banner
banner

भ्रष्टाचार फाल्ने कि अँगालो हाल्ने ?

दुई थान जहाज किन्दा ४ अर्व ३५ करोड भ्रष्टाचार भएको संसदीय छानबिन रिपोर्टलाई मान्दिन भनेर सरकारले आफैले गठन गरेको छानबिन समितिको ४५ दिने म्याद पनि सकियो । हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भयो । शोक प्रकट गर्न जाँदा प्रधानमन्त्रील मुख फोरेर भनेका छन्– वाइडबडी जहाज खरिद प्रकरणमा रवीन्द्र अधिकारीको संलग्नता छैन । प्रधानमन्त्रीलाई थाहा थियो भने पहिले किन नभनेको, थाहा भएको सही कुरो के हो, अझै किन नखोलेको ? प्रधानमन्त्रीले मनमा गुम्स्याएर भ्रष्टाचारका प्रकरणहरु राख्ने कि सार्वजनिक गर्ने ? दोषीमाथि कडा कारवाहीका लागि अघि सर्ने ? प्रधानमन्त्रीको चरित्र बुझिनसक्नु भयो, अव त विश्लेषकहरु भन्न थाले– भ्रष्टाचार फाल्ने कि अँगालो हाल्ने ?
प्रधानमन्त्रीले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नै भएको छैन भन्न सकेनन् । भन्ने बेलामा भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने, भ्रष्टाचारीलाई छोड्दैन भनेर कुर्लने, पर्यटन मन्त्रीको निधनपछि भ्रष्टाचार भएको संकेत गर्ने । मन्त्रीले भ्रष्टाचार नगरेको भए कसले ग¥यो त ? आफ्नो शासनकालमा यति ठूलो भ्रष्टाचार हुँदा पनि हेर्न, सहन सक्ने यी कस्ता प्रधानमन्त्री ? दुईतिहाइको सरकार प्रमुख कसको डरले थुरथुर छन् ? कार्यकारी प्रधानमन्त्रीभन्दा पन कडा, दह्रा र शक्तिशाली ती कुन भ्रष्टाचारी हुन्, प्रधानमन्त्रीले जनतालाई सुसूचित गराइदिए उनको उचाई बढ्थ्यो ।
एमालेले चुनावका बेलामा जे जे कबुल गरेको थियो, नेकपा बनेपछि जनतालाई सुशासन दिने जुन प्रतिवद्धता जनाएको थियो, प्रधानमन्त्री बनेपछि केपी ओलीले सुशासन, समृद्धि, खुशी र सुख दिने जुन वचन दिएका थिए, एकवर्षको कार्यकालमा ती सबै पानी पानी भएका छन् । जनताको नजरमा नेकपाले आफ्नो साख र इज्जत गुमाएको छ । नाकावन्दीका बेलामा जुन उचाई थियो, जुन राष्ट्रवादको धरामा उभिएका थिए, ती ओली र आजका ओलीमा आकाशजमिनको भिन्नता छ । आज केपी ओली सत्ताका लागि जति पनि झूठ बोल्न सक्ने, जति पनि अपराध छोप्नसक्ने भएका छन् । जनताले ओली शासन, नेकपाको शासन जनमैत्री बनोस् भन्ने चाहेका हुन् । यसैका लागि मतदान पनि गरेका हुन् । तर नेकपाले जनताको आस्था र अपेक्षमा खरो उत्रन सकेन । अव त सिधै भ्रष्टाचार लुकाउने र अपराध बढाउने यन्त्र पो बन्न थाल्यो यो सरकार । सरकारको यस्तो चरित्र साह्रै दुःखदायी छ । यो सरकारले राम्रो काम गर्ला, अपराध र भ्रष्टाचारको अन्त्य गरेर कानुन व्यवस्था, समानता र न्याय देला भन्ने जुन आशा थियो, त्यो निराशामा बदलिन पुगेको छ । जनतामाथि गरेको यो अन्यायले नेकपालाई भोलिका दिनमा पिर्न सक्छ, किनकि जनता नै लोकतन्त्रका अन्तिम न्यायाधीश हुन् । जनता सहन्छन्, सीमा नाघेपछि जनता सुनामी बन्न पनि पछि पर्दैनन् । जनताले ल्याएको यो परिवर्तनमा जनता नै ठगिन पुगेका छन्, जनता नै पीडित बनेका छन् । सुख दिन्छु भन्ने नेताहरु पीडकका रुपमा स्थापित हुनपुगेका छन् ।
समय छ, हातमा अवसर पनि छ । नेकपाको सरकारले देश र जनहितमा ढाडमा हाड देखाएर दह्रो शासन चलाउने बेला यही हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper