banner
banner

काइते नेता, घाइते जनता

काइते नेता र घाइते जनताको मुलुक हो नेपाल । नेताहरुले निरन्तर भाषण गरिरहेका छन्, सपना देखाइरहेका छन् र सपना साकार हुन्छ भनेर नागरिक तिनैलाई पटक पटक चुनाव जिताइरहेका छन् । मतदान गर्नु जनताको काम, चुनाव जित्नु नेताको भाग्य । चुनाव जिताएको भाग्यको रसास्वादन जनताले कहिले पनि गर्न पाएनन् । जनता जहिले पनि नेताले देखाएको सपना पालेर घाइते जीवन घिसारिरहेका छन् । परिवर्तन नेताका लागि मनग्गे आयो, जनताका लागि परिवर्तन कौवाका लागि बेल पाकेसरह भएको छ । कहिल्यै परिवर्तनको बेल जनताले चाख्न पाएनन् ।
हिजो यही धुलो धुवाँ थियो, यही हाहाकार र महगी थियो । घूस नर्दि सामान्य काम फत्ते नहुने समस्या थियो । आज, जस्तो हिजो थियो, आज उस्तै छ । जनताका लागि सहज न्याय, शासन प्रशासनमा सहज पहुँच, धारामा पानी, दाल चामल, नूनतेलको सस्तो बजार, युवालाई रोजगारी, क्षमताको कदर र समानताको अवसर केही पनि आएन । हिजो खाडी दगुर्नुपथ्र्यो, आज पनि युवा वैदेशिक रोजगारीमा दौडिनै परेको छ । न नयाँ उद्योगधन्दा खुले, न बन्दव्यापार बढेको छ । केही बढेको छ भने तस्करी, सेटिङमा माफियाकरण, सिण्डिकेट बढेको छ । यातायातमा सिण्डिकेट तोड्यौं भन्नेहरुले कर्मचारीसँग मिलेर हरेक क्षेत्रमा सिण्डिकेट चलिरहेको देखेका छन्, तोड्न सक्दैनन् । सानोभन्दा सानो कुरामा पनि सिण्डिकेट बन्नेगरेको छ । सिण्डिकेट तोड्न नसक्ने सशक्त सरकार, अहिले ६० बुँदे, सय बुँदे सपना देखाएर जनतालाई उल्लु बनाइरहेको छ । जनता छक्क परेर हेरिरहेका देखिन्छन् ।
लुट्ने लुटिरहेका छन्, आमनागरिक लामो लाइन नबसी आफ्नै पैसा झिक्न अथवा उपचार गराउनसमेत पाउँदैनन् । सर्वसुलभ केही छैन, केही सर्वसुलभ छ भने त्यो नेताहरुको भाषणमात्रै हो । ३ कठ्ठा जग्गा सम्पत्ति भएका नेताले दुई छोरीलाई ४ करोडको घर दाइजो दिएछन् । १८ मन्त्री र ४ राज्यमन्त्रीले सम्पत्ति विवरण दिए, सुन र सम्पत्ति मनग्गे देखियो, तर ती सबै सुन र सम्पत्ति दाइजो रहेछ । पहिलेको भन्दा प्रधानमन्त्री र कतिपय मन्त्रीको सम्पत्ति ८ थुनासम्म बढेको देखियो । कुन निकाय छ, यो सम्पत्तिको स्रोत खोज्ने ? यो सरकार आफैमा अराजक भएन र ?
प्रधानमन्त्री भन्छन्– अव म कालो धन खोज्छु । खोज्नैपर्छ, त्यो खोजी आफैबाट सुरु गर्ने साहस देखाएर जये केपी ओली भन्नुहुन्थ्यो । असाध्यै मीठा भाषण गर्ने ओलीजीले भान्सामै ग्यासको पाइपलाइन्, समुद्रमा पानीजहाज, हावाबाट बिजुलीदेखि पूर्वपश्चिम रेलबाट चुच्चेरेल चढेर सयर गर्न पाइने सपना देखाएका छन् । सपना देख्नुपर्छ, त्यो सपना सोम शर्माको सपनाजस्तो हुनुहुन्न । आँगन सफा गर्न नसक्ने, शासन सफा चलाउन नसक्ने, तस्करी रोक्न नसक्ने, तस्कर समात्न नसक्ने, भ्रष्टाचारीलाई काँढे कोर्रा हान्न नसक्नेले धेरै फुइँकी लगाएको सुहाउँदैन । काम कम कुरा बढी ।
नेताहरुको जे जति क्रियाकलाप देखिएका छन्, ती सब काइते छन् । जनताको जीवनमा चाहिएको छ तत्कालको राहत, तत्कालको सेवासुविधा । त्यस्तो काममा कुनै दिलचस्पी छैन, खाली सपनामात्र देखाएर के गर्ने ? वर्तमानलाई बचाउने र भविष्य बनाउने सपना पो सपना, पूरा होला र ? भन्ने सपना पनि सपना हुन्छ र ? सपना पूरा गर्न इमान कहाँ छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper