banner
banner

पैसा लिदै सरुवा गरिदै

जति आकर्षक ठाउँ, सरुवा हुन उति महगो । विजय गच्छदारले कर्मचारीहरुलाई स्थानीय निकायमा सरुवा गर्ने क्रममा व्यापक आर्थिक चलखेल गर्न थालेका छन् । कर्मचारीहरुले खुलेरै भन्न थालेका छन्, पायक पर्ने र अलि आम्दानी हुने ठाउँमा सरुवा हुनका लागि १० लाखसम्म दिनुपर्ने स्थिति आयो । यसरी पैसा खुवाएर सरुवा भएका कर्मचारीहरुले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिन्छन् भनेर कल्पना गर्नु आश्चर्य हो कि होइन ?
काठमाडौं । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारलाई साउनमै दशैं आएको छ । उनलाई बोलक्कड, भाषणवाज सचिव भनेर चिनिने दिनेशकुमार थपलियाले समेत साथ दिएका छन् । मन्त्री र सचिव भएर स्थानीय निकायमा कर्मचारी खटाउने विषयलाई आँखा चिठ्ठा बनाएका छन् । कर्मचारी संगठनको समेत आपत्ति र यो कुरो प्रधानमन्त्रीको कानसम्म पुगे पनि प्रतिक्रिया नआएपछि प्रधानमन्त्री देउवाको समेत यो प्रकरणमा हात रहेको शंका गरिदैछ ।
मन्त्रीको काम चिट दिने र सचिवको काम सूची बनाएर धमाधम नगर, उपमहानगर र महानगरहरुमा कर्मचारी खटाउने हुनथालेको छ । अरु जेसुकै होस्, कर्मचारीहरुलाई भनेको ठाउँमा दाम लिएर काम दिने सचिवको धन्दाले मन्त्रालयमा भीड नै लाग्न थालेको देखिन्छ । सचिवले यसका लागि केही कर्मचारीलाई राम्रो ठाउँमा जान खर्च गर्नुपर्छ भन्ने दलाल नै बनाएका छन् । खासगरी सबैभन्दा बढी बजेट भएको डोलिडारमा ५० लाखको खेलामा डाइरेक्टर फेरिएको हल्ला व्याप्त भएको छ । सांसद पद नै बेच्ने गच्छदारले यसरी पैसा कमाउन थालेपछि संसदको चुनावमा कति खर्च गर्लान् भन्न थालिएको छ ।
मन्त्रीले करारमा, अस्थायीमा कर्मचारी नियुक्त गरेर पदको दुरुपयोग पनि गरिरहेका छन् । ०४६ सालको परिवर्तनपछिको १२ वर्षलाई कालोवर्ष बनाउन मुख्य भूमिका खेलेका शेरबहादुर देउवाको यो कार्यकाल पनि भ्रष्टाचारको स्वर्णयुग बन्नथाल्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper