banner
banner

८६ ब्ल्याक क्याटसहितका भारतीय सेना मार्च

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमण सम्पन्न भएको छ । यो भ्रमण सफल पार्न मोदीको सुरक्षाका लागि सात दिन अघिदेखि हेलिकोप्टर, ८६ ब्ल्याक क्याट कमाण्डो, भारतीय सेना, सिआइजीहरुको लस्कर नै लागेको थियो । आफू चढ्ने हेलिकोप्टर र बुलेटप्रुफ गाडीसमेत ल्याएका मोदीले चकमा दिएर पटनाबाट हेलिकोप्टरमा आउने बताएर दिल्लीबाट जहाजमा जनकपुर उत्रिए ।
भ्रमणका सम्बन्धमा प्रधानमन्त्रीले मुख्यमन्त्रीको आलोचना गरे, गल्ती गरेको छैन, भए जिम्मेवारी लिन्छु भनेर संसदमा पनि बोले । तर २५ वर्ष अघि एमालेले रोकेको अरुण ३, अहिले एमालेले भारतलाई दिएर नेपाललाई घाटा गराएकोमात्र होइन, नेपाल भारतवीचका सीमादेखि सन्धिसम्मका विषयमा किन कुरा उठाएनन् ? यसबारे उनले संसदलाई जानकारी दिएनन्, न त कुनै सांसदले प्रश्न नै गरेको सुनियो ।
खासगरी मोदीको भ्रमणमा हतियार सहितको सेनालाई जनकपुर, काठमाडौंदेखि मुक्तिनाथसम्ममा रेकी गर्ने अधिकार किन दिए, नेपाली सुरक्षा 
बन्दोवस्तमा मोदी किन सशंकित भए भन्ने प्रश्न लामो समयसम्म उठिरहने छ । टिप्पणी गर्नेहरु एयर इण्डियाको जहाज अपहरणका कारणले मोदीले यति ठूलो तैयारीका साथ आएको भनेका छन् । तर यति भयानक सुरक्षा प्रवन्ध उनको यसअघिको दुईपल्टसम्मको भ्रमणमा देखिएको थिएन ।
मोदीको आदेशमा पहिलो घेरामा ब्ल्याक क्याट, भारतीय सशस्त्र सेना, त्यसपछिमात्र नेपालीसेना र सशस्त्र तथा जनपथ, नेपाली प्रहरी, रा अनुसन्धानलाई राखियो ।
विश्वमा ख्याति कमाएको नेपाली सेनाको मान मर्दन र नेपाली शासन व्यवस्थाको साख गिराउने रणनीति भारतले लिएको देखिन्छ । एउटा सरकार प्रमुखको सुरक्षा दिन नेपाल सक्दैन भन्ने मेसेजले आगामी दिनमा विदेशी उच्चस्तरीय भ्रमण यही तरिकाले हुनजाने देखिन्छ । चीनका राष्ट्रपति, प्रधानमन्त्री नेपाल आउने कुरा छ, उनीहरुले पनि यस्तै सुरक्षा प्रवन्ध गरेर आउने ? नेपाललाई यसैगरी लाचार बनाउँदै जाने ? हिजोको संसदमा प्रम ओलीले म छिटै चीन जान्छु होला भनेर घोषणा गरेका छन् । के उनले यसरी आफ्नो सुरक्षा प्रवन्ध बोकेर जाने हिम्मत गर्न सक्छन् ? यो सार्वभौमिकताको पनि प्रश्न हो, जसलाई भारतले कुल्चने चेष्टा गर्‍यो, सरकारले कुल्चने अवसर दियो ।
अहिले पनि युएन मिसनदेखि अनेकन राष्ट्राध्यक्षहरुको सुरक्षामा नेपाली छन् । विश्वास र इमान नेपाली सेनाको आर्जन हो । त्यसलाई कम गर्न मोदीले थाहै नपाउने गरी कुल्चेर दादागिरी देखाए ।
नेपालको सुरक्षा व्यवस्थालाई भारतीय सेनामय बनाउनु गलत हो । सुरक्षा दिन नेपाली सेना र सुरक्षा निकाय सक्षम छ, गुनासो गर्नु नपर्ने गरी गर्न सक्छ । यतिसम्म कि जनकपुर, मुक्तिनाथ, पशुपति र राष्ट्रिय सभागृहको कार्यक्रममा नेपाली पत्रकारलाई समेत निषेध गरियो । योभन्दा ठूलो भारतीय ज्यादति र नेपाल सरकारको नालायकी अरु के हुनसक्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper