banner
banner

२५ बुँदाभरि कालो उद्देश्य

प्रचण्डसँग भारतले सुरक्षा परिषदको सुरक्षित भोट लियो, अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान विचारको अनुशरण गर्ने वचन पनि लियो। नेपालले के पायो? पटक पटक प्रचण्डले आग्रह गर्दासमेत मोदीले नेपालको संविधानको स्वागत गर्न मानेनन्। यसकारण प्रश्न उठेको छ– प्रचण्ड भारत जानुको हतार किन? 
भ्रमणबारे २५ बुँदे संयुक्त विज्ञप्ति प्रकाशित भयो। सबै बुँदाको पेटेबोलीमा भारतीय कालोमन, कालो उद्देश्य, कालो साजिस स्पष्टै देखिन्छ। कूटनीतिक विश्लेषकहरु गम्भिर भएर नेपालको परराष्ट्रनीतिमा चुक हुनपुग्यो भनिरहेछन्। नेपाल नजानिँदो तरिकाले भुटानीकरणतिर लगियो भन्ने तिनको तर्क छ। त्यसै पनि १९५० को सन्धिदेखि अनेक सर्तवन्दी सांग्लाहरुले नेपाललाई कुँजो बनाइएको स्थिति अरु कसिलो बन्न पुग्यो, सकस बढ्ने भयो भन्ने तिनको धारणा पाइएको छ। तैपनि प्रधानमन्त्री भन्छन्– भ्रमण सफल भयो। सम्बन्धमा सुधार आयो। कसरी सफल र सुधार आयो, त्यसको तथ्य उनले देखाउन सकेनन्। 
नेपाल र भारत दुई राष्ट्र हुन्। नेपाल जन्मजात स्वतन्त्र र भारत १९४७ मा स्वतन्त्र भएको मुलुक हो। तर, दुवै देशवीच १८ सय ८ किलोमिटर लामो खुला सीमा छ, यताका को जान्छन्, उताका कति आवतजावत गर्छन्, कुनै हिसावकिताव राखिने गरेको छैन। विश्वमै यस्तो निगरानीरहित खुलासीमा कुनै दुई मुलुकवीच छैन। ३ करोड जनसंख्या भएको नेपाल र १ सय ३० करोड जनसंख्या भएको भारतका वीचमा यस्तो अद्वितीय अचम्मको खुलासीमाको कुरा सुनेर, देखेर अन्य राष्ट्रका अधिकारी, नागरिकहरु चकित पर्छन्। ६४ भन्दा बढी स्थानमा भारतले सीमा अतिक्रमण गरेको छ। नेपालका नदीनालाको लाइसेन्स बोकेर बसेको भारतले जलविद्युत उत्पादनमा होइन, निकासी गर्न र उर्जाका विविध प्रकारहरुको राम्रो बजार नेपाललाई बनाउन उद्दत देखिन्छ। नेपालका उत्पादन भारतमा निकासी हुनसक्दैनन्, जाबो अदूवासमेतमा भारतले रोक लगाएको छ। तैपनि नेताहरु सम्बन्ध सुधार भयो भन्छन्, कसरी भन्छन्? तैपनि भारतको दबदबाविरुद्धमा कोही बोल्दैनन्। अव त नेपालको आत्मनिर्णयको अधिकार सिमित गर्न र संविधान निर्माणदेखि संशोधनसम्मका आन्तरिक मामिलामा भारत सिधै हस्तक्षेप गरिरहेको छ। नेपाली नेतामा चेत फिर्दैन, उल्टै हस्तक्षेप गरिदिने प्रस्ताव बोकेर दिल्ली गइरहेका छन्। 
यिनै नेताका मुखारविन्दबाट सुनिन्छ– सम्बन्ध सुधार भयो, तिक्तता मेटियो, समस्या छैन, अनुपम सम्बन्ध गाँसिन पुगेको छ। भारत यति चलाख छ कि वर्षको केही अर्व रुपैया नेपालको सामाजिक, आर्थिक, राजनीतिक विकासका नाममा फालेर नेपालको विकास निर्माणको ठेकेदार नै भारत हो भनेजस्तो अति प्रचार गरिरहन्छ र त्यही प्रचारमा नेपाल लठ्ठ परेर बसेको छ। नेपाललाई थर्डक्लास उत्पादनको कन्टेनर बनाएको, नेपालको खरवौंको आर्थिक र प्राकृतिक साधन स्रोत सोहोरेर लगिरहेकोमा सरकार केही बोल्न सक्दैन। सरकार हाँक्नेहरु भन्छन्– सम्बन्ध सुधार भयो। आफै लुटिने यो सम्बन्ध सुधार कस्तो हो? यस्तो लुटिने सम्बन्ध सुधार हुनुभन्दा नहुनु जाति हुन्थ्यो। छिमेकी बदल्न सकिन्न, सही मार्गमा ल्याउन त सकिन्थ्यो। नेताहरुले लाटोबन्न स्वीकार गरेपछि राष्ट्र निरन्तर लुटिन्छ। 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper