banner
banner

देश किन अघि बढेन?

संविधानसभाको निर्वाचन, संविधान निर्माण र घोषणा, सरकार परिवर्तन र नयाँ नेपाल निर्माणको प्रक्रिया आरम्भ, साथसाथै भूकम्पपछिको पुननिर्माणको सुरुआत। झट्ट हेर्दा यी सबै घटनाक्रमको निष्कर्ष भनेको हामी अघि बढ्यौं, देश अघि बढ्यो भन्ने नै हो। साँच्चै देश अघि बढ्यो त? यो प्रश्नले हामीलाई निराश बनाउँछ, देश अघि बढ्न सकेन, देशको स्थिति उत्साहप्रद हुनसकेन। अप्ठेरो आउँछ, संक्रमणकालमा त झन ठूला ठूला अप्ठेराहरु आउँछन्। अप्ठेराहरु, संक्रमणका जोखिमहरु चिरेर अघि बढ्नु नवनिर्माण हो। यसका लागि नेतृत्वमा साहस, आँट, बुद्धिमत्ता र दूरदर्शिता चाहिन्छ। अन्य मुलुकहरुले जसरी संक्रमणलाई चिरेर अघि बढे, मुलुकलाई गौरवपूर्ण स्थितिमा पुर्‍याए, त्यस्तो नेतृत्वको गुण हामीले पाउन सकेनौं। हाम्रो नेतृत्व व्यक्तिवादी, सत्तावादी, स्वार्थवादी र आत्मपरक भइदियो। नेतृत्वले राजनेतृत्वको गुणवत्ता हुन सकेन, चाहेन, यसकारण घटनाक्रम अघि बढ्यो, आशा र अपेक्षाहरु पनि व्यापक रुपमा बढे तर ती सबैलाई संवोधन गर्न नेतृत्व सफल भएन, देश अघि बढेन।
२०६३ सालमा १९ दिने जनआन्दोलन सफल भयो। यो सफलताका लागि कम्युनिष्ट र प्रजातन्त्रवादी दुबैको उत्तिकै भूमिका थियो। त्यसपछि सुरु भयो, परिवर्तनको जस कसले लिने? यो प्रतिस्पर्धा आजसम्म पनि जारी छ। पटक पटक कम्युनिष्ट सरकारहरु बने, सबै फेल भए। कांग्रेसको सरकार बनेपछि संविधान त जारी भयो, तर त्यो संविधान अझैसम्म जनताले अपनत्व ग्रहण गरिसकेको स्थिति छैन। जुन प्रतिस्पर्धा ०६३ सालको परिवर्तनपछि थियो, त्यो आज झन गहिरो राजनीतिक घाउ बन्न पुगेको छ। यो १० वर्षको अन्तरालमा अनेक राजनीतिक घटनाक्रम घटेका छन् तर राजनीतिक द्वेष, प्रतिस्पर्धा बढेर गयो। जसका कारणले गणतान्त्रिक लोकतन्त्र त स्थापित भयो, त्यसलाई संस्थागत गर्ने संविधान पनि जारी भयो तैपनि संवैधानिक बिबाद यसरी बढेर गयो कि देश अघि बढ्न सकेन। नागरिकको हत्या जारी छ, असन्तुष्टि बिस्तारै बिद्रोहको रुप लिन थालेको छ। बिखण्डनका आवाजहरु घन्किन थालेका छन्। यसको कारण नेतृत्व जन्मनै सकेन। आन्दोलन सफल भयो, आन्दोलन सफल पार्ने नेतृत्वले देशको नेतृत्व लिने राजनेताको स्वरुप धारण गर्नै सकेन। देश अघि बढेन।
ठूलो रोग सामन्तवाद हो। राजनीतिक सामन्तवाद हलक्कै हल्किएको छ। सत्तामा ठूला दलहरुको सामन्तवाद छ, मधेसमा हकाधिकारका नाममा सामन्तवाद आन्दोलनमा बिस्फोट भइरहेको छ, नागरिक जागरण त छ तर यो जागरणलाई बिबिध प्रकारका महासामन्तहरुले आफ्ना अनुकूल बनाइरहेका छन्। यही आडमा भारतले नेपालमाथि हस्तक्षेपकारी सामन्तवाद लादिरहेको छ। राजतन्त्र फालेर मुक्तिको बिगुल फुके पनि बिबिध सामन्तवाद हल्केर गएको छ। राजनीतिक शक्ति संघर्ष पनि सामन्तवादकै अर्को स्वरुप हो। यसमा नेतृत्वतह आफै राजनेता बन्न छाडेर सामन्त बन्ने होडबाजी गरिरहनु दुर्भाग्य हो। नेतृत्व विकास हुनै सकेन। नेतृत्व विकास नहुँदा देश अघि बढ्न सकेन।
नाकावन्दी जारी छ, मधेस आन्दोलन चर्केर गएको छ, ५९ जना मारिइसके, जनजिविका कष्टकर भइरहेको छ, संक्रमणकालीन मुलुक संकटपूर्ण बनेको छ, अर्थतन्त्र धरासायी भइसक्यो, सत्तापक्ष र विपक्षमात्र होइन, नागरिक र प्रवुद्ध बर्गमा समेत पीडाबोध देखिदैन। यो भनेको संवेदनहीनता हो। संवेदनहीनता भनेको नेतृत्व तैयार छैन भन्ने प्रमाण हो। यसकारण देश अघि बढेन। बढ्न सकेन।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper