banner
banner

नेपालको नक्साको चुच्चो खोई ?

स्वाभिमानले बाँच्छ देश । 
काठमाडौं । मंसिर ११ गते, माटोवादी पत्रिका गोरखा एक्सप्रेसद्वारा आयोजित गोष्ठी आयोजना गरेको थियो । कार्यक्रममा डा.सुन्दरमणि दीक्षित, बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, प्रा.रिता उपाध्याय, बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, प्रा.प्रियम्वदा आचार्य,  बरिष्ठ पत्रकार तीर्थ कोइराला, नागरिकता अभियन्ता साध्यबहादुर भण्डारी, युवाकवि शशी श्रेष्ठले स्वाभिमान जगाउनु पर्ने र स्वाभिमानले देश बाँँच्छ भन्ने विषयमा गहन विचार व्यक्त गरेका थिए । 
युवा कवि शशी श्रेष्ठको मन्तव्यबाट नेपालीको स्वाभिमान मर्दै गएको र यसलाई जागरुक बनाउन सबै लाग्नुपर्ने विचारलाई सबैवक्ताले आआफ्ना तरिकाले जोश र जाँगरका साथ उठाउने काम भयो । 
स्वाभिमान जगाउन स्वाभिमानी हुनुपर्छ भन्दै डा.सुन्दरमणि दीक्षितले कुरो कालापानी क्षेत्रको हो । नेपाली भूभाग मिचिएकोमा सरकार मौन बस्नु दुर्भाग्य हो भनेका थिए ।  कूटनीतिक माध्यमबाट नेपाली भूभागको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । स्वाभिमान घरघरबाट जाग्नुपर्छ, छोराछोरी विदेश नगएको घर पाउन सकिन्न । विदेश मोहले स्वाभिमान जाग्दैन ।
बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले झण्डै ४ सय बर्ग किलोमिटर सीमा मिचिएको सवाल छ । यस मामिलामा सरकारको सक्रियता देखिन्न । फिर्ता ल्याउँछु भनेरमात्र हुन्न, फिर्ता ल्याउन विशेष पहल हुनुपर्छ । पहल किन भइरहेको छैन भन्ने प्रश्न उठाए ।
कालापानी गीतकी गायिका प्रा. रिता उपाध्याय । माछी मार्न जाउँ न कालापानीमा भन्ने गीत गाएर सुनाइन् । ३० वर्ष अघि यो गीतलाई भारतले प्रतिवन्ध लगाएको थियो । उनले संस्कार र संस्कृति, स्वाभिमान घर, स्कूलदेखि नै सिकाउनु पर्ने र बढ्दो पाश्चात्य प्रभाव घटाउन सबैले सचेतता अपनाउनु पर्ने विषयमा जोड दिइन् ।
बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले ३ सुझाव अघि सार्दै विज्ञ, विशेषज्ञ, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता र कूटनीतिक ज्ञाताको समिति बनाएर सरकारले पहल नगर्ने हो भने कालापानी क्षेत्र फिर्ता ल्याउन सकिन्न । सरकारको सक्रियता अनिवार्य छ । भाषण होइन, काम गर्नुपर्छ भन्ने उहाँको धारणा थियो ।
प्रा.प्रियम्वदा आचार्यले संस्कृत शिक्षा र संस्कारलाई महत्व नदिदा आधुनिकताका नाममा उच्छृङ्खलता बढेको, विदेश जाने होइन स्वदेशमै केही गर्न सिकाएमात्र सन्तानहरु स्वाभिमानी हुने विचार अघि सारिन् ।
यसैगरी बरिष्ठ पत्रकार तीर्थ कोइरालाले सवाल नेपाली भूमिको छ, नेपालीमा स्वाभिमानको छ । भूमि बचाउन स्वाभिमान चाहिन्छ, देश बचाउने स्वाभिमानले हो । हामी पत्रकारले पनि स्वाभिमान भएर काम गर्नुपर्छ । चेतना नजागेसम्म देश स्वाभिमानी हुन नसक्ने विचार थियो उनको । तीर्थ कोइरालाले कालापानी, लिम्पियाधुरा क्षेत्रको नेपालको चुच्चो कता गयो? भन्ने प्रश्न पनि उठाए । साध्यबहादुर भण्डारीले स्वाभिमानी छन् नेपाली, त्यही स्वाभिमानले देश कहिले उपनिवेश नबनेको बताउँदा बताउँदै कम्युनिष्टले राजा फालेको हो भन्ने बिना प्रसङ्ग उठाउँदा केही युवाले प्रतिवाद गरेका थिए । 
गोरखा एक्सप्रेसका सम्पादक राजन कार्कीको सभापतित्वमा भएको सभामा राष्ट्रवादी राजनीतिक जनजागरण अभियानका अभियन्ता समूहले उपस्थितिमा उत्तमकृष्ण कर्माचार्यले ग्रेटर नेपाल पुस्तकका लेखक, प्रकाशक, समीक्षक १३ जना प्रेमसागर पौडेल, डा.शास्त्रदत्त पन्त, दीर्घराज प्रसाई, रत्न संसार श्रेष्ठ, साध्यबहादुर भण्डारी, भरत दाहाल, बुद्धिनारायण श्रेष्ठ, नरेन्द्रप्रसाद उपाध्याय, बसन्त खड्का, पुस्तक सम्पादक राजन कार्की, पुस्तक प्रकाशक रत्नसागर प्रकाशनका प्रमुख मोहनबहादुर केसी तथा पुस्तकका समीक्षकद्वय डा.सुरेन्द्र केसी र डा.प्रेम सिंह बस्नेतलाई सगुन, टीका, माला, टोपी, प्रशंसापत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रमका सभापति सम्पादक राजन कार्कीले कार्यक्रम समापन मन्तव्यको एक अंश यस्तो थियो– चेलीबेटीको अस्मिता दिनहुँ गिजोल्छ
खुला सीमा छ, नेपालीलाई पिरोल्नु पिरोल्छ
बाली पाक्छ लुटेर खान्छ
नुनतेल किन्ने दुई चास पैसा कमाएर ल्यायो, 
कुटेर लान्छ
साँध नमिच भन्यो, देवेन यादवलाई जसरी हातखुट्टा बाँधेर थुन्छ
यो मेरो बारी भन्यो मेरा भारत है भनेर खोक्छ
होइन भन्यो, गोविन्द गौतमलाई जसरी गोली ठोक्छ ।
कात्तिक १६ गते नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकको ३८७ बर्ग किलोमिटर भूमि भारतको नक्सामा हाल्यो । माटो हाम्रो, हकदावी उसको । शासन हाम्रो तालाचावी उसको । हाम्रो स्वाभिमान त तमासा बन्यो ।
मुखले आफ्नो सेना आफ्नै देशमा लैजाउ भन्छ सरकार, नेपालको नक्सा कुन हो, देखाउँदैन सरकार ।
अभियन्ताले नक्सा जारी गर्छन्, चुँइक्क बोल्दैन सरकार ।
टेक्दै टेक्दैन । साँढेलाई छेक्दै छेक्दैन । २ तिहाइको बलियो सरकार, भिजेको परालखुट्टे पो परेछ । 
स्वाभिमान रित्याएर ठहरै मरेछ ।
यो मेरो देश भन्न नसक्ने संविधान, संवैधानिक सरकार, नयाँ नेपाल हो कि गया नेपाल ?
सुखी नेपाली समृद्ध नेपाल ः वीरबलको खिचडी बन्यो ।
चुनाव त इटलीका मुसोलिनीले पनि जितेका थिए । १७ लाख भोट ल्याएर हिटलरले पनि चुनाव जितेकै हो । १९४५ मा हिरोसिमा र नागासाकीमा अणुबम हान्ने म्याक आर्थर नरसंहार देखेर धुरुधुरु रोएका थिए । चीनमा सांस्कृतिक क्रान्ति गर्ने माओले जनताका सामु घुँडा टेकेर माफी माँगेका थिए । तक्षशीला जितेर चक्रवर्ती महाराज बनेको अलेक्जेण्डर दी ग्रेटलाई एउटा भिखारीले मान्छेको विश्वास जितिस् भनेर सोध्दा खिन्न भएर थचक्कै बसेको थियो । १ लाख ४७ हजार १८१ बर्गमाइलको नेपाल आज बैरीले रोटी चुँडेझैं चुडेर खाइरहेको छ । हाम्रो नेतृत्व किन जिब्रो तालुमा टाँसेर बसेको छ ? यी दयाका पात्र हुन्, यिनलाई कति गर्ने दया ? 
माटो बाँचे नेपाल बाँच्छ । नेपाल बाँचे नेपाली बाँच्छन् । नेपालीको स्वाभिमानले देश बाँच्छ । स्वाभिमान मैनबत्ती जसरी पग्लदै गएको छ, स्वाभिमाान बचाऔं ।
भारतले मिचेको सीमा नफर्काउने षडयन्त्र गर्दैछ, कुरै गर्न चाहदैन । स्वाभिमान जगाऔं । देश बचाऔं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper