banner
banner

विश्व फकलोर केन्द्र नेपालमा

काठमाडौ । तुलसी दिवस : दिमाग, दिल र कलममा नेपाल बोकेर विश्वयात्रा गरिरहेका छन् । विश्व निम्त्याइरहेका छन् । उनैले वैशाख ३० गते छैठौं अन्तर्राष्ट्रिय फकलोर कंग्रेस अर्थात विश्व लोकवार्ता सम्मेलनको आयोजना गरे, जहाँ विश्व सहभागी थियो । यही सम्मेलनको उद्घाटन सत्रका प्रमुख व्यक्तित्व थिए – शताव्दिपुरुष सत्यमोहन जोशी ।
दोश्रो दिन तुलसी दिवसले मुगु–कर्णालीको लामाकरण भएका कामी (वि.क) हरुवारे कार्यपत्र प्रस्तुत गरे । लोकवार्ता सम्मेलनका बारेमा चाँदनी हमालले नागरिकमा लेखेको चित्ताकर्षक रिपोर्ट यस्तो छ । –सं.
फिनल्यान्डकी पिर्को मोइसालाले नेपालको पश्चिम लमजुङस्थित आमा समूहका महिलाले गाउने मौलिक लोकगीतको खोजी गरिन् । हेलसिन्की युनिभर्सिटीमा अध्ययनरत उनले आमा समूह म्युजिक एन्ड द ट्रान्सफरमेसन अफ तमु भिलेज सोसाइटी नाममा गहनतम अध्ययन गरेकी हुन् ।
शनिबारदेखि राजधानीमा सुरु भएको छैठौं अन्तराष्ट्रिय फल्कलोर कंग्रेसमा उनले नेपाली संस्कृतिको एउटा पाटो उपस्थित माझ बाँडेकी हुन् । उनीहरू लोकगीत र दोहोरी गीत गाउँथे, मोइसालले भनिन्, रमाइलो पनि गर्छन् समूहलाई सहयोग पनि गर्छन् । पहिले पहिले कमजोर आर्थिक अवस्था भएकाले घरघरमा गएर गाउने लोकगीतको संस्कृति अहिले बदलिएर सशक्तिकरणको बाटोमा लागेको उनले बताइन् । यसले समाजको सामाजिक तथा आर्थिक विकासमा टेवा पुगेको दाबी उनको थियो । संगीतले रमाइलोसँगै शारीरिक स्वास्थ्यलाई तन्दुरूस्त राख्न सघाउने भएकाले पनि आमा समूहका महिलाको गीत गाउने कार्यको सराहना गरिन् । उनले झैं इस्टोनियाकी भ्यालेन्टिना पुंजीले तिब्बती संस्कारमा प्रयोग हुने तोर्मोको अध्ययन् गरेकी थिइन् । उनले साइन्स र बुद्धिजमलाई जोडेर निष्कर्ष निकाल्ने प्रयाससमेत गरिन् । आइन्सटाइनको भनाइ उद्धृत गर्दै तोर्मो बनाउने परम्परा स्थानीय संस्कृतिको हिस्साको रुपमा रहेको छ । 
तर बौद्धमार्गीले भने बौद्धमार्ग आफैंमा एउटा साइन्सजस्तै भएकाले त्योसँग नजिक रहेको उनले उल्लेख गरेकी छिन् ।  
सेवा भट्टराईले महिलाले लोकशैलीमा गाउने कृष्ण चरित्र सम्बन्धि लोकगाथाको चर्चा गरिन् । पश्चिम नेपालको गौरालगायत विभिन्न भेगका महिलाले पारम्परिक नाचगानको संस्कारमा कृष्ण चरित्रको गाथा नेपालको मौलिक संस्कार भएको उनले उल्लेख गरिन् । भक्तपुरका केशव प्रजापतिले भक्तपुर क्षेत्रमा खेत रोपाइका बेलामा मनाइने भुराग ज्या संस्कारको उल्लेख गरे । उपत्यकाको मौलिक खेतीपातीको क्रममा यस्ता नृत्य तथा गीत गाउने चलन संस्कृतिका रुपमा विकास भएको प्रजापतिले बताए ।
आभाष राजोपाध्यायले ललितपुरको पाटनस्थित अग्निशाला मन्दिरमा बालिने संस्कारिक अग्निको कथा अध्ययनका क्रममा बुने । मन्दिरको इतिहास निकै पुरानो रहेको छ, उनले भने, पहिले सरकारले संस्कृतिको संरक्षण गथ्र्यो अहिले स्थानीयको जिम्मामा आएको छ । जुनसुकै धर्मावलम्बीले आफ्नो इच्छा भगवानसमक्ष माग गर्न अग्निशाला  खुला रहेकोसमेत उनले दर्साए । विश्वमा एकधर्मका अनुयायी अर्को धर्मको मन्दिर, मस्जिद वा चर्चमा जान त्यति रुचाउँदैनन् । तर संस्कारलाई नितान्त एकलकाँटे बनाउनुभन्दा सबैका लागि खुला गरेर उदार बनेको नयाँ संस्कार उनले उद्घोष गरे । इन्दिरा आचार्य मिश्रले नेपाली महिलाले तीज पर्वमा गाउने तीज गीतको उतारचढाव र यसको सांस्कृतिक महत्वको खोजबिन प्रस्तुत गरेकी थिइन् ।
लोकवार्ता समाजले आयोजना गरेको सम्मेलनको उद्घाटन शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीले गरेका थिए । उनले नेपाली भौगोलिक विविधताले धनी मुलुक भएकाले यसको प्रचार विश्वमाझ गर्नसक्नुपर्ने औंल्याए ।
अध्यक्ष तुलसी दिवसले ग्रामिण क्षेत्र हुँदै अहिले लोकशैली शहरतिर बढिरहेको बताए । सम्मेलनमा विशेषगरी नेपाली संस्कृतिका विविध आयाम अन्तर्गत अमूर्त कला, लोकजीवन, लोकशैली र तथा लोक सम्पदाको संरक्षणको बहस हुने उनले जानकारी दिए । संस्थाका उपाध्यक्ष अभि सुवेदीले लोकजीवन नेपालको चिनारी भएकाले यसमा विदेशीको योगदानको समेत सम्मेलनमा चर्चा हुने दाबी गरे । सम्मेलनमा नेपालसहित अमेरिका, स्टोनिया, फिनल्यान्ड, बंगलादेश, भारत, बेलायत, श्रीलंका, स्पेन आदि देशका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper