banner
banner

सत्ता र स्वार्थले देश बर्बाद

जनयुद्ध समानताका लागि थियो, जनआन्दोलन निरङ्कूशताको अन्त्यका लागि भयो । परिवर्तन आयो, आन्दोलनकारी नेतृत्वले भन्यो– अब नयाँ नेपाल बन्छ । नेपाल अग्रगमनतिर लाग्यो, लाग्यो ।
२०६३ सालको यी अभिव्यक्ति २०७८ सालामा समेत जारी नै छ । नेतृत्व तिनै छन्, तिनले पटक पटक सत्तामा जाने अवसर पाए । आलोपालो शासन पनि गरे । अब कि तँ छैनस्, कि म छैन, भन्ने स्तरसम्म पुगेका छन् । जो जनयुद्ध गरेर आएका थिए, जो जनआन्दोलनमा सहभागी भए, जो लोकतन्त्रका लागि लामो संघर्ष गरेको दावी गरिरहेका छन्, ती सबै एकदोस्रोप्रति गैरजिम्मेवारमात्र होइन, निम्नस्तरको गालीगलौजमा उत्रिएका छन् । गल्ली गुण्डालाई पनि बिर्साउने स्तरको भाषा शीर्ष नेताहरूले हरेक दिन प्रयोग गरिरहनु भनेको राजनीतिक संस्कार र सभ्यतामात्र होइन, लोकतन्त्रको गरिमा र महिमासमेत सखाप हुनपुगेको छ ।
जो प्रधानमन्त्री भइसकेका नेताहरू छन्, तिनीहरूले यसरी आफैलाई असभ्यताको मैदानमा झारेर आफैलाई नङ्ग्याउन मिल्छ कि मिल्दैन ? आकाशतिर फर्केर थुक्नु भनेको आफ्नै मुखमा पर्नु हो भन्ने प्रधानमन्त्री भइसकेका व्यक्तिहरूले भूलबस भनेका अथवा जिब्रो लट्पटिएको मान्न सकिदैन । एकपल्ट होइन, हरेक दिन शीर्ष नेताहरू एक दोस्रालाई मकै नङ्ग्याएझैं, छोडाएझैं बोलिरहेका छन् । नेताको यो चाल र तालले तिनका पछि पछि लागेका अनुयायी कार्यकर्ताहरूले सिक्ने शिक्षा के होला ? स्कूलिङ् सही भयो भने शिक्षा सही हुन्छ, विद्यार्थीले सही मार्ग लिनसक्छ । जब माष्टर नै गलत छ र गलत शिक्षा दिइन्छ भने शिक्षार्थीहरूले सिक्ने गलत नै हुन्छ, असभ्य र छाडापन नै हुनेछ । आजको शासन र सत्तामा जो छन्, भोलि आउने शासन र सत्ताधारी पनि यी भन्दा फरक हुनेछैनन् ।
अर्थात् वर्तमान हामी अन्धकारमा छौं । भविष्य पनि उज्यालो छ भन्न सकिने आधार बनेन । जो शीर्ष दल छन्, ती पथभ्रष्ट भएका छन्, जो तिनका पछि लागेका छन्, भोलिका शासक तिनै बन्ने हुन् । तिनीहरूले दिने अर्को पुस्ताको राजनीति पनि अहिलेको भन्दा फरक हुन्न भने आशा के गर्ने, भरोसा कसलाई गर्ने ? कम्तिमा राजनीतिक नेताहरूले आत्ममिमांसा गरेर भए गरेका गल्ती कमजोरी सच्याउनेतिर लागेका भए भोलिका लागि कालो बादलमा चाँदीको घेरा त देखिने थियो ।
यतिबेला सत्ता स्वार्थमा हरेक ठूला दलहरू चुर्लुम्मै डुबेका छन् । संविधान सग्लो बन्न नसकेकाले संवैधानिक अप्ठेरोले निकास दिन सकिरहेको छैन । बहुमतको सरकार ठिक छैन भन्नेहरू त्यही सरकारलाई समर्थन गरिरहेका छन् । नयाँ सरकार बनाउन सक्ने स्थिति बनेको छैन र संवैधानिक मार्गबाट होइन, सडकबाट प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य भइरहेको छ । सत्ता स्वार्थमा डुबेका नेताहरूले देशलाई एउटा भरलाग्दो निकास दिन सकेनन् । देश दिनदिनै बर्बाद भइरहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper