राजधानीमा एकातिर माघ ८ मा संविधान जारी गर्न सहमतिको सनसनी फैलिरहेको छ भने अर्कोतिर प्रचण्ड र केपी ओलीवीच 'तँ राजा कि म राजा?' भन्ने झगडा चर्किरहँदा पूर्वराजा चितवन हुँदै मधेशको भ्रमणमा निस्किएका छन्। पुस ६ गते चितवन पुग्दा सबै राजनीतिक दलका कार्यकर्ताहरुले पूर्वराजाको स्वागत गरे, पूर्वराजाको सन्निकट पुग्ने प्रयत्न पनि गरेको देखियो। पूर्वराजाको आकर्षण बढेको देखियो, घटेको रहेनछ। र, फेरि चितवनबाट नारा घन्किन थाल्यो– 'राजा आउ देश वचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ।' लोकतन्त्र आएको ९ वर्षपछि पनि उही राजा जिन्दावाद। के हो यो? लोकतन्त्रका नाइकेहरु यो नारावाजी र पूर्वराजाको आवश्यकतालाई बिस्थापन गर्न सकेका रहेनछन् त? यसको अर्थ हो राजनीतिक रुपमा राजनीतिक दलका नेताहरु असफल भएछन्, लोकतन्त्र जनताको जीवनपद्धति बन्न सकेकै रहेनछ। लोकतन्त्रलाई जनताले हार्दिक आत्मसात गरेकै रहेनछन्।
चितवन मेघौलीको बाराही होटलमा बसेका पूर्वराजालाई हेर्न, भेट्न र कुरा गर्न यतिखेर जनताको लुँडो लागेको छ। निजी सचिव डा.फणि पाठकका अनुसार यो नितान्त निजी भ्रमण हो। तर जनता भेला भएका छन्, फूलमालाले स्वागत गरेका छन्, नाराबाजी गरिरहेका छन्। मानौं यतिखेर काठमाडौंमा होइन, चितवनको मेघौली राजधानीमय बनेको छ। दृश्य यस्तै देखिन्छ।
यता कस्तो, कसरी र कहिले संविधान जारी गर्ने भन्ने बिबाद चुलिरहेका बेलामा पूर्वराजाको मेघौली, सौराह र यत्रतत्रका मन्दिरहरुमा भएको यो भ्रमणलाई राजनीतिक र कूटनीतिक बृत्तले अर्थपूर्ण मानेका छन्। सम्भवतः संविधान निर्माताहरुलाई पूर्वराजाको यो मधेश भ्रमण र भ्रमणमा देखिने जनसमर्थन पूर्वराजा पनि शक्ति हो है भनेर संकेत गर्न काफी हुनेछ। त्यसै पनि पूर्वराजालाई कुन स्थान दिने भन्ने सम्बन्धमा भित्री तहमा राजनीतिक नेताहरुवीच अनौपचारिक छलफल भने भइरहेको स्रोतको दावी छ। दुबै ठूला छिमेकी मुलुकका प्रतिनिधिहरुले पनि पूर्वराजालाई पनि कुनै स्थान दिदा उचित हुने सुझाव दिएको बताइन्छ। चीनले उत्तरदक्षिण चिरिएको थोरै प्रदेशको संघीतामा जोड दिएको छ भने भारत बोलेको छैन र मधेशवादीहरु मधेश प्रदेशमा मा पहाड, हिमाल मिसाउन नहुने तर्क गरिरहेका देखिन्छन्। राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीमा अझै कुरा मिलेको छैन तर बाहिर हल्ला छ– संविधानपछि प्रचण्डलाई राष्ट्रपति, ओलीलाई प्रधानमन्त्री र कांग्रेसको सभामुख बन्ने सवालमा सहमति नबनेर अन्यौल बढ्दै गएको छ। झगडा चर्किएको छ।