banner
banner

अहिलेको विरोध लोकतन्त्रमाथिको हमला

काठमाडौं । प्रधानमन्त्री नाखुश भए, कारण रहेछ सांसदलाई ठग, लुच्चा, तेलचोर, ड्राइभर र निजी सहयोगीको भत्ता हसुर्ने, घर हुनेले पनि घरभाडा लिएको प्रचार प्रसार भयो । यस्तो प्रचार हुनु भनेको लोकतन्त्रमाथिको हमला हो, होस् गरौं । प्रधानमन्त्रीले पढ्नुपथ्र्यो– बेलायतमा १२ वर्ष अघि यस्तै प्रचार भयो र प्रचार सत्य भएको, गैरकानुनी काम भएकोले प्रधानमन्त्री गोर्डन ब्राउनले त्यो प्रचारलाई लोकतन्त्रमाथिको हमला भनेनन् । उनले त ती सांसदहरुलाई बोलाएर के हो यो ? भनेर सोधे । परिणाम, ती सांसदले राजीनामा दिए, त्यसपछि बेलायती जनताले ती व्यक्तिहरुलाई कहिल्यै चुनावमा जिताएनन् ।
त्यो हो सार्वभौमिकता भनेको, जनताप्रतिको जिम्मेवारी भनेको, लोकलज्जा र कानुनप्रतिको आदर सम्मान भनेको । त्यसकारण त इमान र नैतिकताको महत्व हुन्छ, स्तुत्य हुन्छ ।
नेपालमा सांसदहरु गैरकानुनी काम गर्छन्, मन्त्रीहरु भ्रष्टाचार गर्छन्, प्रधानमन्त्री तिनको रक्षा कवच बनेर कानुनविरोधी क्रियाकलापको संरक्षणमात्र गर्दैनन्, व्यवस्थापिका संसदका सभामुखलाई आदेश दिएर जेलका अपराधीलाई शपथग्रहण गराउँछन्, शपथ गराएर सांसदलाई जेल पठाउँछन् ।
केपी ओली सरकार काम कम, नाटक बढी, नियमको उल्लंघन ज्यादा गर्दै गएका छन् । प्रधानमन्त्री केपी ओलीको कथनी र करनी हेर्दा लाग्छ, ओली नै संसद हुन्, ओली नै सरकार हुन्, ओली नै कानुन हुन्, ओली नै नेपाल हो ।
श्री ३ राणा शाहीभन्दा चर्को यो श्री ८ को सरकार भएन र ?
ओली सरकार ज्यानमारालाई आममाफी दिलाउँछ, ज्यानमारालाई संसदको शपथ गराउँछ, ज्यानमारा जेलबाट निस्केपछि हेलिकोप्टर चढेर घर जान्छ र फूलमालाले छोपिएर, व्याण्डबाजा ठोकेर खुशीयाली मनाउँछ । लोकलाज त पटक्कै बाँकी रहेन । काशी तिवारीको हत्या मेयर सियाराम कुशवाहले गरेकोमा जनता आज पनि यकिन गर्छन्, तर अदालतले उनलाई बरी गर्छ, ऊ नाचगानसहित घर पुग्छ । मन्त्री प्रभु शाह उनलाई पु¥याउन रौतहट नै पुग्छन् । के हो यो ?
ती मेयरले नगरमा सार्वजनिक बिदा नै घोषणा गर्छन्, नेपालमा शासन छ कि अराजकता ?
नेकपा देख्नै नहुने, देख्यो कि कतै न कतै नियुक्ती दिइहाल्नु पर्ने । ऊ योग्य हो कि होइन ? ऊभन्दा अरु पो योग्य छन् कि ? केही पनि नहेर्ने, कि नाताको, कि नोटको, कि पार्टीको मान्छे भएपछि जागीर दिइहाल्ने प्रवृत्तिले नेकपाको नेतृत्वको ओली सरकारले देशलाई नेकपाकरण गर्दा गर्दै अव त अपराधिकरण पो गर्न थालेको छ ।
बल्ल बल्ल किनेको २ थान वाइडबडी जहाज, त्यो पनि बिबादमा । त्यो पनि नक्कली खरिद, नक्कली बिल, नक्कली बिचौलिया र सक्कली कमिशन खानेहरु होनहार मन्त्री रवीन्द्र अधिकारीजस्ता नेताहरु । ‘दी रोड टु प्रस्प्यारिटी’ जस्तो उपयोगी पुस्तकका लेखक रवीन्द्र अधिकारीले पनि कमिशन खाएको देख्दा यतिबेला जनता लज्जित भएका छन् ।
कांग्रेसका जीवन शाहीदेखि जितेन्द्र देवसम्म त खन्चुवा नै हुन् । यिनीहरुलाई जति पैसा भए पनि खान सक्ने र पैसाका लागि राजनीतिमा लागेकाको के कुरा गर्नु र ? रह्यो सवाल सुगत रत्न कंसाकारको, उसलाई के थाहा छ भने पैसा दिएपछि माओवादी, एमाले, कांग्रेसले जता पनि नियुक्ती दिन्छ । यी नेपाल टेलिकमको जागीरे हुँदा देखि कै भ्रष्टाचारी । यिनी जेल पनि परे । पैसाको बलमा छुटेर फेरि नेपाल एयरलाइन्समै नियुक्ती लिन सफल होनहार घुस्याह र घूस खुवाउन सक्ने काविल व्यक्तित्व । नेपालका दलहरुलाई यस्तै व्यक्तिहरुको खाँचो छ । सुरुमा पक्ष विपक्षमा देखिन्छन्, पछि चुपचाप बस्छन् । काले काले मिलेर खाउँ भाले गर्न खप्पीस् छन् नेपाली पार्टी नेताहरु ।
जुन देशमा प्रधानमन्त्री नै भ्रष्टाचारको वकालत गर्छन् नैतिक हुन जान्दैनन्, नैतिक हुन प्रेरित गर्दैनन् र भाषणमा समृद्ध नेपाल, सुखी नेपाली भनेर काममा भ्रष्टाचारको फोहरमा आहाल बस्छन्, त्यस्ता व्यक्ति प्रधानमन्त्री भएका देशमा समृद्ध सपनामात्र हो । केपी ओली सपना देखाउन साह्रै जान्ने र मिठासपूर्ण भाषणकला भएका नेता पनि हुन् ।
यिनै केपी ओलीले रेसम चौधरी, दिपक मनांगेलाई मन्त्री बनाए भने आश्चर्य नमाने हुन्छ । जसले बालक र प्रहरी मा¥यो, ओलीकै पार्टीले ज्यानमारालाई छाडिन्न भनेर प्रचार पनि ग¥यो, प्रदीप ज्ञवालीको सहीसहित वक्तव्य पनि निकाल्यो, तिनै ओलीले रेसम चौधरीलाई जुस पिलायो, क्षतिपूर्ति दिलायो, सपथ खुवायो ।
अव त प्रधानमन्त्री ओली संसदमा समेत अलोकप्रिय भइसकेका छन् । कांग्रेसको प्रश्नको उत्तर दिन नसकेर सभामुखमार्फत प्रश्न सोध्नसमेत बन्देज लगाउन पुगे । योभन्दा अधिनायकवाद अरु के हुन्छ ? हिजो निरंकूशता हटाउनु पर्छ भन्दा राजा फाले, कतै ओलीको निरंकूशताविरुद्ध चर्केको आन्दोलनले ओलीको राजनीति ओल्लो तीर न पल्लो किनार हुन नपुगोस् । समय छ, चेत फिरोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper