आफ्नो कलेजो दिने निर्णय गरें । बुबालाई त बचायौं, अब आमाको चिन्ता छ, आमाको दुबै मिर्गौला फेल भएकाले ठूलो समस्यामा छौं  । भगवानले आमालाई बचाउने उपाय पनि देखाउला । अपरेशन सफल हुनु पनि भगवानकै देन हो भन्छिन् सरिता ।
छोरी भनेपछि हेलाँ गर्ने चलन छ समाजमा । छोरी जीवन पनि त हुन् । छोरीलाई शिक्षा दिनसके जिवन्त हुनेरहेछन्, किन सिक्दैन, चेतना छर्दैन सरकार । हामी अन्धविश्वासमा छौं, छोरीप्रतिको विश्वास छर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper