banner
banner

सबै छन्, नेता छैनन्

जनआन्दोलनपछिका १४ वर्षमा सबै देखियो, सबै भोगियो । न नेता देखिए, न परिवर्तन देखियो । सबै नैतिकताका कुरा गर्छन्, नैतिकता र इमानदारीता पनि देखिएन । के भएको हो यो, परिवर्तन त ऐतिहासिक नै भएको हो तर नेतामा राजनेता बन्ने चाहना देखिएन ।
छन्, पार्टी छन् । थुप्रै पार्टी छन् । पार्टीभित्र नेता छन्, कार्यकर्ताहरूको पनि भिडम्भीड छ । पार्टीका घोषणापत्र छन्, घोषणापत्रमा ठूला ठूला प्रतिवद्धताहरू पनि छन् । अक्षरका नीति छन्, भाषणका नैतिकता पनि छन्, कितावी इमानदारिता पनि सुनिन्छ, पढिन्छ । सबैभन्दा ठूलो कुरा देशमा जनता छन् । जनता हाँक्ने विश्वमा सफल मानिएको लोकतान्त्रिक पद्धति पनि छ । तर पद्धति हाँक्ने चालक कुलतमा फसेको छ । सत्ताको नशाले चूर छ र मनलागी लोकतन्त्र चलाइरहेको छ । त्यसैले लोकतन्त्र लोकतन्त्र जस्तो नभएर बाँदरको हातमा नरिवल जस्तो भएको छ ।
राजनीति गाईजात्रा जस्तो छ । गाईजात्रा देखाउनेजस्ता नेता छन् । नेताहरू ऐना हेर्दैनन् । आफूभन्दा चोखो र गतिलो कोही छैन भन्ने भ्रम पालेर बसेका छन् । एउटा नेता अर्कोलाई नैतिकता खोई ? भनेर प्रश्न गरिरहेको सुनिन्छ । एउटा नेता अर्कोलाई सार्वजनिक रूपमा नङ्ग्याइरहेको देखिन्छ । यथार्थमा सबै नेताहरू नाङ्गा छन् । नाङ्गा नेताहरू एकले अर्कोलाई देखेर हाँस्छन् । आफू नाङ्गो भएको भेउ पाउँदैनन् ।
एउटै पार्टीभित्र अनेक गुट छन् । अनेक गुटभित्र थरि थरिका नेता छन् र ती नेताहरू आफै सत्तामा पुगेमात्र देश बन्ने, लोकतन्त्र बच्ने फुइँकी लगाइरहेका देखिन्छन् । हरेक ठूला नेता पटक पटक सत्तामा गइसके, तिनले गरेको राम्रो र उदाहरणीय कार्य के हो भनेर कसैले पनि भन्न सक्दैन । आफ्ना र आफन्तलाई भर्ति गर्ने र भ्रष्टाचार गर्नुलाई यिनीहरू आफ्नो सफलता मानिरहेका छन् । देश असफल भइरहेको कोही पनि देख्दैनन् । लोकतन्त्र झुम्राको पुतलीजस्तो खेलौना बनेको पनि कसैलाई हेक्का छैन । लोकतन्त्रमा संसदीय मर्यादा हुन्छ, संस्कार हुन्छ, बोली चालीको भाषामा सभ्यता हुन्छ भन्ने यिनले उहिल्यै भुलिसके । एकदोस्राको खुट्टा तान्नु र गालीगलौज गर्नुलाई यिनले लोकतन्त्र ठानेका छन् । लोकतन्त्र बुख्याँचा बन्दै गएको यी नेता नामधारीले पत्तै पाएका छैनन् ।
भुइँमा कुनै नेताले टेकेको देखिदैन । ताक परे संविधान, नत्र सडक गान गर्नेहरू घेर्ने, हान्ने, घिसार्ने, गलहत्याउने जस्ता शब्दहरू प्रयोग गर्छन् । आफूले भनेजस्तो भयो भने लोकतन्त्रको भविष्य उज्ज्वल छ भनेर गुड्डी हाँक्छन् । सत्य भन्ने हो भने लोकतन्त्रका खिया भनेकै नेता हुन् । यिनले जनतालाई मतदातामा सिमित गरेका छन् । लोक लोकतन्त्रको अन्तिम न्यायाधीश हो भन्ने कुनै नेताले पनि आत्मसात गरेकै छैनन् ।
यसकारण केही बुद्धिजीवीहरूले लेखेको हुनुपर्छ– आफ्नै पार्टीको प्रधानमन्त्री हटाउन विपक्षी गुहार्ने ? हुति नहुने लुतेहरूले किन म्याउ–म्याउ गरेर हिंड्नु ? बरू भारतबाट श्याम शरणलाई बोलाउनु नि !

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper