banner

संवाद थाल्न किन गाँडफत्ते?

राजनीतिक विवाद बढेर संविधानसभाबाट सडकमा ओर्लेको छ। संविधानसभाभित्रको विवाद भित्रै मिलाउनुपर्ने हो, सडकमा आउनु भनेको फेरि पनि नेताहरुको अकर्मण्यता र असफलताकै परिचायक ठहर्छ। गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा विवाद राप्रपा नेपालसँग छ तर यी मुद्दामा पहिले नै सहमत भइसकेका ठूला दलहरुवीच सहमति हुनसकेन। जनता संविधान भनिरहेका छन्, राजनीतिक दलहरु ध्रुविकृत भएर लाप्पा खेल्न मैदानमा उत्रिएका छन्। कसले भाँड्यो पूर्वसहमति? कसले झगडा पारेको छ ठूला राजनीतिक दलहरुलाई? कोही त छ जसले विवाद चुल्याइरहेको छ? को हो त्यो? राजनीतिक दलका नेताहरु यसै भन्छन् र आम जनता जिल्लाराम परिरहेका छ्न। राजनीतिक दलहरु फेरि हिंसाउन्मुख बनेका छन्। जबकि जनता कुनै पनि हालतमा हिंसा स्वीकार गर्न तैयार छैनन्। स्वयं प्रचण्ड भन्छन्: हामी एकल जातीय पक्षीय होइनौं। होइनौं भने कुरा किन मिलेन? सत्तापक्षीय भन्छन्: अधिकतम सहमतिमै संविधान निर्माण गर्ने हो। सर्वसम्मति हुनसक्दैन, आउनोस् वार्ता गरौं तर आन्दोलनकारी बनेर प्रचण्ड कार्यकर्ताहरुलाई आन्दोलनको प्रशिक्षण दिदै हिडेका छन्। महिनादिनमा १० लाख वाईसीएल दस्ता बनाउँछौं भनेर दम्भ देखाइरहेका छन्। सत्ताधारी र प्रतिपक्षी बनेकाहरुले शान्ति र संविधान चाहियो भनिरहेका जनतामाथि यसरी अन्याय गर्न हुन्छ कि हुन्न? राजनीतिक नैतिकताभित्र यो झगडा पर्छ कि पर्दैन? किन नेताहरु अनैतिक मार्गमा लागेका हुन्?
जनआन्दोलनको प्राप्तिहरु संस्थापित हुने भनेको संविधानबाट हो। विधि मान्नेहरुका लागि हो जनआन्दोलनका उपलव्धिहरु। जब ठूला दलहरु नै विधि निर्माणमा विवाद गरिरहेका छन् भने उपलव्धि संस्थागत हुने सवालै आएन। लथालिङ्ग, भताभुङ्ग पार्ने पनि यिनै ठूला दलहरु भएका छन्। हिजो जसरी सत्ता राजनीतिले दलहरुवीच बैमनुस्यता बढाएको थियो, आज त्यही गतिमति पुनः दोहोरिन थालेको छ। अहिले पनि संविधानका अन्तरवस्तुमा भन्दा सत्ताको भागबण्डाले दलहरुवीचको दूरी बढाइरहेको देखिन्छ। न क्षेत्रीयता, न भेग अथवा जातीयताले एकता कायम राख्न सक्छ। नेपाली एकता कायम गर्ने भनेकै बहुपहिचान र सबैको समानताले हो। यो समानता उल्लेख गर्न राजनीतिक दलहरुका लागि गाँडफत्ते परेको छ। किन नेताहरु देश र जनताको हितमा उभिन तैयार छैनन् र आफ्नै स्वार्थलाई प्रधानता दिइरहेका छन्? हो, मुठभेडमा जाँदा छिन्नभिन्न पार्टी शक्ति मजबुत होला, एक होला। फाइदा कसलाई हुन्छ? जो नेपालमा अस्थिरता चाहन्छ, जो नेपाली नेपाली भिडाएर रगत बगेको हेर्न लालायित छ, तिनलाई लाभ होला। नेपाली जनताको आँखामा फेरि नैराश्यता? यस्तो राजनीतिक अपराधतिर राजनीतिक दलहरु नलाग्नु बेश। सबैले भन्नुपर्छ वार्ता थालिहाल।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper