काठमाडौं, २१ असार– भारतीय राजदूत मञ्जिवसिंह पुरीले सत्ता समर्थक राष्ट्रिय जनता पार्टीलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन निर्देशन दिएका छन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टै र पुन अध्यक्षमण्डलका सबै सदस्यहरुलाई लैनचौरस्थित भारतीय दूतावास बोलाई राजदूत पुरीले सरकारलाई दिएको समर्थन फिर्ता नलिन निर्देशन दिएका हुन् । 

दिउसो राजपा अध्यक्ष मण्डलको बैठक बसिरहेका बेला संयोजक ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका थिए । देउवासँगको भेटवार्ता लगत्तै ठाकुर भारतीय राजदूतलाई भेट्न लैनचौर गएका थिए । विजुलीवजारस्थित कार्यालय जारी बैठक बीचैमा छोडेर हिंडेका ठाकुर लैनचौर पुगेपछि विजुलीवजारको बैठक पनि लैनचौरमै राखिएको थियो । राजपा बैठक भारतीय दूतावासमा अढाई घन्टा चलेको थियो । 

बैठकमा भारतीय राजदूत पुरी, राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव, अनील झा र राजकिशोर यादव सहभागि थिए । राजपासँग जनसमर्थनको स्ट्रेन्थ नभए पनि नेपालको राजनीतिक प्रक्रियालाई अझै कसरी अल्मल्याउने भन्ने विषयमा दूतावासमा छलफल भएको थियो । राजपा र वर्तमान सरकारको नेतृत्वमा रहेका दल नेपाली कांग्रेस तथा माओवादी एउटै शक्ति भएको र यी तीन शक्तिबीचका हुने वार्ताहरुलाई बाहिर देखाउन मञ्चन गरिएको नाटकका रुपमा मात्रै बुझिने गरिएकाले आफूहरु अप्ठ्यारोमा परेको गुनासो राजपा नेताहरुले गरेका थिए । 

‘हामी आन्दोलनरत मधेसी दल हौं भन्दा कसैले नपत्याउने परिस्थिति भयो’ राजपाका नेता महन्थ ठाकुरको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘सरकारलाई दिएको समर्थन फिर्ता नलिए मधेसमाथि दमन र अन्यायको दोष पनि हामीलाई नै लाग्ने भयो ।’ भारतीय राजदूत पुरीले वर्तमान सरकार र राजपा एउटै उद्धेश्यले बनेकाले अहिले नै हतारिएर समर्थन फिर्ता लिए अझै अप्ठ्यारो हुन सक्ने भन्दै समर्थन फिर्ता नलिन निर्देशन दिए । 

‘तपाईंहरुको उद्धेश्य पूरा गर्न यो भन्दा सजिलो सरकार आउँदैन, कठोर प्रयासले मात्रै यतिसम्मको गठबन्धन सरकार बनाइएको छ’ राजदूत पुरीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘समर्थन फिर्ता लिएर सरकारलाई कमजोर बनाउनु हुँदैन । बरु सरकारसँग सम्बन्ध राखेरै विद्रोही शक्ति बन्न सकिन्छ ।’ राजपाका नेताहरुले भने चुनावमा जाँदा सोचेजस्तो नतिजा नआउने गुनासो गरेका थिए । 

चुनावमा जाँदा उपयुक्त नतिजा आउने परिस्थिति नभएको र त्यसै कारण आफूहरुलाई मधेसीका प्रतिनिधिका रुपमा स्वीकार गर्ने अवस्था अन्त्य हुन सक्ने चिन्ता उनीहरुको थियो । प्रदेश नम्बर २ मा स्थानीय चुनाव गर्नु अघि संविधान संशोधन गर्न नसकिए राजपाको माग हुँदैमा संविधान संशोधनको औचित्य स्थापित गर्न नसकिने उनीहरुको गुनासो थियो । ‘स्थानीय चुनावमा भोट नल्याएपछि हामीले भनेजस्तो संविधान संशोधन गर्न थोडी अरुले मान्छ र ?’ उनीहरुको सामुहिक भनाई थियो । @ chakrapath