banner
banner

नेताहरु धनी कसरी भए ?

०४६ साल पछिका पार्टीका नेता, अग्रपङ्तिका कार्यकर्ताहरु ३३ वर्षको अवधिमा धनाध्ये बनेका छन् । ०६३ सालको परिवर्तनपछिको १५ वर्षमा त सर्वहाराका नेताहरु समेत सम्भ्रान्त बनेका छन् । नेतामात्र होइन, यो अवधिमा प्रशासनमा रहेका उच्चपदस्थदेखि अधिकांश साना कर्मचारीसमेत नवधनाध्ये बनेका छन् । राजनीति गर्ने र जागीर खाने व्यक्तिहरु कसरी धनाध्ये बन्न सक्छन् ? राजनीति व्यवसाय होइन, प्रशासन व्यापार थिएन भने ती क्षेत्रमा काम गर्ने व्यक्ति कालाव्यापारीभन्दा धनाध्ये बन्नु भनेको निश्चित रुपमा तिनले सेवाका नाममा नकाम गरेका छन्, नैतिकहीन बनेका छन् ।
समाजवाद, सर्वहारावाद, राष्ट्रवादका नाममा राजनीति गर्नेहरुको वर्तमान जीवनशैली अरवको शेठको जस्तो छ । राजा महाराजाको भन्दा कम छैन । सेवाग्राहीलाई सेवा दिन्छु भनेर जागीरदार बनेका व्यक्तिहरुको जीवनशैली पनि सुख, सुविधायुक्त देखिन्छ । तिनका परिवारजनले समेत सुन, सुख, सम्भ्रान्तपन देखाइरहेका छन् । सबैको आँखा अगाडिको यो सत्य छानबिन गर्नैपर्ने विषय हो । किनकि देशमा भ्रष्टाचार भइरहेको छ । देश रसातलतिर गइरहेको छ । देशको आर्थिक ढाड भाँचिएको छ । नेपाल श्रीलंकाको जस्तो आर्थिक हाहाकारमा पुग्ने र देशै असफल हुने खतरा सबैले देखेका छन् । देश कमजोर र नाङ्गो हुने, व्यक्ति धनाध्ये र सम्भ्रान्त बन्ने कसरी भयो ? यो आजको यक्ष प्रश्न हो र यो सवालको जवाफ खोज्नै पर्छ । तबमात्र देशको अधोगतिको कारण पत्ता लाग्नेछ, देशलाई लुट्नेहरुको अनुहार देखिनेछ र तिनीहरुमाथिको कारवाहीले एउटा विधिको शासनको जग बस्नेछ ।
अग्रगमनकारी राजनीति गर्ने, शान्ति र प्रगति गर्ने वाचासहित परिवर्तन गरिएको थियो । देश बिगारेर आफू बन्ने काम गरे नेताहरुले । परिवर्तन त भयो, नेता र तिनका वरिपरिका व्यक्तिहरुको मात्र भयो, आमनागरिक आज पनि हाहाकारको जीवन बिताउन बाध्य छन् । शिक्षा, स्वास्थ्य, दैनिकी जीवन साह्रै कष्टकर भएको छ । यही हो राजनीतिक परिवर्तन भनेको ? किन देश बिथोलिदै, लथालिङ्ग हुँदै गयो ? किन देशका हितहरुमा विदेशी चलखेल बढ्यो, नेपालको भूराजनीतिमा विदेशी हस्तक्षेप बढ्यो ? आमनागरिकले पाउनै पर्ने आधारभूत संरक्षण किन पाउन सकेनन् ? लोकतन्त्र नेतातन्त्र बन्यो, लोकतन्त्रमा लोक कहाँ छन्, अत्तोपत्तो नहुने स्थिति छ । यदि समयमै नेतृत्व सुधारिएनन्, लोकको असन्तुष्टिको संवोधन हुनसकेन भने लोकको साथ पाएका नेताहरुप्रति लोकको कोपभाजन सुरु हुन पनि सक्छ । जब लोक सुनामी बनेर निस्कन्छ, त्यतिबेला वर्तमान भ्रष्ट र व्यक्तिवादी नेतृत्व कहाँ पुग्छ भन्न सकिन्न । राजतन्त्र फाल्यौं भन्नेहरुले लोकतन्त्रलाई जीवनपद्धति बनाउन किन सकेनन् ? धर्मनिरपेक्ष ल्यायौं भन्नेहरुले बहुधर्मको समान व्यवहार गर्न किन असफल भए ? किन इसाइकरण बढ्यो, हिन्दुधर्मको अपमान भइरहेको छ ? हरेक नेपालीको आत्मसम्मानको अपमान भइरहेको छ । यसको कारक नेतृत्व हो । नेतृत्वको असक्षमता र अकर्मण्यताले राष्ट्रका हरेक क्षेत्रमा बिकृति र बिसंगति बढेका छन् । यसको निदान जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper