banner
banner

पदयात्राका लागि स्वर्ग हो नेपाल

 रोशन कार्की - 
यो भनाइ हो नर्वेका राजदूत तोरमोड पिटर्सनको । उनले पदयात्राका लागि नेपाल स्वर्ग हो भनेका छन् । तर यो स्वर्गलाई स्वर्गजस्ता बनाउने खाका, सोच, प्रतिवद्धता हाम्रा राजनीतिक नेतृत्वमा कहिल्यै विकास भएन ।
नर्वेका राजदूत चेल तोरमोड पिटर्सनले आफ्नो नेपालको चारवर्षे कार्यकाल स्मरणीय रहेको पनि बताए । यही सन्दर्भमा उनले नेपाललाई पदयात्राको स्वर्ग भनेका हुन् । यद्यपि नेपालको शान्ति प्रकृया र संविधान निर्माणमा नर्वेको आर्थिक सहयोग रह्यो तर नर्वेले नदेखिने गरी नेपालका जातजातिलाई भड्काउने गरेको आरोप पनि लागेको छ । एक नागरिक समाजका नाम चलेका व्यक्ति र उनको साउथ एसियासम्बद्ध पत्रिकालाई ठूलो आर्थिक सहयोग गरेको खुलासामा पनि नर्वेको ठूलै चर्चा भएको थियो ।
यद्यपि राजदूतले जाने बेलामा दुई चरणको निर्वाचन सम्पन्न गरेर नेपालले ठूलै उपलव्धि हासिल गरेको र स्थानीय तहको तेस्रो चरण, प्रदेश र संघको निर्वाचनपछि नेपालले पूर्ण राजनीतिक स्थायित्व हासिल गर्ने विषयमा आफू आशावादी रहेको पनि बताएका छन् । उनले सबै चरणको निर्वाचनपछि नेपाल समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास पनि गरेका छन् । राजदूतले नेपाललाई स्वर्गजस्तो त भने, फर्केपछि त्यो प्रकारको प्रचार गर्छन् कि गर्दैनन्, नेपालका लागि त्यो कुरा महत्वपूर्ण हुनेछ ।
नेपालमा जुनसुकै राजदूत आए पनि उनीहरुले नेपाललाई प्रशंसा नै गर्ने गरेका छन् । उनीहरुले कूटनीतिक मर्यादाविपरितका क्रियाकलापमा पनि नेपाल सरकारले छुट दिएकाले उनीहरु बढी खुशी देखिन्छन् । खासगरी पश्चिमा राजदूतहरु उत्तरतिरको बढी चासो राख्छन् र नेपालमा जातीय द्वन्द्व बढाउन भूमिका खेल्छन् । उनीहरुको चासो धर्मपरिवर्तनमा पनि रहन्छ । जतिसुकै आलोचित भए पनि नर्वेले आर्थिक सहयोग चाहिं गरेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper