banner
banner

प्रचण्डको नम्र निवेदन

पहिलेका कमजोरी दोहोरिने छैनन्, सम्बन्धलाई बढी महत्व दिनेछु, भारतले भनेअनुसारले संविधानको संशोधन हुनेछ, नेपालको विकासमा सहयोग गर्नुस्। यिनै हुन् हाम्रा प्रधानमन्त्रीले विशेषदूतमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रको सारांस। यिनै चार कुराका बारेमा भारतदेखि नेपालका पत्रपत्रिकाहरुमा समेत टिप्पणी छापेका छन् र प्रचण्डजस्ता नेताले भारतका सामु यसरी परालखुट्टे भएर लम्पसार पर्नु सुहाएन। प्रचण्डले देशको झन झन दुर्गतिको जग पो खनिदिए।

प्रचण्ड होनहार नेता हुन्। यसमा शंका छैन। प्रचण्डले चाहे भने नेपालको कायापलट गर्न सक्छन्, यो पनि सत्य हो। ०५२ सालदेखिको जनयुद्धकालमात्र होइन, ०६३ सालको जनआन्दोलनलाई सफल पार्ने निर्णायक शक्ति पनि प्रचण्ड नै हुन्। त्यसपछि आजसम्म पनि प्रचण्ड नेपालको राजनीतिक केन्द्रमा छन् र किङपिन भएरै चर्चित रहेका छन्। तर, प्रचण्ड जनयुद्धमा असफल भए, जनआन्दोलन त सबै दल मिलेर सफल भएको हो भने त्यसपछिको राजनीतिमा प्रचण्ड सफल भएका छैनन्। प्रचण्डजस्ता असफल र राजनीतिक फाँटमा मात्र होइन, जनताको दिलदिमागमा पनि प्रचण्ड भरोसा गर्नै नहुने नेताका रुपमा रहेका छन्। यही कारण विश्लेषण हुनथालेको छ– मेजर पार्टीबाट २६ सिटको तेस्रो पार्टी बन्नपुगेको माओवादी अवको निर्वाचनमा ४ सिटमा खुम्चिने छ, दयनीय देखिनेछ। यसको मूलकारण यतिखेर प्रचण्ड सत्ताको बागडोरमा पुग्नु र उनले भारतका सामु झुक्नु ठहरिने निष्कर्ष निकाल्न थालिएको छ।

आफ्नै समर्थनको ओली सरकारलाई थचार्न र सरकारमा आफू उक्लिनका लागि भारतले निर्णायक भूमिका खेलिदिएकाले प्रचण्ड यसरी भारतका सामु नतमस्तक भएका हुन्। यसरी नतमस्तक भएर सरकार चलाउनु भनेको भारतलाई दादा मान्नु र स्वाधीनता गुमाउनु हो। यदि भारतले भनेजस्तै गरी संविधान संशोधन भयो, मधेसीलाई एक वा दुई प्रदेश दिन प्रचण्ड राजी भएर फास्ट ट्रयाक पनि भारतलाई नै दिइयो भने प्रचण्डको साख र राजनीतिक सम्पत्ति सखाप हुनेछ। नेपाली जनता राष्ट्रियता र सार्वभौमिकताका सवालमा संवेदनशील छन् र विदेशीका सामु झुकेको मन पराउँदैनन्। यद्यपि जतिसुकै भारतवादी भए पनि चुनाव जित्ने र सरकार चलाउने चाहिं यिनै र यस्तै नेताहरु हुन्। यो यथार्थचाहिं नेपाल र नेपालीका लागि दुर्भाग्यको घटना हुँदै आएको छ।

के गर्ने? चुनाव जित्ने यिनै ठूला दलहरुले हो। जनताका सामु कुनै विकल्प नै छैन। वैकल्पिक कुनै राजनीतिक शक्ति स्थापना हुनै सकेन। के गरुन् जनता। भोट हाल्न बाध्य छन् र जतिसुकै खराव भए पनि यिनै ठूला दलका नेताहरुलाई जनताले जिताउने गरेका छन्। अवको निर्वाचनमा पनि हुने यही नै हो, आउने यिनै हुन्। मात्र आशा गरेका र केही गर्छन् कि भनेर अपेक्षा राखेको प्रचण्डले भारतका सामु यसरी पत्र लेख्नु हुन्थेन। जीवनको उत्तरार्द्धमा प्रचण्डले आफ्नो उज्यालो इतिहास लेख्ने वातावरण बनाउनु पर्थ्यो र एउटा राष्ट्रवादी, जनताका पक्षमा उभिनसक्ने नेताको छवि निर्माणमा लाग्नुपर्थ्यो। पहिलो गाँसमै ढुंगा भनेझैं प्रचण्डले दोस्रो कार्यकालको सुरुमै आफूलाई भारतका सामु त्वम् शरणम् गरिदिए।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper