banner
banner

बलात्कारीलाई मृत्युदण्डको माग

काठमाडौं । एकातिर कोरोना र भोकमरी, अर्कोतिर बलात्कारको महामारी । दुधे बालिकादेखि ९० वर्षका बृद्धासमेत बलात्कारका सिकार भएका छन् । कति घटना सार्वजनिक हुन्छन्, कति गाउँघरमै मिलाइन्छन् र कति बाहिर नै आउँदैनन् । बलात्कारको पीडा सहन गर्न नसकेर पीडितले आत्महत्या गर्नुपरेका घटनाले समाजलाई, सरकारलाई पोलेको देखिदैन ।
पीडक बचाउन समाज नै लाग्छ । पीडक बचाउन राजनीति, सरकार, प्रशासन र प्रहरी पनि लाग्छ । महिला घर, विद्यालय, मन्दिर, मेलापात, गोठाला, सडक, बाटोघाटो, बजार, कार्यालय कहीँ पनि सुरक्षित छैनन् । महिला जंगलतन्त्र, राक्षसी बलात्कारले थिचिन थालेका छन् ।
बाबुसँग छोरी सुरक्षित हुन छाडे । दाजुाभाई, नातापाता पनि बलात्कारी भएर निस्किए । नचिनेका भन्दा चिनेका झन खतरनाक भएर निस्किए । संसदीय समितिमा बलात्कारीको लिङ काट्नुपर्ने माँग उठ्यो, सडकमा प्रदर्शन भइरहेका छन्, यो महामारी देखेरै महिलाहरु आत्तिएका हुन् र महिला पुरुष सबैले माँग गरेका छन्– बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्छ ।
मृत्युदण्ड वा लिङ्ग छेदन बलात्कारका घटना रोक्ने उपाय हुन् कि होइनन् ? नेपालका उत्तर दक्षिण दुबै छिमेकदेखि अमेरिकासम्म मृत्युदण्डको प्रावधान छन्, अलम्बन हुनेगरेका छन् । पछिल्लो समय निर्भया बलात्कार काण्डमा भारतमा मृत्युदण्ड नै दिइयो । नेपालमा मृत्युदण्डको प्रावधान ०४७ सालदेखि हटाइयो, जन्मकैद वा सर्वस्वहरणमा बदलियो । तर यस्ता सजाय पाएकालाई यही सरकार र यिनै राष्ट्रपतिले माफी दिएको उदाहरण पनि छन् ।
हो, ज्यानको बदला ज्यानको, हातको बदला हातको सजायपद्धति पुरातन होला तर नेपालका सन्दर्भमा समाजशास्त्री, नागरिक समाज, अधिकारकर्मीहरुसँग बहस हुनुपर्छ र बलात्कारजस्तो महामारीविरुद्धको उपचार निकाल्नै पर्छ । अन्यथा नेपालमा फुलनदेवीको जन्म नहोला भन्न सकिदैन ।
भारतको उत्तरप्रदेशको मल्लाह जातिकी घोरावापूर्वा गाउँकी गरीव परिवारकी छोरी थिइन् फुलनदेवी । उनको बालविवाह भएको थियो, उनलाई सयौंले बलात्कार गरे । प्रशासन, राज्य, कानुन, प्रहरी, नेता,मन्त्री कसैले उनीमाथि दया गरेनन् । अनि उनीभित्र बिद्रोहको ज्वालामुखी फुट्यो र उनी डाँकु फुलनदेवी बनिन् । डाँकु बनेपछि बलात्कारीहरुलाई एक एक गरेर मार्न थालिन् । फुलनदेवीको डाँकु अवतार सिंगो भारतका लागि एउटा भयानक देवीअवतार नै मानिएको थियो ।
तर, जसले न्याय दिएनन्, तिनीहरुले फुलनदेवीलाई आतंककारी घोषणा गरे । तर पछि उनी समाजवादी पार्टीबाट संसद सदस्यसमेत बनिन् । १९६३ अगस्त १० देखि २००१ जुलाई २६ सम्मको उनको जीवनमा बेन्डिट क्वीन भन्ने फिल्म पनि बन्यो । बलात्कारविरुद्धको फुलनदेवीको बिद्रोह आगो हो, के नेपालले त्यस्तै आगो खोजेको हो ? अन्यथा अहिले बलात्कारका जुन महामारी फैलिएको छ, यो महामारी रोक्नमात्र होइन, रोगै निको पार्ने विधि सबैको सरोकारको विषय हुनुपर्छ ।
हामीले लोकतन्त्र ल्याएको भ्रष्टाचारको महामारी फैलाउन र बलात्कारको महामारी सल्काउन पक्कै थिएन । जनआवाज सुनौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper