banner
banner

फागुन १ कालो दिन कि उत्सव?

फागुन १ कालो दिन कि उत्सव? यो प्रश्नको जवाफ दिएनन् माओवादीहरुले। ५ टुक्रा भएका माओवादीहरुले यो दिनलाई उत्सवका रुपमा मनाए। गौरव गरे र अव माओवादीहरुलाई एक हुन कसैले रोक्न नसक्ने दावी समेत गरे। माओवादी एक भएर हुन्छ के? एक हुँदा १० वर्ष लामो जनयुद्ध भयो र १७ हजार जनताको हत्या हुनपुग्यो। त्यो घाउ अझै निको भएको छैन। बेपत्ताका परिवार लाश देउ कि श्वास भनिरहेका छन्। मेलमिलाप आयोग गठन भएको छ, कानुन नभएर वर्षदिनदेखि तलव भत्ता पचाएर धुमधुम्ती बसेको छ। जनयुद्धका फौजदारी मुद्धाहरुलाई आममाफी दिन नसकिने फैसला सर्वोच्च अदालतले गरिसकेको छ। तर माओवादीहरु भन्छन्– अदालतले राजनीतिमा हस्तक्षेप गर्ने होइन, मेलमिलापमै सबै टुङ्ग्याउनु पर्छ। क्षतिपूर्ति राज्यले दिने व्यवस्था गर्नुपर्छ। यसैवीच मेलमिलाप आयोगका अध्यक्षले भनेका छन्– २ वर्षे कार्यकालको आधा समय बितिसक्यो। तत्काल काम सुरु नगर्ने हो भने धेरैजनाले बेलायतबन्दीका रुपमा रहेका कुमार लामाको नियति भोग्नुपर्नेछ।

संविधान जारी भयो, कार्यान्वयन हुनसकेको छैन। निर्वाचित सरकार छ, संसद छ तैपनि जनयुद्धलाई शान्तिमा रुपान्तरण सम्पन्न गर्ने कार्य भइसकेको छैन। स्थिति अझै जटिल छ, वातावरण अझै धमिलो छ। सबैतिर जनयुद्धका विषयमा आवाज कम भयो भनेर बस्ने स्थिति डरलाग्दो पनि हुनसक्छ। किनभने यो शान्ति र मौनताभित्र बिद्रोह लुकेको छ। यो मुर्दाशान्तिले शान्ति र स्थिरता दिन्छ भन्न सकिन्न। जसले आफन्त गुमाए, बिनाकारण र अन्यायपूर्वक गुमाए, तिनका सन्तानहरु मनभरि आगो बोकेर बसेका छन्। जसका आफन्त बेपत्ता भएका छन्, तिनका सन्तानले आफन्त खोजिरहेका छन्। यी सबै मुद्धाहरुको टुङ्गो लगाउनु राजनीतिकर्मीहरुको मुख्य दायित्व हो। तर नेताहरु क्षणिक न्यानो र आत्मीक सुखशान्तिका लागि मरिहत्ते गरिरहेका छन्। जनयुद्धकालका अपराधहरुबारे कसरी टुङ्गोमा पुग्ने र सदाका लागि त्यो विषयलाई अन्त्य गर्ने भन्नेतिर कसैको सोच गएकै छैन। जनयुद्धकाल कालो कालखण्ड हो। जुन स्थितिमा निरपराध जनताको हत्या हुन्छ, मानवीयता मारिन्छ र विवेकलाई हत्या र हिंसातिर उन्मुख बनाइन्छ, त्यो कालखण्ड जहिले पनि कालो हुन्छ। त्यस्तो कालखण्डलाई उत्सवका रुपमा मनाए माओवादीहरुले। उत्सव पार्टीले होइन, सत्ताले होइन, जनताले मनाउन पाउनुपर्छ। जनयुद्ध सुरु भएको दिवस जनताका लागि मुटुमा घोचेको सुइरोकै रुपमा छ भने जनताले जनयुद्ध दिवस कसरी मनाउन सक्छन् र? जनताले नमनाएको दिवस कसरी उत्सव हुनसक्छ। तैपनि टुक्रे बनेका माओवादीहरुले आआफ्नै तरिकाले फागुन १ को जनयुद्ध सुरु भएको सम्झना गरे। तर, तिनले १७ हजार जनता किन मारियो? हजारौंलाई अपाङ्ग, बिधवा किन बनाइयो भनेर आत्ममिमांसा गरेनन्। जब राम्रा नराम्रा दुबै पक्षको विश्लेषण गरिन्न, त्यो एकांकी हुन्छ। माओवादीले मनाएको जनयुद्ध दिवस त्यस्तै एकलकाँटे दिवस हो, आमजनताको समर्थन छैन त्यसमा।  रगत बगाएको, मान्छे मारेको, समाज लुटेको, आतंक फैलाएको दिन माओवादीको गौरवमय दिवस रे। यस्तो दिवस मनाउने पार्टी लोकतन्त्रवादी पार्टी हुनसक्छ कि सक्दैन? यो प्रश्नमा स्वयं एमाओवादीले हामी पनि लोकतन्त्रवादी भन्नुपूर्व घोत्लिने कि? विवेकपूर्ण सोच राख्ने कि?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper