banner
banner

देशभित्र मीरजाफर कति कति...

लेण्डुपको के कुरा गर्नु, १९७५ मा सिक्किमका लेण्डुप दोर्जीले देशविरुद्ध जे साजिस गरेर भारतलाई सुम्पिदिए, त्यसपछि देशघातकलाई लेण्डुप दोर्जी भन्ने चलन चलेको हो । नेपालमा लेण्डुपहरुको बिगबिगी छ । राजनीति भनेकै स्वार्थका लागि लेण्डुप हुनु हो ।
यस्तै मिर्जाफरको घटना पनि इतिहासमा छ–
अंग्रेजले बंगाली सेनामा लोभीपापी खोज्ने क्रममा नबाबका सेनापति मीरजाफर व्यक्तिगत लाभ हुन्छ भने देशै बेच्न तैयार रहने व्यक्तिका रुपमा भेट्टायो र उसलाई हतियारका रुपमा प्रयोग गर्न थाल्यो । मीरजाफर अंग्रेजले दिएको र यति धेरै सम्पत्ति, शक्ति दिन्छु भनेर देखाएको लोभमा यसरी लोभियो कि उसले सेनापतिको निर्णय हैसियतसमेत अंग्रेजका सेनापति रोबर्ट क्लाइबललाई बुझाइदिए ।
यिनै मिरजाफर प्रवृत्तिलाई अंग्रेजहरु आज पनि हड्डी दिएपछि चुसेर बस्ने कुकुर ठान्छन् । किनभने अंग्रेजले नवाव बनाइदिन्छु भनेको भरमा मीरजाफरले आफ्नो मुलुक, आफ्ना नबाबलाई धोका दिएर अंग्रेजको सेवा गरे । हो, उनले पर्याप्त धन सम्पत्ति पाए तर देशप्रतिको गद्धारीले गर्दा आज पनि मीरजाफर भन्ने व्यक्तिको नाम कलंकको रुपमा लिइन्छ । देशघातकलाई मिर्जाफर भनिन्छ ।
मिर्जाफर अंग्रेजतिर लागेकै कारणले गर्दा भारतमा अंग्रेज हुकुमत झन बलियो हुनगयो । यतिखेर नेपालमा किन मीरजाफरको चर्चा चलिरहेको छ भने संसदमा पेश भएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको क्षेत्र फिर्ता गर्नका लागि संसदमा पेश भएको संकल्प प्रस्तावलाई सभामुखले दुईपटक कार्यसूचीमा राखेर पनि हटाइदिए । सत्तारुढ दलका अध्यक्षको आदेशमा सभामुखले हटाउन बाध्य भए । संकल्प प्रस्ताव हटाउनुको मुख्य कारण भारत रिसाउँछ भनेर हटाइएको थियो । यही हो भारतका सामु लम्पसार नीति भनेको । देशको आवश्यकता के हो ? जनताको अपेक्षा के हो ? संविधानको मर्म के हो ? सत्ताका लागि यी नेताहरु जति पनि झुक्न र विदेशीका सामु लम्पसार पर्न सक्छन्, कठै भन्नुपर्छ यिनलाई ।
देशभित्र बहादुर शाह चाहिने बेलामा मीरजाफरको बिगबिगी । यो चाहिं नेपालको इतिहासकै कलंकपूर्ण कालखण्ड हुनपुगेको छ । एकातिर देशभक्तिका कुरा, कामले देशघातक निर्णय । एकातिर नेपाललाई टुक्य्राउन खोज्ने र अर्कातिर देशका सीमा अतिक्रमणमा बोल्न नसक्ने । हाम्रो शासन व्यवस्था, संविधान विदेशीको इसारामा चल्न थालेकाले नेपाल गम्भीर संकटमा परेको देखिदैछ । नेपाली जनताले संचेतन नहुने हो भने नेपालको अस्तित्व मटियामेट हुने खतरा भयो । जोखिम बढ्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper