नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा, नेमकिपालगायतका अनेक पार्टीहरू छन् । ती पार्टीहरूमा उही पुरानै अनुहार छन्, पुरानै नेतृत्व छ । जहिले पनि यिनै नेताले चलाउने हो भने परिवर्तन कता आयो त ?
हो, बुढा भए पनि तिनमा आधुनिक चेत छ, उर्जा छ, हौसला छ, नयाँ सोच छ भने उनीहरूलाई भुत्ते होइन, धारिला नेता भन्नुपर्छ, मान्नुपर्छ । तर बहुदल घोषणापछिका ३१ वर्षमा जुन नेतृत्व देखियो, ती आज पनि छन् र तिनीहरू एकजना पनि स्वाधीनता, देशभक्ति, जनअपेक्षा र लोकतन्त्रका गरिमा र महिमामा खरो उत्रेका नेता छैनन् । प्रत्येक नेतामा कुनै न कुनै भ्रष्टाचारका दाग लागेकै छ । नैतिक धरातलमा सग्लो उभिएको नेता पाउन सकिन्न । यसप्रकारका भुत्ते नेताहरूवीच आज पनि अन्तरपार्टी र राष्ट्रिय राजनीतिमा निरन्तर प्रतिस्पर्धा चलिरहेको छ । एकाध युवा निस्कन्छन् र पानीको फोको फुटेजसरी बिलाउँछन् । नेतृत्वमा जान कुनै युवा अग्रसर हुनसक्दैनन् । यहीकारण बुढो पुस्ता जतिसुकै भुत्ते भए पनि पार्टी र सत्ताको मुखिया हुन लालायित नै छन् । यो भुत्ते पुस्तालाई सल्लाहकारमा सिमित राखेर नेतृत्वमा आफू आउन नसक्नु युवा पुस्ताको सबैभन्दा ठूलो कमजोरी हो । यही कमजोरीका कारणले नयाँ नेपालको निर्माण, शान्ति र समृद्धिको सुरूआत तथा जनताप्रति जवाफदेही राजनीतिसमेत सम्भव हुन सकिरहेको छैन ।
देशको मुहार फेर्ने कुरा गरिन्छ । दिमाग र उमेर दुबैकारणले बुढो भइसकेको नेतृत्व बोकेर काम चलाउनेहरूले देशको मुहार कसरी फेर्ने ? एउटा जाँगरिलो, सोच भएको नेता छान्न नसक्नेले देशको मुहार फेर्ने ? विकसित मुलुकहरूमा नेता बुढा हुन् कि युवा, तिनको आधुनिक सोच, सभ्य संस्कार र जवाफदेहीतालाई हेर्ने गरिन्छ । हाम्रो देशमा उही पुरानालाई जहिले पनि बरण गरेर संसद, सत्तामा पु¥याइन्छ अनि ती पुराना नेताहरूले आफ्नै नातापाता, आशेपासे, लोभलालचमा आफू र देशलाई चलाइरहन्छन् । उसै पनि धमिलो पानी, त्यसमा पनि चलाइदिएपछि हिलो हुनु स्वभाविक हो । नेपाली राजनीतिक परिदृश्य हिलो पानीभन्दा पृथक हुनसकेन ।
गिरिजाप्रसादलाई भ्रष्ट भन्याँैं, त्यसपछि फेरिदै फेरिंदै जनआन्दोलनको सफलतासम्म आइपुग्दा पनि उही भ्रष्टाचार गनाइरह्यो । २०६५ साल र पछि पनि प्रचण्ड प्रधानमन्त्री बने । उनले कुनै नयाँपन दिन सकेनन् । अहा भन्ने वातावरण सिर्जना गर्न उनको कारिगरी देखिएन । त्यसपछि माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, सुशील कोइराला, केपी ओलीहरू प्रधानमन्त्री बने । सबका सब राष्ट्रघात र भ्रष्टाचारको दलदलमा भासिए । यिनै शेरवहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री बनेका हुन् । यिनमा एकपल्ट पनि उर्जाशीलता, लक्ष्य, उद्देश्य, परिणाममुखी कुनै काम भएको रेकर्ड छैन ।
यसपल्ट त शेरबहादुर देउवाले इतिहास बनाउलान्, नयाँपन देखाउलान्, देशलाई अघि बढाउलान् भनेको त शपथ खाएकै भोलिपल्ट विजयकुमार गच्छदारको भ्रष्टाचार छोपछाप गर्ने टालो पो बने । अब उनले जिउँदै मान्छेलाई इटाभट्टामा पोल्ने मोहमद आलमलाई रिहा गराइदिए, रेसम चौधरीको सजाय माफ गरिदिए केको आश्चर्य ? भुत्तेहरूबाट हुने यही हो ।