banner
banner

अपाङ्गता दिवसमा कहाँ छन् अपाङ्ग

‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता’  यही नाराका साथ मङ्सिर १८ गते २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइयो । दिवस मनाएर मात्र के गर्ने, अपाङ्गता भएका व्यक्तिहरुले समान व्यवहारको अनुभूति गर्न पाए कि पाएनन्, नेपालले लागू गरेका नियम कानुनहरुको परिपालना भएको छ कि छैन ? अपाङ्गता भएकाहरुले अपमानवोध गर्नु परेको त छैन ? तिनले पाउनै पर्ने आधुनिक सुविधा, राज्यको आडभरोसा, मानिसहरुबाट पाउनुपर्ने सद्भाव र सहृदयतापूर्ण व्यवहार पाएको नपाएको कसले हेर्ने ?
आज पनि अपाङ्गता भएका व्यक्तिहरुको जीवन दुःखदायी देखिन्छ । उनीहरुमाथि अनेक ठाउँहरुमा अपमान गर्ने, अपाङ्गता मैत्री व्यवहार नगर्ने, उनीहरुलाई रोजगारी र जीवनयापनको प्रत्याभूति नभएका जस्ता अनेक घटना देखिन्छन् । जो जन्मजात अपाङ्ग छन्, र सपाङ्ग जन्मिएकाहरु पनि कुनै पनि बेला अपाङ्ग हुनसक्छन् । आधुनिक समाजको विकाससँगै जोखिमहरु बढेका छन् र ती जोखिमहरुले जो कसैलाई अपाङ्ग बनाउन सक्छ । खानपानदेखि रोगव्याधि र रहनसहनमा कहीँ पनि दुर्घटना हुनसक्छ र जो कोही दुर्घटनामा पर्नसक्छ । त्यसैले अपाङ्गता भएकाहरुलाई सामाजिक सद्भावको विकास गर्न जरुरी छ । अपाङ्गता भएकाहरु पनि यही समाजका, हाम्रै परिवारका सदस्य हुन् भन्ने बोध गरेर व्यवहार गर्ने हो भने मात्र अपाङ्गता भएकाहरुले हौसला पाउने छन् ।
अहिलेको चुनौती भनेको शारीरिक अपाङ्गता भए पनि उनीहरुको क्षमताअनुसारको रोजगारीको सिर्जना हो । जो शारीरिक र मानसिक अपाङ्गताबाट पीडित छन्, उनीहरुको लागि नाना, खाना र छाना लगायतको हेरचाहको व्यवस्थापन पनि हो । त्यसैले अपाङ्गता भएकाहरुको कल्याणका लागि हरेक सरकारी र निजी संस्थाहरुले रोजगारीको व्यवस्था मिलाउन जरुरी छ । उनीहरुले पनि आफ्नो क्षमता प्रदर्शन गर्न पाउनुपर्छ । यसैमा सामाजिक विकासको आधारस्तम्भ खडा हुनसक्छ । समाजका कुनै बर्ग मूलधारबाट अलग रह्यो भने त्यो समाजको विकास भनेको अधुरो हुनजानेछ । समाजमा जुन जुन बर्गहरु कमजोर छन्, तिनको सवलीकरणका लागि उनीहरुलाई अवसरको सिर्जना पनि गर्नुपर्छ । अवसर दयाले होइन, उनीहरुको हकका रुपमा स्थापित हुनुपर्छ । तवमात्र यसखाले बर्गले आफू पनि यही समाजको सम्मानित समुदायको सदस्य हुँ भन्ने गर्ववोध गर्नसक्छ, आफैभित्र हौसला जगाएर आफ्ना, आफ्ना बर्ग, समाज र देशका लागि केही गर्न सक्छु भन्ने आँट र अक्किलसमेत निकाल्ने छन् । त्यसैले अपाङ्गता दिवस कर्मकाण्डी रुपमा मनाएर यो बर्गले आफनो विकास गर्नसक्दैन, मैत्रीभाव विकास गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper