दिउँसोको १२ बज्न ४ मिनेट बााकी अर्थात ११.५६ बजे ७.८ रेक्टरको महाभूकम्पको धक्काले सगरमाथा समेत हल्लियो, हिमपहिरो गयो। महाभूकम्पले जनताका घर बच्ने सवालै थिएन, देशभरिका डेढलाखभन्दा बढी घरहरु सोत्राम भए। घरसँगै ७ हजारभन्दा बढी जनताको ज्यानसमेत गयो। पन्द्रौ हजार घाइते भए, हजारौं जनता हराइरहेका छन्। उद्धार कार्य जारी छ। अझै कतै कतै जनताको जिवितै उद्धार कार्य भइरहेकै छ। ८२ वर्षपछिको भूकम्प महाबिनासकारी भएर आयो। किन यसरी रिसायो प्रकृति र प्राकृतिक प्रकोप पर्यो देशमा। कोही विज्ञ छैन। विज्ञान पनि असफल भएको भूकम्पबारे नेपालीले थाहा पाउने कुरै भएन। सपनासरी थरथरायो पृथ्वी र नेपाल र नेपालीको टाउकोमा बजि्रयो। अझै पाराकम्पनहरु गइरहेका छन् र ठूलै भूकम्प आउने हो कि भन्ने आशंकाले जनता त्रसित मनस्थितिमा छन्। भूकम्प मापन विशेषज्ञहरु भन्छन्: आउँदैन भन्न सकिदैन। तर, अहिलेसम्मका पूर्व रेकर्ड हेरेर भन्न सकिन्छ, जे जति ठूलो भूकम्प आउने हो आइसक्यो। अव साना भूकम्प मात्रआउनेछ। डराउनु पर्दैन। बिस्तारै पाराकम्पनहरु पनि निस्तेज हुँदै गएका छन्। यही विश्वासमा परेर नेपालीको सातो फर्कदैछ, बिस्तारै जनजीवन सामान्य बन्दै गएको छ।
निर्जिवजस्तै सहरबजारमा जीवन देखिन थालेको छ। स्तव्ध भूकम्पपीडितसम्म राहत पुग्न थालेका छन्। पहाड, सामान्य हुन अझै महिनौं लाग्नेछ। भूकम्पको अति जोखिम खेपेका १४ जिल्लाका सुगमदेखि दुर्गमसम्म सरकार कछुवाको गतिमा जान थालेको छ। गाँस, बास, आफन्तजन गुमाएकाहरु सरकारले, जनप्रतिनिधिहरुले राहत जुटाइदिनेछन् भन्ने आश गरेर चउर, रुखमुनी दिनरात काटेर जीवन बचाइरहेका छन्। उनीहरुलाई के गर्ने, कसो गर्ने, कसरी जीवनलाई सहज बनाउने भन्ने समस्याले गाँज्दै लगेको छ। यस्तो अवस्थामा पनि जनप्रतिनिधिहरु भूकम्पपीडितहरुका सामु पुग्न सकिरहेका छैनन्। लोक लोकतन्त्र खोजिरहेका छन्, लोकतन्त्र लोकलाई पर्दा प्रभावकारी हुन सकेन। जनप्रतिनिधि निस्तेज, निस्तव्ध देखिन्छन्। चेतना भया– १२ गतेको महाभूकम्प जतिबेला आयो, त्यो धक्काले घण्टाघरको टङ्टङ् आवाज रोकिएको छ। महाभूकम्पको साक्षीका रुपमा ठिङ्ग उभिएको छ काठमाडौंको घण्टाघर। तर, समय रोकिएको छैन। समयलाई कसैले रोक्न सक्ने सवाल पनि भएन। समय आफ्नो रफ्तारमा अघि बढिरहेको छ। समय रोकिन्न भन्ने यथार्थबोध गरेर हाम्रो सरकार, हाम्रा जनप्रतिनिधि र नागरिक समाज लोकलाई महाप्रलयकारी भूकम्पले दिएको घाउमा मलम बनेर उनीहरुसम्म छिटोभन्दा छिटो पुग्नुपर्छ। समय बलवान छ, अवेर नहोस्। लोकतन्त्रप्रति जनताको विश्वासको पनि बिनास नहोस्। राष्ट्रिय एकताको निर्माण गर्न पनि आत्मविश्वास जरुरी छ।