सरकार भन्छ– जेठदेखि हप्ताको २ दिन, शनिवार र आइतवार बिदा हुनेछ । यसरी दुई दिन बिदा दिनथालेपछि इन्धनको खपत कम हुनेछ, डलरको सञ्चिती बढ्नेछ । सेवाग्राहीलाई सेवा दिएर, बढीभन्दा बढी काममा खट्ने बानी बसालेर, उत्पादन बृद्धि गर्न रोजगारीको सिर्जना गरेर पो आर्थिक उन्नति हुने हो । तर सरकारले बिदामाथि बिदा थपेर आर्थिक उन्नतिको बाटो पहिल्याएको छ । यो उल्टोबाटो हिंडेर पुगिने तन्नमबाट हरितन्नमतिरै हो ।
दुई दिन बिदा दिएर, जातीय पर्वमाथि पर्वविदा थपेर आर्थिक मितव्ययिता हुने होइन । सरकारका प्रधानमन्त्री, मन्त्रीहरूका बर्गेल्ती सल्लाहकार छन्, कुन चाहिं सल्लाहकार विज्ञले सरकारलाई यस्तो सुझाव दियो र सरकारले २ दिन बिदा दिने निर्णय ग¥यो, जनतालाई थाहा दिए उत्तम हुनेथियो ।
सरकारका मन्त्री, प्रधानमन्त्री, ठूला पार्टीका नेता, उच्चपदस्थ कर्मचारीदेखि आयोजनाका गाडीहरू काम, बेकाममा पनि कुदिरहेकै छन् । सरकारी सम्पत्तिको दुरूपयोग कतै पनि रोकिएको छैन । संघीयताले झनै खर्च बढाएको छ । यसबाहेक पनि निर्वाचनका बेलामा राज्यस्तरका दुरूपयोग भनिसाध्य, हेरीसाध्य छैनन् । यतिमात्र होइन सेनाको हेलिकोप्टर, जहाजको समेत दुरूपयोग गरिएको देखियो । एकातिर बिदा बढाउने र इन्धन खपत कम गरेर आर्थिक मितव्ययिताको नौटङ्की देखाउने, अर्कोतिर राज्यस्तरकै भ्रष्ट प्रवृत्ति बढेर जाँदो छ । अनि कसरी इन्धनको खपत र आर्थिक बचत हुन्छ ?
भएका उद्योग बन्द गर्ने, खाद्यान्नमात्र होइन जनैसुपारी, गुन्द्रुक, लत्ताकपडादेखि सुनदेखि नूनसम्मको आयात गर्ने र निर्यातका नाममा केही पनि जोहो नगर्ने अनि आत्मनिर्भरता कुनै बस्तुमा पनि नहुनु भनेको परजीवी अर्थतन्त्र हो । एकातिर युवा निकासी गरेर रेमिटान्स अर्थतन्त्र चलाउने, अर्कोतिर आयातमुखी अर्थतन्त्र चलाएपछि आर्थिक मेरूदण्ड भाँचिनु स्वभाविक हो । अर्थतन्त्र किन यसरी आह्रालो लाग्यो, संकट बढ्यो भनेर सरकारले विज्ञ विशेषज्ञहरूसँग कहिले पनि बहस गरेको देखिदैन, सुनिदैन । राष्ट्रिय जीवनमा सबैको योगदान जरूरी छ । जसले पनि राजनीतिमात्र गर्ने र व्यक्तिगत अथवा पार्टीगत स्वार्थमात्र पूरा गर्दै जानुले राष्ट्र समस्यामा पर्दै गएको हो । अब पनि राजनीतिक दलहरूले सोचेनन्, उत्पादन बृद्धि र निर्यात, आत्मनिर्भर हुनसकिने बस्तुमा प्राथमिकता नदिने हो भने अहिलेको आर्थिक समस्या संकट बन्दै भोलि असफल राष्ट्र हुन लामा समय लाग्नेछैन । अर्काले दान दिएको अर्थतन्त्रले राष्ट्रको आधार बलियो हुनेछैन । आयातमुखी अर्थतन्त्रले समस्यामाथि समस्या थपिनेछ । यसकारण यो समय काम गर्ने समय हो । अनावश्यक बिदा कटौति गरेर उत्पादनमूलक काममा लाग्ने र अनियमितता घटाएर सुशासनका लागि गर्नुपर्ने मेहनत र इमानबृद्धिमा सोच्ने बेला थियो । उल्टै सरकारले बिदा बढाएर अनुत्पादकता बढाएको गुनासो विज्ञहरूको छ । सरकारले एकपल्ट फेरि विचार गरोस्, विचार विमर्श गरोस् र एउटा ठोस निर्णयमा पुगोस् । यसअघि दुईपल्ट यस्तो निर्णय सफल हुनसकेन, यसपल्ट त्यस्तो नहोस् ।
अन्तमा, सावधान फेरि कोभिड १९ बढ्यो
भारतमा कोभिडको संक्रमण बढेर जाँदो छ । चीन र अन्य मुलुकमा पनि कोभिडका संक्रमित बढेर गएका छन् । कम परीक्षण गरिएकाले कम देखिए पनि नेपालमा जोखिम बढेर गएको स्वास्थ्यविज्ञहरूले बताएका छन् । यसकारण पुनः महामारीको अवस्थाबाट बच्न बचाउन जनस्वास्थ्यका मापवण्ड कडाइका साथ पालना गर्नु नै बुद्धिमानी हुनेछ । सरकारको भर पर्दा बिगतमा ११ हजारभन्दा बढीले ज्यान गुमाए । बाँच्नसक्ने व्यक्तिले समेत समयमा अक्सिजन, ओखती नपाएर मर्नुप¥यो । यसकारण सरकारको मात्र मुख नताकौं, आम नागरिकले स्वास्थ्य मापदण्डको पलाना गरौं ।