banner
banner

नेताको सम्पत्ति कसरी बढ्छ ?

०४६ सालका चप्पले नेताहरु ०६३ सालमा आइपुग्दा करोडपति बनेका थिए । ०६३ सालका ठगठाग, लुटलाट, च्याटचुट पार्ने नेताहरु ०७६ सालमा आइपुग्दा अर्वपति खर्वपति बनेका छन् । आखिर राजनीतिमा छ के त्यस्तो, राजनीतिमा लाग्नेहरु कसरी यति छिटै हजारिया, लखपति, करोडपति, अर्वपति बन्छन् ? जनतासँग भोट माँग्नेहरु जनतालाई कुल्चेर हिड्ने साहस गर्छन् र जनतालाई कागति निचोरोजसरी निचोरेर आफ्ना गाला जुम्लाका स्याउजस्ता बनाउँछन्, आखिर राजनीति सेवा हो कि व्यवसाय ?
राजनीति व्यवसाय हो भने उद्योग घोषणा गरिदिउँ, तिनको सम्पत्ति जाँचगरेर कर लगाइदिउँ । सेवा हो भने ०४६ सालदेखि अहिले सम्मका नेताहरुको सम्पत्ति छानबिन गरेर त्यसको स्रोत खोजौं । हरेक मन्त्री सांसदले सम्पत्ति विवरण दिंदा श्रीमतीको दाइजो, माइतीले दिएको भन्दै श्रीमतीको नाममा राख्नु राखेका छन् । श्रीमतीको चाहिं कुन आम्दानी रहेछ, तिनका माइतीको त्यतिबिघ्न दाइजो दिने हैसियत के रहेछ ? सम्पत्ति छानबिन गर्ने अधिकारी अथवा कर कार्यालयले त्यता हेर्नु नपर्ने ? अख्तियारले पनि साना व्यापारी, काँक्रोचोरजस्ता साना भ्रष्टहरुलाई हेपेर पक्राउ गर्ने, मुद्दा हाल्ने अनि राष्ट्र कंगाल बनाउनेहरुमाथि फुटेको आँखाले पनि नहेर्ने ?
अचम्म के पनि छ भने एउटा अर्वपति अर्को व्यापारी, कमिशन एजेण्ड, भ्रष्ट, अनियमितता गर्नेलाई चोर भन्छ । अनि प्रशासक र राजनीतिक नेताहरुसँग सेटिङ् मिलाएर लुट्नुसम्म लुट्छ । यो सेटिङ लुट आज महामारी बनेर फैलिएको छ । प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश निवासदेखि खुलामञ्चसम्म लुट चलेको छ । अख्तियार हेर्दैन किन हो ? किन ?
त्यस्ता जनतामाथि शोषण गर्ने नेतालाई जनता नै भोट दिन्छन्, पछि पछि लागेर जयजयकार गर्छन् र चोरबाट धर्मको आशा राख्छन् ।
समस्या जनताको मनको हो । जनता सोझा छन्, मन कमलो छ । अव त गर्लान् कि अव त गर्लान् कि भनेर तिनै नेताहरुलाई पटक पटक भोट दिन्छन्, विजयी बनाउँछन् । सत्तामा पु¥याउँछन् । सत्तँमा पुगेर तिनै जनप्रतिनिधि जनतामाथि बोझ बनेर भ्रष्टाचार गर्छन् । जनताको मनमै गोबर भरिएकाले नेताहरु निरन्तर लुट मच्चाउन सफल भएका हुन् ।
जनताले अव प्रश्न गर्नैपर्छ– जनता किन दिनदिनै गरीव हुँदैछन् । देश किन दिनदिनै ऋणमा डुब्दैछ । समृद्धि र सुशाासन किन नारामा सिमित छ ?
र, जनताले अव प्रश्न गर्नैपर्छ– नेता, प्रशासकहरुको सम्पत्ति किन किन हरेक वर्ष बढ्छ । तैपनि तिनीहरु सम्पत्तिको स्रोत देखाउँदैनन्, कर तिर्दैनन् र यसैगरी जुका बनेर जनता र देशलाई चुसिरहेका छन् । आखिर जनताले कहिलेसम्म यी शासन, प्रशासनका ड्य्राकुल्लाहरुलाई रगत चुसाइरहनुपर्ने ?
लोकका नाममा पद्धति चल्ने, प्रशासन चल्ने, चलाउनेले लोकतिर हेर्नै नपर्ने ? यस्तो शासन पनि लोकतन्त्र हुनसक्छ ? लोक मुखमा ताल्चा ठोकेर, कानमा ठेडी जाकेर र आँखामा पट्टी बाँधेर यस्तो निरंकूश, अधिनायकबादी र बिधिको नाममा मनपरी गर्ने शासनलाई लोकतन्त्र भनेर मानिरहेका छन् । यस्तो संविधानले नयाँ नेपाल बनाउँछ भनेर कुरिरहेका छन् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper