नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन । –पूर्वराजा ज्ञानेन्द्र
बडादसैं २०७८ को अवसरमा पूर्वराजाले सन्देश दिए– ‘देशभन्दा माथि कोही पनि छैन ।’ यो एकै वाक्यले वर्तमान लोकतान्त्रिक राजनीतिको आन्द्राभुँडी देखाइदिएको छ । बुझ्नेलाई भारी, नबुझ्नेलाई हनुमन्ते पारी भन्ने खालको यो सन्देशले राजनीतिमा ९ रेक्टरको भूकम्प नै ल्यायो । सहिसक्नु भएनछ, पूर्वप्रधानमन्त्री, पूर्व माओवादी नेता डा.बाबुराम भट्टराईलाई । उनले प्वाक्क भनिहाले– चुपचाप लोकतन्त्र मानेर बस्नु ।
डा.बाबुराम भट्टराई स्वयम् माओवादीको हुनसकेनन् । नयाँ पार्टी खोले, जनताले पत्याएनन् । त्यसपछि अर्काको पार्टीमा घुमन्ते नेताका रूपमा घुम्दै घुम्दै जसपको संघीय परिषदको संयोजक बन्न पुगेका छन् । भन्नलाई सबैले बुझकी, बुद्धिमान, पढेलेखेका भनेर पनि भन्छन्, बाबुरामलाई तर उनले देशको स्थिति परिस्थिति बुझेर पनि पूर्वराजालाई चेतावनी दिने खालको भाषा प्रयोग गरेका छन् । उनको भाषाशैलीलाई लिएर उनी आफै हाँसोको पात्र बन्नपुगेका छन् । विप्लव, वैद्य, नारायणमान बिजुक्छेजस्ता नेताहरू हरेक राजनीतिक शक्तिसँग सहकार्य गरेर मुलुकको अव्यवस्था हटाऔं भनिरहेका छन् । प्रचण्डजस्ता नेताले पूर्वराजाको सन्देशको आलोचना गर्ने हिम्मत गरेनन् । सामाजिक सञ्जाल हेरे हुन्छ, पूर्वराजाको सन्देशको स्वागतको लहरलाई । जे बोले, पूर्वराजाले माटो बोले, देश बोले, जनताको पीरमर्का र राष्ट्रको स्वाधीनता बोले । राष्ट्र पनि बोल्न पाइन्न भनेर डा.बाबुराम भट्टराईले कस्तो निरङ्कूशता देखाएका हुन् । उनी आफैले सही गरेको संविधान पनि डा. बाबुराम पढ्दैनन्, बुझ्दैनन् र आलोचना गरेर ठूलो हुनखोज्छन् ।
हुन त संविधानसभामा संविधान मस्यौदा समितिका संयोजक यिनै थिए । संविधान लेखियो, संविधान सभाबाट पारित पनि भयो । आफैले सही गरेर पास गरेर निस्केपछि यिनको मुखबाट फुत्कियो– यो संविधान पूर्ण छैन । नभन्दै, संविधानको आलोचना भयो, संविधानमा आगो लाग्यो । ७ वर्ष भइसक्दा पनि संविधानलाई जनताले अपनत्व ग्रहण गरेनन् । कस्तो संविधान रहेछ यो ?
अचम्म, संविधानअनुसार संवैधानिक अङ्गहरू छन्, सर्वत्र असंवैधानिकता व्यापक छ । संसद छ, अदालतले प्रधानमन्त्री बनाइदिन्छ, संसदको बैठक तोकिदिन्छ । हुँदा हुँदा अदालतका न्यायाधीशले लोकतन्त्रविपरित फैसला गरिरहेका छन् । प्रधानन्यायाधीश नै कार्यपालिकाको कोटा मागेको आरोपबाट आरोपित भइसकेका छन् । प्रधानमन्त्री मौन छन् । परमादेशका पक्षधरहरू लज्जावोधसम्म गर्न सक्दैनन् । पूर्वराजाले जे बोले, त्यसको मर्म सबैले बुझे देशभन्दा माथि कोही हुनेछैन ।