
जेठ ७ को नीति तथा कार्यक्रम र १५ गतेको बजेट, कम्युनिष्ट सरकारले साह्रै मीठो सपना देखाएको छ । विपनामा छिनछिनमा मरे पनि सपनामा रमाऔं । प्रधानमन्त्री केपी ओलीले सपना पूरा हुन्छ, पुरा गरिन्छ भनेर आश्वासन दिएका छन् । उनको कथन पूरा हुने हो भने नेपालको मुहार पाँचैवर्षमा फेरिने पक्का छ । यद्यपि समयले ल्याउने परिवर्तनको गति एउटा हुन्छ, सत्तधारीले समयको त्यही गतिमा गतिमान भएर परिवर्तनका खाकाहरु कोर्न सक्यो भने देशको चित्र यस्तो धुलोमय, धुवाँमय, बेरोजगारी, कूशासन र भ्रष्टाचारमय हुनेछैन । तस्करी र कमिशनका कुरा सुन्नपर्नेछैन ।
सरकारले देखाउन सक्नुपर्छ– युवाले यही देशमा गरिखान पाउनेछन्, योग्यताको कदर हुनेछ । समानतामा विश्वास गर्न सकिनेछ । यसैवर्षदेखि रोजगारी दिने र रोजगारी दिन नसके बेरोजगारी भत्ता दिने कुरा पनि छ । वैदेशिक रोजगारीले समाजमा ठूलै बिकृतिको बिजोरोपण गरिसकेको छ, सामाजिक बिखण्डनका समस्याहरु दिनदिनै बढिरहेका छन् । राष्ट्रिय उर्जा र सिर्जनशीलता विदेशीने क्रम रोकेर देशमा अवसर सिर्जना हुनेछ ।
परिवर्तन भनेको युवाहरुले ल्याउने हो । विदेशीले ल्याइदिएको परिवर्तनले देश हाँस्न सक्दैन । यो अस्थायी हुन्छ । विदेशी प्रविधि सिकेका युवालाई कृषि, पर्यटन, उद्यम, उत्पादनतिर आकर्षित गर्न सकियो भने देशको मुहार स्वत: फेरिनेछ । यसका लागि विदेशीएका ६० लाख युवा समुदायलाई राष्ट्रप्रतिको आकर्षण बढाउने र विदेशीने खोजेका युवाहरुलाई स्वदेशप्रतिको लगाव जगाउने । यी काम गर्न यो सरकारले विशेष कसरत गर्न जरुरी छ । युवामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास जागरण गर्न सकियो भने नेपालको सुशासन, सम्पन्नता र समानता आफसेआफ स्थापित हुनथाल्नेछ ।
चुरो कुरो हरेक क्षेत्रमा राजनीतिकरण हुनेगरेको छ । विधि निर्माणमा राजनीतिकरण ठिक छ, शासनमा राजनीतिकरण ठिक छ तर विधिमाथिको हस्तक्षेपमा राजनीतिकरण ठिक छैन । मजबुत राष्ट्रियता कमजोर पार्ने गरी हुनेगरेको राजनीतिकरण निन्दायोग्य छ । मानव बेचबिखन, तस्करी, भ्रष्टाचार, कमिशन र सुरक्षामा समेत राजनीतिकरण गरेर राजनीतिक क्षेत्रले संरक्षकको भूमिका खेलिदिदा नेपालको अधोगति भएको हो । बिधिमाथि राजनीतिकरण हुनासाथ अपराधिकरण बढ्छ, आज नेपालमा जे भइरहेको छ, यही अपराधिकरणले भएको छ । यसमा राजनीतिक हस्तक्षेप रोक्न सरकार सफल भयो भने यसले देखेको सपना छिटो साकार हुनसक्छ ।
सपना देखेपछि पूरा हुने हो । सपना नदेख्नेले गर्छ पो के । हो, यो सरकारले मीठो सपना देखाएको छ । सपना पूरा गर्न आँट र अक्किल पनि चाहिन्छ । त्यो कमी यो सरकारले पूरा गर्नसक्यो भने सपना पूरा हुनसक्छ, तर यो सरकार र यो सरकार चलाउने पार्टीहरुमा इमानको कमी छ । विगतका घटनाक्रमले पनि यी नेताहरुमा इमानको कमी देखिएकै हो । राजनीतिमा इमान र नैतिकता भएन भने त्यो राजनीति बाजारु हुन्छ, यसले कुनै सकारात्मक परिणति दिन सक्दैन । हामीले यतिबेला केपी ओली र प्रचण्डमा देखेको सपना, तिनले देखाएको सपना इमान र नैतिकताले मात्र पूरा हुनसक्छ । यी नेताले इमान र नैतिकतामा खरो उत्रन सके भने यिनले देखाएको मीठो सपनाको तीतो अनुभूति हामीले गर्नुपर्ने छैन ।