banner
banner

ठोरीको सीमामा काँडेतार–बार

   काठमाडौं । पर्साको पश्चिममा पर्ने ठोरी गाउँपालिका वडा ३ का वडाअध्यक्ष सूर्य लामाले वडाको भारतसँग जोडिएको सीमामा काँडेतार नै लगाइदिएका छन् । विकास बजेटले गरेको यो कार्यले संघीय सरकार, सीमावर्ती गाउँ नगरहरु, अर्थ मन्त्रालय र योजनाविदहरुलाई समेत सोच्न बाध्य पारिदिएको छ । तारबार लगाउन सके अतिक्रमणको टण्टै साफ हुनेथियो ।
लिम्पियाधुरा–लिपुलेक, कालापानीका क्षेत्र भारतले आफ्नो नक्सामा हालेको, मानसरोवर जान भारतका रक्षामन्त्री राजनाथ सिंहले राजमार्ग उद्घाटन गरेको, भारतीय सेनाध्यक्षले भारतकै भूमिमा बनाएको प्रतिक्रिया दिएर नेपाली राष्ट्रवादलाई हेपेको विषयमा सडक तातेको छ, संसदमा व्यापक बिरोध भइरहेको छ, तर ठोरी गाउँपालिकाले सीमामा तारबार नै लगाएर नेपाल–भारत सीमामा तारबार लगाउन सके सीमा विवाद सधैंका लागि अन्त्य हुनेछ भन्ने जुन उदाहरण दिएका छन्, त्यो सरकारका लागि गम्भीर विषय बनेको छ ।
यो तारबार पिलर दशगजा छाडेर नम्बर ४३५–१ देखि ४३५ ४ सम्मको ५ किलोमिटरमा लगाइएको छ । यो कार्यमा स्थानीय प्रशासन, प्रहरी, गाउँपालिका अध्यक्ष र गाउँबासीले समेत सघाएको वडाअध्यक्षले बताएका छन् ।
कोरोना संक्रमणको महामारी, लकडाउनको समयमा सावधानी अपनाएर यो तारबार लगाएको र गाउँको सीमाको ३ सय मिटर क्षेत्रमा भने भारतीयले अवरोध गरेकाले तारबार लगाउन रोकिएको छ । जेजति तारबार लगाएको छ, त्यो नेपाल र भारत दुबैतर्फका स्थानीय र नापजाँच गरेरै लगाइएको छ । वडाअध्यक्षले विकास बजेटलाई सीमा सुरषामा प्रयोग गरेको बताएका छन् ।
नेपाल–भारतवीच हरेक वर्ष हुने सीमा विवाद भइरहने र ठोरी क्षेत्र अशान्त हुने अवस्था अव मत्थर भएको उनको दावी छ । त्यसै पनि ठोरी क्षेत्र चोरी निकासीका लागि बदनाम मानिन्छ । यस प्रकारको तारबारले प्रशासन, सुरक्षाकर्मी र स्थानीयका लागि समेत सुरक्षाकवचको काम भएको छ ।
वडाअध्यक्ष भन्छन्– म भारतीयको टार्गेटमा छु । कहिले सीमा मिच्छन्, कहिले कुलो, पुलका विषयमा खिचलो झिक्छन् । तारबार लागेको छ, अव बिबादमा अल्झिनु पर्ने छैन । सरकारले सहयोग गर्ने हो भने भारतसँगका सबै सीमामा तारबार लगाउन सकिन्छ । नियमन गर्न सजिलो हुनेछ । हरेक दिन नेपालीले आवतजावत र अवैध गतिविधिका समस्याबाट सहजता पाउनेछन् । यसका साथ भारतीय जंगली जनावरको आक्रमण पनि रोकिनेछ ।
नेपाल–भारतवीच १८८० किलोमिटर खुला सिमाना छ । विश्वका कुनै पनि दुई मुलुकवीच यसप्रकारको बिना नियमन आवतजावत गर्न सकिने खालको खुला अन्तर्राष्ट्रिय सिमाना छैन । तर नेपाल र भारतवीचको खुला सिमानाका कारणले सबैभन्दा बढी घाटा नेपाललाई भएको छ । भारतले अन्तर्राष्ट्रिय सीमा नियम पालना गरेको छैन । दसगजा मिच्ने, बस्ती बसाल्ने, राजमार्ग बनाउने, पुल पुलेसा, बाँध निर्माण गर्ने र नेपाललाई डुबाउन बनाउने काम भारतले गर्दै आएको छ । २३ जिल्लाका ७७ स्थानमा भारतले ६० हजार हेक्टरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरिसकेको छ । तैपनि नेपालले सीमा अनुगमन र नियमन गर्ने कुनै उपायका विषयमा भारत रिसाउँछ भनेर बहससम्म गरेको छैन । नेपाल यसरी हेपिएर, अतिक्रमित भएर, दबाब र प्रभावमा उकुसमुकुस भएर बाँचेको अवस्थालाई ठोरीका वडा अध्यक्षले चाहे गर्न सकिन्छ भनेर सीमाक्षेत्रका स्थानीय र नेपाल सरकारलाई शिक्षा दिएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper